Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१९औं हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि

१९औं हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि


काठमाडौं । चितवनको सौराहामा १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ ।

क्षेत्रीय होटल संघ नेपाल, चितवन र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा आगामी पुस ११ देखि १३ गतेसम्म महोत्सव हुन लागेको हो । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको थियो । विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्रको पर्यटन प्रबद्र्धन, मानव र वन्यजन्तुबीचको सहअस्तित्व, संरक्षण चेतना र दिगो पर्यटन विकास महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । महोत्सवमा हात्तीको पूर्ण सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्यक्रम सञ्चालन गरिने आयोजकको भनाइ छ । हात्तीमाथि कुनै पनि किसिमको क्रूर व्यवहार निषेध गरिएको छ भने पशु चिकित्सकको नियमित निगरानी, तालिम प्राप्त माहुतेको मात्र सहभागिता र स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । सबै गतिविधि प्रतिस्पर्धा भन्दा पनि मानव–हात्तीबीचको सौहार्दता, संस्कृति र परम्पराको प्रबद्र्धनमा केन्द्रित रहने बताइएको छ ।

महोत्सव अवधिभर करिब ८० वटा हात्तीको सहभागिता रहनेछ । हात्ती शोभायात्रा, सांस्कृतिक झाँकी, हात्ती सजावट प्रदर्शन, हात्ती भोजन कार्यक्रम, हात्ती स्वास्थ्य शिविर, हात्तीमैत्री खेल, स्थानीय स्तरका खेलकुद प्रतियोगिता, सफारी पर्यटन प्रवद्र्धन कार्यक्रम तथा मानव–वन्यजन्तु सहअस्तित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहनेछन् । यसका साथै स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धन, महिला उद्यमी र स्थानीय कृषि उत्पादनको बजारीकरणमा पनि महोत्सवले भूमिका खेल्ने आयोजकको विश्वास छ । डिजिटल प्रविधिको प्रयोगमार्फत कार्यक्रमको प्रचार–प्रसार गरिने र वातावरणमैत्री संरचना तथा स्टलहरू निर्माण गरिने पनि आयोजकले जानकारी दिएको छ । महोत्सवको अवसरमा सौराहाका होटल तथा रेस्टुरेन्टहरूमा खाना र आवासमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवका कारण प्रत्येक वर्ष २५ देखि ३० प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुँदै आएको आयोजकले जनाएको छ । महोत्सवको उघाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले गर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बोर्डले चितवनको पर्यटन प्रवर्द्धनका लागि निरन्तर सहकार्य गर्दै आएको बताए । चितवनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन तथा आन्तरिक पर्यटन प्रवद्र्धन र गन्तव्य ब्रान्डिङका लागि हात्ती महोत्वसव प्रभावकारी भइरहेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x