Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार७२ बेडको ‘कोरोना विशेष अस्पताल’ सञ्चालनमा

७२ बेडको ‘कोरोना विशेष अस्पताल’ सञ्चालनमा


बाँके, भदौ २८
स्थानीय नागरिकहरुसँगको सहकार्यमा थालिएको प्रयासबाट नेपालगञ्जसिथत भेरी अस्पतालमा ८ आईसीयूसहित ७२ शय्याको ‘भेरी कोरोना विशेष अस्पताल’ सञ्चालनमा ल्याइएको छ । कोरोना कहरको छ महिना धानेको खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलेसन बन्द गर्दै भेरीमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको हो ।

सरकारी बजेटमा प्रक्रिया र समय दुवै झन्झटिलो हुने भन्दै जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर, भेरी अस्पताल विकास समिति, बाँके जिल्ला प्रशासनले भेरी कोरोना विशेष अस्पताल बनाउन निजी क्षेत्रसँग सहकार्य गरेका हुन् । नेपालगञ्ज उद्योग वाणिज्य संघ, सांग्रिला विकास बैंक, नेपालगञ्जमा स्वास्थ्य शिक्षा सञ्चालन गर्ने कलेजलगायतको सहयोगमा पूर्वाधार तयार भएको अस्पताललाई आवश्यक पर्ने जनशक्ति भने प्रदेश सरकारले व्यवस्था गर्ने गरी बजेट व्यवस्थापन गरिसकेको छ ।

‘सरकारसँग भेन्टिलेटर माग गरेका छौँ’, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने, ‘आइपुगेसँगै ७२ बेडलाई सय पु-याइनेछ ।’ भेरीले आवश्यक जनशक्तिको पहल थालिसकेको अस्पताल प्रमुख डा. थापाले जानकारी दिए । कोरोना संक्रमण भई स्वास्थ्यमा जटिल समस्या भएका बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने अनुमति पाएको भेरी अस्पतालमा कोरोना विशेष अस्पतालका लागि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले स्थानीय सरकारदेखि निजी क्षेत्रसँग प्रभावकारी समन्वय गरेका थिए भने भेरी कोरोना विशेष अस्पताल सञ्चालन उपसमितिका संयोजक डा. श्यामसुन्दर यादवले अभियानको कमाण्ड गरेका थिए ।

अस्पतालका अध्यक्ष प्रमोद धितालले छिट्टै सय बेड पु-याउन सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए । खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसन बन्द गरी क्यान्सर उपचार सेवालाई अगाडि बढाउने सरकारको योजना छ । अहिले पनि खजुरास्थित कृषि तालिम केन्द्र, लायन्स डेन्टल अस्पताल नेपालगञ्ज, कृृषि विकास बैंक तालिम केन्द्र पिपरी र मनिकापुरस्थित होटल ह्वाइट हाउसलाई सामुदायिक आइसोलेसन सेन्टर बनाइएको छ ।

निजी क्षेत्रबाट होटल सिटी प्यालेस, न्यू इन्द्रेणीलगायतले ‘सेल्फ पेड आइसोलेसन’ सञ्चालन गरिरहेका छन् । त्यसबाहेक सरकारले नै लेभल ३ को मान्यता दिएर नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा जटिल प्रकारका संक्रमितहरुको उपचार सेवा प्रदान गरिरहेको छ । ‘लक्षणसहितका कोरोना संक्रमितका लागि मात्र भेरीमा व्यवस्था गरिनेछ’, अस्पताल प्रमुख डा. प्रकाश थापाले भने, ‘त्यसका लागि आईसीयूसहित प्रत्येक बेडमा अक्सिजन पाइपलाइन पु-याइसकिएको छ ।’

यसैबीच प्रदेश ५ सरकारले नेपालगञ्जको भेरी अस्पतालसहित प्रदेशभित्रका चारवटा कोरोना विशेष अस्पतालमा पाँच सय ८३ जना जनशक्ति र तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट स्वीकृत गरेको छ । भेरी अस्पताललाई एक करोड ४० लाख रुपैयाँ स्वीकृत दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि तीन महिनाका लागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्ने र ती जनशक्तिलाई प्रदेश निजामती सेवाका कर्मचारीसरह सेवा सुविधा दिन बजेट स्वीकृत गरिएको हो ।

भेरीका लागि एक सय ५२ जना दरबन्दी राख्ने निर्णय भएको छ । भेरी अस्पतालको कोरोना विशेषका लागि सांग्रीला डेभलपमेन्ट बैंकले तीन लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै भेरी अस्पताललाई बाँकेको विभिन्न टेक्निकल कलेजहरुले २० लाख मूल्यबराबरको २० वटा एसी समेत प्रदान गरेका छन् ।

बाँकेकै नेपालगञ्ज टेक्निकल कलेजले पाँच थान, कैलपाल हस्पिटल एन्ड कलेजले पाँच थान, मध्यपश्चिम प्राविधिक शिक्षालयले पाँच थान र नेपालगञ्ज हेल्थ क्याम्पसले पाँच थान एसी प्रदान गरेका हुन् । यसैबीच नेपालगञ्ज उद्योग वाणिज्य संघले पाँच लाख ५१ हजार, नेपालगञ्ज चेम्बर अफ कमर्सले एक लाख, आठवटा स्थानीय तहबाट १० लाख तथा बाँके जिल्लामा कार्यरत निजामती कर्मचारीहरुको एक दिनको तलब भत्ता बराबरको रकम सहयोग गरेको अस्पताल विकास समितिका अध्यक्ष धितालले आर्थिक दैनिकलाई बताए । अस्पतालको गत बिहीबार प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया