Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिमानामा पुलको समस्या, पूर्वी नेपालमा उपभोग्य वस्तु अभावको संकेत

सिमानामा पुलको समस्या, पूर्वी नेपालमा उपभोग्य वस्तु अभावको संकेत


काठमाडौं, पुस ९
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा औद्योगिक वातावरण बनेको बताएको छ । मन्त्रालयले नेपालमा उद्योग स्थापना र सञ्चालनको लागि कानुनी तथा कार्यान्वयनको पाटो सहज बन्दा मुलुकमा स्वदेशी र विदेशी दुवै उद्योगीहरुको लागि औद्योगिक वातावरण बनेको जनाएको छ । योसँगै नेपालमा स्वदेशी तथा विदेशी दुवै उद्योगीहरुलाई नेपालमा उद्योग स्थापना तथा सञ्चालनका लागि सहज भएको मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताए ।

वर्तमान सरकारले मुलुकमा औद्योगिक विकास होस् भन्ने उद्देश्यले औद्योगिक नीति तथा नियम निर्माणलाई प्राथमिकता दिएसँगै मुलुकमा औद्योगिक वातावरण बनेको उनको भनाइ छ । ‘सरकारले मुलुकमा सहज ढंगले उद्योग स्थापना होस् भनेर नियम निर्माण ग-यो’, उनले भने, ‘नियम निर्माणसँगै हामीले कार्यान्वयनमा समेत जोड दिएसँगै यो सम्भव भयो ।’

सरकारले पछिल्लो समय विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) २०७५, औद्योगिक ग्राम स्थापना, विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) निर्माण गरी उद्योग स्थापनाको लागि सहजीकरण गरेको छ । सरकार उद्योगको विकासको लागि ऐन संशोधन तथा आवश्यक पूर्वाधार निर्माण गर्दै जाने तयारीमा समेत रहेको मन्त्रालयले जनाएको छ । सरकार तथा मन्त्रालय उद्योगको हितका लागि आवश्यक नीति तथा नियम निर्माण गर्दै अघि बढ्ने उनले बताए । यसले गर्दा नेपालमा बढीभन्दा बढी उद्योग स्थापनाको लागि सहज हुने उनको भनाइ छ ।

सहसचिव भट्टराईले भने, ‘हामीले ऐन मात्र नबनाएर यसको कार्यान्वयन पक्षमा समेत जोड दिएका छौँ, ऐनमा उल्लेख भएअनुरुप एकल विन्दु सेवा केन्द्रको स्थापना गरी उद्योगीहरुलाई सेवा सुविधा समेत दिएका छौँ ।’ उनले सो सेवा सुरु भएसँगै पहिलेजस्तो उद्योग दर्ता गर्नका लागि विभिन्न निकाय धाउनुपर्ने बाध्यताको पूर्णरुपमा अन्त्य भएको बताए । ‘यो भनेको प्रक्रियागत सरलीकरण हो । यसलाई अझै सहज बनाउन हामी प्रविधिको प्रयोग गर्दै जाने छौं’, उनले भने, ‘भोलिका दिनमा उद्योग दर्ताको लागि व्यवसायीहरु कार्यालयसम्म आउन नपर्ने हुनसक्छ ।’ यसका लागि प्रविधिलाई जोड दिने तयारीमा लागेको सहसचिव भट्टराईको भनाइ छ ।

यति मात्र नभएर सरकारले लगानी, नियमन तथा सुरक्षाको विषयमा समेत निश्चित गरेको छ । ‘हामीले विदेशी लगानी तथा प्रविधि ऐनमार्फत विदेशी लगानीकर्ताको हकमा लगानीको सुरक्षा, ऋण प्रदान, श्रम स्वीकृति, छुट प्रदानको समेत व्यवस्था गरेका छौं’, उनले भने, ‘जसले गर्दा विदेशी लगानी आकर्षित हुने स्थान बनेको छ ।’

स्थानीय तहमा समेत उद्योग स्थापना होस् भन्ने उद्देश्यका साथ औद्योगिक ग्राम स्थापनालाई समेत प्राथमिकतामा राखेको उनको भनाइ छ । प्रत्येक तहमा उद्योग स्थापना भई सो स्थानमा रहेका कच्चा पर्दाथ प्रयोग आर्थिक क्रियाकलाप वृद्धि होस् भनेर औद्योगिक ग्राम अघि ल्याएको बताँउदै उनले प्राधिकरणमा समेत उद्योग स्थापना भई निर्यातमा सहयोग पुगोस् भन्ने चाहना रहेको बताए ।

वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ सरकारले नेपाल लगानी सम्मेलन २०१९ समेत सञ्चालन ग-यो । जसलाई सरकारले उच्च तहमा रहेर नेपालमा औद्योगिक वातवारण छ भनेर अन्तर्राष्ट्रियजगत्मा सन्देश दिन सफल भएको मन्त्रालयको भनाइ छ । ‘उद्योगलाई आवश्यक नीति तथा नियम निर्माण लगानी सम्मेलन लगायतका कार्यशैली हेर्दा नेपालमा औद्योगिक वातावरण बनेको तथा विदेशी लगानी नेपालमा ल्याउनुस् भन्ने खोजेको बुझिन्छ’, उनले भने, ‘जसले गर्दा हालको समयमा नेपालको अर्थतन्त्रमा सुधार देखिएको छ ।’

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको थियो भने व्यावसायिक वातावरणको सूचकांक (डुइङ बिजनेस इन्डेक्स) मा समेत सुधार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । बैंकले अक्टोबर (कात्तिक)मा सार्वजनिक गरेको डुईङ बिजनेस इन्डेक्समा नेपाल ९४औं स्थानमा रहेको छ । गत वर्ष ११०औं स्थानमा रहेको नेपाल १६ स्थान माथि उक्लिँदै ९४औं स्थानमा पर्न सफल भएको हो ।

उद्योग भनेको आजको भोलि फाइदा दिने क्षेत्र नभएकाले यसको लागि लामो समय लाग्ने भट्टराईले बताए । त्यसैले उद्योग कति आए आएनन् भन्दा पनि कस्ता उद्योग मुलुकमा आवश्यक छ भन्ने विषय महत्वपूर्ण भएको उनको भनाइ छ । उद्योग स्थापना हुनको लागि सो स्थानमा उद्योगबाट उत्पादित वस्तुको माग हुनुपर्छ त्यसको बजार हुनु आवश्यक छ ।

पछिल्लो पाँच महिनामा उद्योग क्षेत्रमा विदेशी लगानी एक सय ५३ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालू आवको पाँच महिनामा विदेशी लगानीकर्ताहरुले एक सय ३६ वटा उद्योग स्थापना गर्ने भन्दै ३३ अर्ब ६५ करोड सात लाख लगानी प्रतिबद्धता जनाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया