Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना नियन्त्रण गर्न प्रदेश १ सरकारले दियो स्थानीय तह र अस्पताललाई १ करोड ६० लाख

कोरोना नियन्त्रण गर्न प्रदेश १ सरकारले दियो स्थानीय तह र अस्पताललाई १ करोड ६० लाख


विराटनगर, साउन ३०
प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेसन केन्द्र स्थापना र सञ्चालनको लागि एक करोड ६० लाख रकम प्रदेश सरकारले स्थानीय तहहरुलाई उपलब्ध गराएको हो ।
त्यस्तै ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तीमा १० बेड क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराएको छ । केही दिनअगाडि मात्र थप आइसोलेसन बेडहरुको व्यवस्था गर्न प्रदेशस्तरीय सीसीएमसी बैठकले निर्णय गरेको थियो ।

प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलेसन केन्द्र बनाउनको लागि महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ ।

रंगेली नगरपालिका वडा नं ७ स्थित श्रीजनता क्याम्पसको भवनमा सय बेड क्षमताको आइसोलेसन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–१ स्थित वि. जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेसन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, वराहक्षेत्र नगरपालिकास्थित रमानन्द आचार्य सेवा पीठ, चतरामा सय बेड क्षमताको आइसोलेसनको लागि १५ लाख र सोलुदूधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्न पाँच लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

त्यस्तै प्रदेश नं. १ का ताप्लेजुङ्ग, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तीमा १० बेड क्षमताको आइसोलेसन स्थापना र सञ्चालन गर्न पाँच लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ ।

कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङ्गलाई २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई पाँच लाख र मेची अस्पताल, झापालाई १० लाख रुपैयाँ आइसोलेसन सञ्चालनका लागि उपलब्ध गराएको छ । त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ्ग दूधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि पाँच–पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया