Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशगरिब बस्तीको जनजीवन अत्यधिक चिसोले कष्टकर

गरिब बस्तीको जनजीवन अत्यधिक चिसोले कष्टकर


महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्ती बढी प्रभावित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेसँगै गरिब बस्तीको बिजोग बढेको हो ।

बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा गत बिहीबारसम्म झलमल्ल घाम लागको थियो ।जिल्लाको दक्षिणी क्षेत्रमा लाग्दो पुससँगै हुस्सु बढे पनि सुदूर उत्तरी क्षेत्रमा भने गत शुक्रबारदेखि योक्रम बढेको हो ।

गौशाला–१० बटौवा बस्तीका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहाका अनुसार मध्याह्नपछि हुस्सु फाट्दै गए पनि पारिलो घाम लाग्न नसक्दा र दिनभरि नै चिसो बतास चलिरहँदा जाडोले कुनै काममा निस्कन नसकेको उनको भनाइ छ । “बिहीबारसम्म त कति राम्रो मौसम थियो, शुक्रबार एक्कासी डम्म हुस्सुले ढाक्यो, त्यसयता जाडो निकै बढ्यो”, उनले भने ।

गरिब बस्ती यो बढ्दो चिसोले अत्यधिक प्रभावित भएका छन् । अहिले मुसहर, डोम, हलखोर, मेस्तरसहितका अति पिछडिएका गरिब जाति समुदायका बस्तीमा सडकमा फालिएका झुत्रा लुगा, प्लाष्टिक र झित्राझिक्री बालिने ‘घुर’ मात्र सहारा बनेको छ । “लकडीकाठी (दाउरा) कहीँ पाइँदैन, कोही फर्केर हेर्ने आउँदैनन् , के गरौं ? यही घुरको धुवाँ तापेर जाडो काट्नु परेको छ”, भङ्गाहा–४ रामनगरको मुसहरीटोलकी हेमनी सदा मुसहरले भनिन् ।

सडक यातायात र हवाई यातायात सेवा पनि बिहानीपख लाग्ने हुस्सुले प्रभावित हुन थालेका छन् । बाक्लो हुस्सुकै कारण मध्याह्नअघिका हवाई सेवा धेरैजसो प्रभावित हुँदैछन् । जनकपुर विमानस्थल कार्यालयले मध्याह्नसम्म हुस्सु राम्ररी फाट्न नसक्दा विमान अवतरणमा समस्या हुने भएर बिहानी सेवा रोकिने गरेको जनाएको छ । बाक्लो हुस्सुसँगैको चिसो हावा बहने क्रमले बिहान बेलुका जाडो निकै छिप्पिएको छ ।

मध्याह्नपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि बाहिरफेरो निस्कन गारो बन्दै गएको छ । चिसो निकै बढेपछि खेतीपाती र बन्दव्यापारका काम ठप्प झैँ भएका छन् । यसले बजारको चहलपहल देखिन छाडेको गौशाला–५ गौशाला बजारका व्यापारी अजय साह बताउनुहुन्छ ।

भङ्गाहा–५ सीतापुर बजारमा बस्दै आएका ८५ वर्षीय हाजी विहारी अन्सारी भन्छन, “चिसोले उठ्न बस्न पनि नसकिने भइयो, दुःख पाइने छाँट छ ।” बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा देखिन्छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक बिहानको काममा जान पातलिएको छ । काममा जान नपाएपछि यो सोझै गुजारासँग जोडिने हुँदा गरिब बस्तीमा भोकभोकै बस्नपर्ने अवस्था पनि बन्दैछ ।

औरही–७ भोइलटिम्कियिाका ६० वर्षीय घुरन सदा भन्छ, “मुटु कमाउने जाडो छ, कसरी काममा निस्कने होला ? बनी गर्न ननिस्के मुखमा माड लाग्दैन, अब भोकभोकै पर्ने बेला आउने भयो ।” जाडो सबैलाई उतिकै आए पनि आफूहरुको गरिबीले समारिन नसकिएर दुःख बढेको उनी बताउछन् ।

यसैबीच, महोत्तरीका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेको छ । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, बिहान बेलुका अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाकोतर्फबाट सूचना जारी गरिएका छन् ।


क्याटेगोरी : समाचार, मधेश प्रदेश


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x