Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्यालय क्षेत्र विकास कार्यक्रमका लागि एक करोड ८५ लाख अमेरिकी डलर अनुदान

विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि एक करोड ८५ लाख अमेरिकी डलर अनुदान


काठमाडौं, भदौ २१
विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले नेपाल सरकारलाई एक करोड ८५ लाख अमेरिकी डलर अनुदान दिने भएको छ । नेपाल सरकार र विश्व बैंकका बीचमा शुक्रबार विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि एक करोड ८५ लाख अमेरिकी डलर (करिब एक अर्ब २७ करोड नेपाली रूपैयाँ) बराबरको अनुदानमा हस्ताक्षर भएको हो । यस अनुदान सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका हुन् ।

उक्त अनुदानले कोभिड–१९ संकटका बीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन सहयोग गर्नेछ । ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ नेपाल सरकारको एक क्षेत्रव्यापी कार्यक्रम हो जसलाई विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ(आईडिए) को १ सय ८५ मिलियन अमेरिकी डलर कर्जा सहायतासहित एसियाली विकास बैंक, युरोपियन युनियन, फिनल्यान्ड, ग्लोबल पार्टनरसिप फर एजुकेसन (जीपीई), जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, यूएसएआईडी, युनिसेफ र विश्व बैंकद्वारा प्रशासित रिच मल्टि–डोनर ट्रस्ट कोषलगायतका निकायले सहयोग पु-याइरहेका छन् ।

‘जीपीई कोभिड–१९ द्रुत कोष’ अन्तर्गत प्राप्त भएको यस थप अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड–१९ आकस्मिक योजनाको कार्यान्वयनमा योगदान पु-याउने बताइएको छ, जसले शिक्षा क्षेत्रमा यस महाव्याधिले पारेका सम्भाव्य असरहरूलाई कम गर्न र प्रतिकार्य गर्न सहयोग गर्नेछ । यसका अतिरिक्त अनुदानले दूर शिक्षाका कार्यक्रमहरूलाई सघाउने गतिविधिहरूका लागि अर्थ उपलब्ध गराउनेछ जसअन्तर्गत टेलिभिजन, रेडियो, सिकाइ पोर्टलका साथै इन्टरनेट र अन्य सञ्चार माध्यममा पहुँच नहुने बालबालिकाका लागि मुद्रण गरिने सिकाइका सामग्रीहरू पर्नेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया