Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगृहस्थी भाँडा पसलले राजस्व छली गरेको खुलासा

गृहस्थी भाँडा पसलले राजस्व छली गरेको खुलासा


शंकर लुइँटेल
विराटनगर, पुस ८
विराटनगर बजारको मुख्य स्थानमा सञ्चालित एक व्यापारिक फर्मबाट सरकारलाई बुझाउने राजस्व भ्याटदेखि आयकरमा समेत व्यापक ठगी गरिरहेको रहस्य सार्वजनिक भएको छ । चालू आर्थिक वर्ष ०७५/०७६ को छ महिनाको विवरण पुस मसान्तसम्ममा बुझाउनु पर्ने बाध्यकारी व्यवस्थाका कारण विराटनगरको मेनरोडमा सञ्चालन हुँदै आएको गृहस्थी भाँडा पसलका नाममा सञ्चालन भएको व्यापारिक फर्मबाट गरिएको कारोबारमा ठूलो मात्रामा भ्याटदेखि आर्जित मुनाफाबाट बुझाउने आयकरसमेतमा व्यापक ठगी गरेको रहस्य खुलेको छ ।

उक्त फर्मबाट सरकारको राजस्वबापत लाग्ने भ्याट ठगी प्रकरण खुलेपछि ती प्रतिष्ठित व्यवसायीको कारोबार नै शंकाको घेरामा पर्न पुगेको बताइएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०५८ सालमा नै दर्ता भएको गृहस्थी भाँडा पसलले २०६२ सालदेखि मात्र आफनो कारोबार भ्याटमा दर्ता गराएर कारोबार सञ्चालन गर्दै आएको कुरा आन्तरिक राजस्व कार्यालय स्रोतले बताएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट गृहस्थी भाँडा पसलका नाममा ३००२५७३९७ भ्याट नम्बर समेत प्राप्त गरेको उक्त फर्मका सञ्चालकमा राजकमल नेवटिया रहेको कुरा थाहा भएको छ ।

उक्त व्यवसायी फर्मको आडमा नेवटियाले मूअकबापतको राजस्व र आर्जित मुनाफाबाट सरकारले प्राप्त गर्ने आयकर समेतमा व्यापक ठगीको तथ्य खुल्न पुगेपछि उनको कारोबार नै शंकाको घेरामा पर्न पुगेको कुरा आन्तरिक राजस्व कार्यालयको उच्च स्रोतले बताएको छ । विराटनगरको मुटु मानिएको जलजला चोकमा अवस्थित गृहस्थी भाँडा पसलका नाममा सञ्चालित उक्त फर्मको कारोबारबाट सञ्जाल नै बनाएका सञ्चालक नेवटियाले व्यावसायिक फर्मबाट जारी गर्दै आएको संक्षिप्त कर बिजकका सम्बन्धमा आन्तरिक राजस्व कार्यालयसमेत बेखबर रहेको तथ्य खुलेपछि गृहस्थी भाँडा पसलको कारोबार शंकामा पर्न पुगेको हो ।

आन्तरिक राजस्व कार्यालयस्रोतले दिएको जानकारीअनुसार कुनै पनि व्यावसायिक फर्मबाट जारी हुने संक्षिप्त कर बिजकका सम्बन्धमा सम्बन्धित कार्यालयबाट पूर्वस्वीकृत लिनु पर्ने प्रावधान रहेको छ । तर, सञ्चालक नेवटियाले आन्तरिक राजस्व कार्यालयबाट स्वीकृत नै नलिई संक्षिप्त कर बिजक जारी गर्दै आएको रहस्य खुलेसँगै नेवटियाको कारोबार शंकाको घेरामा पर्न पुगेको कुरा उच्चस्रोतले बताएको छ ।

आन्तरिक राजस्व कार्यालयमा रहेको गृहस्थी भाँडा पसलको रेकर्ड फायलमा समेत संक्षिप्त कर बिजक जारी गर्न पाऊँ भन्दै सञ्चालक नेवटियाले पूर्वस्वीकृतका लागि कुनै निवेदन दर्ता समेत नगरेको दाबी समाचारस्रोतले गरेको छ । सञ्चालकले गृहस्थी भाँडा पसलको कारोबारबाट करोडौँ कमाइ हुँदासमेत आन्तरिक राजस्व कार्यालयमा बुझाएको वार्षिक विवरणमा उल्लेख गरेको कारोबार विवरणबाट बढी राजस्व दाखिला गरेको देखिन आएपछि उक्त फर्मबाट व्यापक राजस्व आउने भ्याट र आयकरमा ठगी भएको दाबी स्रोतले गरेको छ । विराटनगरमा रहेको गृहस्थी भाँडा पसलका सञ्चालक नेवटिया केही अघिसम्म सामान्य व्यापारी भए पनि पछिल्लो समय एक्कासी माथिल्लो दर्जाको व्यापारीमा उक्लिएपछि उनी शंकाको घेरामा परेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया