Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसंशोधित भन्सार ऐन अव्यवहारिक भएको व्यवसायीको गुनासो

संशोधित भन्सार ऐन अव्यवहारिक भएको व्यवसायीको गुनासो


विराटनगर । गत मंसिर २० गतेदेखि कार्यान्वयनमा आएको संशोधित भन्सार ऐन, २०८२ का कतिपय प्रावधानहरू अव्यवहारिक रहेको पूर्वी क्षेत्रका उद्योगी व्यवसायीले गुनासो गरेका छन् ।

उद्योग संगठन मोरङले सुनसरी मोरङ औदोगिक करिडोरका उद्योगी तथा व्यवसायीहरूसँग मंगलबार संसोधित भन्सर ऐनले उद्योग–व्यवसायमा पार्ने प्रभावका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले उक्त गुनासो गरेका हुन् । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वर्तमान व्यवस्थाअनुसार औद्योगिक मिल मेसिनरी, कच्चा पदार्थ तथा पार्टपुर्जाहरू बिग्रिएर पुनः फिर्ता पठाउनुपर्दा ९० दिनभित्र पठाइसक्नुपर्ने व्यवस्था अव्यवहारिक रहेको बताए । उक्त ऐनमा उल्लेखित अवधिलाई एक सय ८० दिन कायम गर्नुपर्ने उनको भनाइ छ । साथै उनले भन्सार ऐनमा अत्यधिक दण्ड र जरिवानाका प्रावधानहरूले उद्योगीहरूलाई प्रोत्साहन गर्नेभन्दा निरुत्साहित गर्ने अवस्था सिर्जना भएको बताए । मानवीय त्रुटि र नियतवश गरिने कार्यलाई स्पष्ट रूपमा छुट्याइ दण्ड र जरिवानाको प्रावधान पुनरावलोकन गर्नुपर्ने उनको माग छ । साथै प्रशासकीय पुनरावलोकनका क्रममा धरौटीका रूपमा नगदसँगै बैंक ग्यारेन्टीसमेत राख्न पाउने व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्माले पनि मानवीय त्रुटि र नियतवश गरिने गल्तीलाई स्पष्ट रूपमा वर्गीकरण गरी सोही अनुसार दण्ड जरिवानाको व्यवस्था हुनुपर्ने बताए ।

कार्यक्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले संशोधित भन्सार ऐनले उद्योगी तथा व्यवसायीहरूलाई सहजीकरण गर्ने दाबी गरेका थिए । साथै थप सहज बनाउन भन्सार विभागले छलफल गरिरहेको हुँदा ऐन संशोधन हुने उल्लेख गरे । श्रेष्ठले नियमावली आउने क्रममा रहेको बताउँदै ऐन कार्यान्वयन गर्दा आउने समस्याहरूलाई समाधान गरिँदै लैजाने तयारी भइरहेको जानकारी दिए । कार्यक्रममा भन्सार अधिकृत तुलसीराम रेग्मीले संशोधित भन्सार ऐनमा समावेश गरिएका प्रमुख प्रावधान तथा व्यवस्थाबारे प्रष्ठ पार्दै ऐन परिमार्जित रूपमा आएकाले त्यसले भन्सार प्रक्रिया थप सरल र प्रभावकारी बनाउने बताएका थिए ।

कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष विपिन कावरा र विभिन्न उद्योग प्रतिष्ठानका उच्च प्रशासकको सहभागिता रहेको थियो । भन्सार ऐनमा समेटिएका व्यवस्था तथा प्रावधानबारे उद्योगी तथा व्यवसायीहरूलाई जानकारी गराउने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना र विराटनगर भन्सार कार्यालयको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगि तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार, कोशी प्रदेश
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x