Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहस्तकला निर्यातमा बढोत्तरी

हस्तकला निर्यातमा बढोत्तरी


काठमाडौं । पछिल्ला आर्थिक वर्षहरूमा नेपाली हस्तकलाको निर्यात व्यापार बढेको छ । तर निर्यात वृद्धिदरलाई निरन्तरता दिन भने कठिनाइ भएको नेपाल हस्तकला महासंघले जनाएको छ ।

नेपालबाट आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ७२ करोड ५७ लाख ८६ हजारबराबरको हस्तकला सामग्रीको निर्यात भएको थियो । जुन अघिल्ला आर्थिक वर्षको तुलनामा बढी हो । आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ४० करोड ४४ लाख ८० हजार, आर्थिक वर्ष २०७७/७८मा चार अर्ब ३३ करोड ५६ लाख ७४ हजार र आर्थिक वर्ष २०७६/७७ मा तीन अर्ब ६४ करोड एक लाख १३ हजारबराबरको हस्तकला सामग्रीको निर्यात भएको थियो ।

उक्त समीक्षा अवधिमा कपडाजन्य सामग्री र गैरकपडाजन्य सामग्री तथा फलाम, चाँदी, छालालगायतबाट निर्मित सामग्रीको निर्यात व्यापार हो । १५ थरीका कपडाजन्य र गैरकपडाजन्य सामग्री उक्त समीक्षा अवधिमा निर्यात गरिएको महासंघले जानकारी दिएको छ । पछिल्लो चार वर्षको तथ्यांकलाई हेर्दा हस्तकलाको निर्यात व्यापारमा वृद्धि देखिए पनि त्यसलाई निरन्तरता दिन भने कठिन रहेको महासंघका अधिकारीहरू बताउँछन् ।

हस्तकलाको अर्थतन्त्रको आकार र यसमा आबद्ध संख्या ठूलो रहे पनि निर्यात व्यापारमा वृद्धिदर राखिरहन भने सर्घष गर्नुपरेको महासंघका अध्यक्ष रविन्द्र शाक्य बताउँछन् । ‘हस्तकलामा लाग्नेहरूमा आर्थिक लाभ नभएको भन्दै भविष्य नरहेको प्रतिक्रिया प्राप्त हुँदा भोलिका दिनमा समस्या हुने चिन्ता देखिएको छ’, उनले भने, ‘हस्तकलाको बजारलाई वृद्धि गर्दै लैजानको लागि सरकारले नीतिगत सुधार गर्नु आवश्यक छ । उद्यमशीलता प्रवर्तनका लागि स्थानीय तह, प्रदेश र संघले तालिम सञ्चालनका लागि सहयोग गर्नुपर्ने आवश्यक छ ।’

सरकारले हस्तकला निर्यात व्यापारको नेतृत्वादायी क्षेत्र हुन सक्ने बताइरहँदा सरकारबाट आवश्यक सहयोग भने हुन सकेको छैन । उद्योग मन्त्रालयका तत्कालीन सचिव मधुकुमार मरासिनीले हस्तकलाजन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सके मात्र सहज तवरबाट विदेशी मुद्रा अर्जान गर्न सक्ने बताउँदै आएका छन् । हस्तकलामार्फत मुलुकको मौलिक कला, संस्कृति र सम्पदाको झल्को विदेशसम्म उपहारको रुपमा पुर्याउन सकिएको र त्यसबाट विदेशी मुद्रा आर्जन गर्न सकिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

अधिकारीहरूले हस्तकला उद्योग व्यवसायलाई नेपाल सरकारको तर्फबाट पनि प्राथमिकतामा राखी यसको हित र संरक्षणमा नीतिगत सहजताका कार्यहरू समय–समयमा गर्दै आएको बताएका छन् । व्यापार र अर्थ व्यापकताको प्रचुर सम्भावना बोकेको यस क्षेत्र र यसको निर्यात व्यापार विगत केही वर्षदेखि स्थिर देखिएको अवस्थामा निजी संघ–संस्थाहरूले पनि हस्तकलाको निर्यात बढाउन र नयाँ बजार खोज गर्न पहल गनुपर्नेमा जोड दिनुपर्ने उनीहरूको भनाइ छ । महासंघका अनुसार नेपाली हस्तकालको सामग्री भारत, चीनदेखि लिएर अमेरिका र युरोपेली मुलुकको बजारमा पुग्ने गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो आर्थिक वर्षहरूमा करोडौँ मूल्यबराबरको हस्तकलाका सामग्री भारत र चीनको बजारमा पुगेको छ । आर्थिक वर्ष २०८१/८२मा २० करोड ९४ लाख, आर्थिक वर्ष २०८०/८१मा २६ करोड ५२ लाख र आर्थिक वर्ष २०७९/८०मा १० करोड २५ लाखबराबरको हस्तकलाको सामग्री चीनको बजारमा पुगेको छ ।

भारतमा पनि करोडौँ मूल्यबराबरको हस्तकलाको समाग्री निर्यात भएको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८१/८२मा एक करोड ३९ लाख, आर्थिक वर्ष २०८०/८१मा दुई करोड ६७ लाख र आर्थिक वर्ष २०७९/८० तीन करोड ८७ लाखबराबरको हस्तकलाका सामग्री निर्यात भएको छ । अन्य मुलुकहरूमा आर्थिक वर्ष २०८१/८२ मा २२ करोड ४५ लाख, आर्थिक वर्ष २०८०/८१मा ४६ करोड १२ लाख र आर्थिक वर्ष २०७९/८०मा ६७ करोड ६९ लाखबराबरको हस्तकलाको सामग्री निर्यात भएको हो । उक्त समीक्षा अवधिमा चीन, भारत र अन्य मूलुकमा काठ र फलामका मात्र हस्तकलाको सामग्री सो मूल्यबराबरको निर्यात गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपालबाट १५ थरीभन्दा बढीका हस्तकलाका सामग्री निर्यात भएको पाइन्छ । कपडाजन्य हस्तकलाका सामग्रीहरूमा पस्मिना, उलन, फेल्ट, शिल्क, कटनलगायतका उत्पादन रहेको छ भने गैरकपडाजन्यमा चाँदीका गहना, फलामका सामग्री, काष्ठजन्य सामग्री, कागज, सिसा, छालाजन्य उत्पादनका सामग्री रहेको छ । हस्तकलाको निर्यातजन्य सामग्री मात्र नभई अध्ययनका लागि समेत अन्तर्राष्ट्रिय समुदायबाट कलेज तथा विश्वविद्यालयका प्रोफेसर र विद्यार्थीहरू आउने गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x