Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकुलमानको कार्यकाल सकियो पुनः प्रवेश पाउन तीव्र ‘लबिङ’

कुलमानको कार्यकाल सकियो पुनः प्रवेश पाउन तीव्र ‘लबिङ’


काठमाडौं ।
२०७१ भदौमा चिलिमे जलविद्युत् कम्पनीको चारवर्षे अवधि सकिएपछि तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले कुलमान घिसिङलाई सो ठाउँमा दोहोरिन दिइनन् । उनको काज नेपाल विद्युत् प्राधिकरणमा फिर्ता भयो । त्यसको विरुद्ध कुलमानले सामाजिक सञ्जाल र सञ्चारमाध्यम मात्र प्रयोग गरेनन्, भौतिक रुपमै तत्कालीन निमित्त एमडी रामचन्द्र पाण्डेयलगायत प्राधिकरणका उच्च अधिकारी, रसुवाका तत्कालीन एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका जिल्ला नेतामाथि रसुवामा सांघातिक आक्रमणको प्रयास गरे ।

पाण्डे एमडी भएपछि चिलिमेमा कार्यक्रम गर्न भनेर एमडी पाण्डेको नेतृत्वमा काठमाडौंदेखि पत्रकारहरुको टोली पनि रसुवा गएको थियो । कार्यक्रममा आक्रमण गर्ने जानकारी कुलमानले बिहानै एक पत्रकारलाई फोन गरेर गराएका थिए । रसुवाको स्याफ्रुबेसीको होटलमा सुतिरहेका एक पत्रकारलाई कुलमानले मेरो पक्षमा भएका जनताहरु मन्त्रीको निर्णयबाट रिसाएका छन् । ठूलै आक्रमण गर्छन्, त्यहीबाट फर्किनुहोला, नजानुहोस् भने । ती पत्रकारले त्यतिबेलै भने, ‘चिलिमेको प्रमुखको म्याद थप नभएकामा कुलमान क्रुद्ध रहेछन् ।’

पाण्डे निमित्त एमडी बन्नुअगाडि प्राधिकरणको एमडी ऊर्जा मन्त्रालयका सहसचिव अर्जुन कार्की थिए । उनी निमित्त सचिव बनेर पोखरा गएपछि सो पदमा वरिष्ठताको आधारमा पाण्डे निमित्त एमडी बनेका थिए । उनी सोही वर्षको कात्तिक १२ गतेसम्म एमडी बनेका थिए । अदालतको आदेश लिएर आएपछि कात्तिक १३ गते मुकेश काफ्ले प्राधिकरणको एमडी बनेका थिए । उनी २०७१ सालको कात्तिक १३ गतेबाट २०७३ सालको भदौ अन्तिम सातासम्म एमडी बनेका थिए ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले राजीनामा मागेपछि काफ्लेले एमडीबाट राजीनामा दिए । त्यसपछि नाममात्रकै प्रतिस्पर्धा गराएर कुलमानलाई एमडी बनाउने निर्णय सरकारले ग¥यो । यो निर्णय भदौ २९ गतेको थियो । त्यही कारण प्राधिकरणको एमडीबाट कुलमानको पदावधि भदौ २८ गते आइतबार राति १२ बजेबाट सकिएको छ ।

तर, उनले आइतबार प्राधिकरणमा बैठक राखे र आफूले ३१ गते पदबहाली गरेको कारण ३१ गते वा त्यसपछि मात्र विदाइ गर्न आग्रह गरे । आफ्नो कार्यकाल ३० गते राति १२ बजेसम्म रहने जानकारी कुलमानले ऊर्जा मन्त्रालयमा पनि गराए । तर, कानुनविद्हरुका अनुसार कुलमानको कार्यकाल भदौ २८ गते आइतबारदेखि सकिएको छ । ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार पनि उनको कार्यकाल आइतबारदेखि सकिएको छ । ती अधिकारीले पनि कानुनविद्कै जस्तै अख्तियारका पूर्वआयुक्त केशव बरालको पदावधिबारे सर्वोच्चले गरेको फैसला हेर्न आग्रह गरे ।

यस्तै कार्यकाल विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त केशव बरालबारे यसअघि नै अर्थात् २०७२ सालमै फैसला सुनाइसकेको छ । अहिले प्राधिकरणका एमडी कुलमानले पदबहाली गरेको दिनदेखि चारवर्षे कार्यकालको गणना हुने दाबी गरेजस्तै बरालले पनि २०७० सालमा पदबहाली गरेको कारण शपथग्रहण गरेको दिनबाट आफ्नो कार्यकाल गणना गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरका थिए ।

बराल २०६६ साल माघ ५ गते अख्तियारको आयुक्तमा नियुक्त भएका थिए । तर, उनले चार वर्षपछि प्रमुख आयुक्त नियुक्त भएपछि मात्र २०७० पुस २५ गते शपथ लिएका थिए । अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बरालको पदावधि नियुक्त भएकै दिनदेखि हुने भनेपछि बराल सर्वोच्च अदालत गएका थिए । बराले पदबहाली गरेको मितिभन्दा अगाडिको तलब भत्ता पनि बुझेका थिएनन् ।
२०७२ माघ १ गते शुक्रबारको सर्वोच्चको संवैधानिक इजलासले केशव बरालको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि उनले नियुक्त भएको मितिदेखिकै पदावधि गणना भएको थियो । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले बरालको मुद्दामा अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको थियो । अहिले कुलमानले आफूलाई विदाइ नगर्न र आफ्नो कार्यकाल भदौ ३० गते मंगलबारसम्म भने पनि त्यो सर्वोच्चको आदेशविपरीत हुने ऊर्जा मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

कार्यकाल सकिन लागेपछि कुलमानले सोही पदमा दोहोरिन ‘फेक आईडी’ बनाउन लगाएर सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यम प्रयोग गरेका छन् । उनले आफूले मात्रै लोडसेडिङ अन्त्य गरेको र यसमा सरकारको कुनै भूमिका नभएजसरी प्रचार गराएका छन् । तर, दुई साताअघि मात्रै उनले सरकारको नीतिअनुसार लोडसेडिङ अन्त्य भएको विज्ञप्ति प्रकाशित गरेका छन् । उनले अहिले सरकारलाई दबाब दिन सामाजिक सञ्जाल र केही सीमित सञ्चारमाध्यम प्रयोग गरेर कुलमानलाई पुनः नियुक्ति गर्ने उज्यालो नेपालको अभियन्ता र प्रतिस्पर्धा गराउनेचाहिँ अँध्यारो पक्षधर भनेर प्रधानमन्त्री, ऊर्जामन्त्रीको बदनाम गर्न लागेका छन् ।

कुलमानले प्राधिकरणको एमडी पुनः बन्नको लागि राजनीतिक सक्रियता बढाएको स्रोतको दाबी छ । उनले नेकपाका अध्यक्ष प्रचण्डलाई फेरि प्राधिकरणको नेतृत्व पाउन माग गरे पनि प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग यो बारेमा प्रष्ट भन्नसकेका छैनन् । प्रधानमन्त्री ओली र प्रचण्डबीच आइतबार साँझ पनि भेटवार्ता भए पनि कुलमानका पुनः नियुक्तिबारे केही कुरै हुनसकेको छैन ।

तर, कुलमानले पुनः नियुक्तिका लागि सामाजिक सञ्जालमा गराएको प्रचारलाई कतिपयले भद्र गुण्डागर्दीकै रुपमा लिएका छन् । ‘कुलमानले खल्तीबाट बिजुली झिकेर दिएर लोडसेडिङ अन्त्य भएको होइन’, ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ‘सरकारले त्यतिबेलासम्म धेरै आयोजना र प्रसारणलाइन बनाइसकेको थियो । कुलमान नै नआई मुकेश काफ्ले नै एमडी थिए भने पनि २०७३ सालमा लोडसेडिङ अन्त्य हुन्थ्यो ।’ तर, उनी सरकारलाई झुकाउन २०७१ सालमा चिलिमेमा आक्रमण गरेजसरी अहिले सामाजिक सञ्जाल र केही सीमित सञ्चारमाध्यममार्फत आक्रमण गर्दै छन् ।

लामो समय सरकारी जागिर खाएको व्यक्तिले त्यसरी मानिसहरु उचाल्नु शोभनीय नभएको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् । ‘कुलमान सरले लोडसेडिङ्ग अन्त्य गरेर आफ्नो उचाइ बनाइसक्नुभयो’, प्राधिकरणका एक कर्मचारीले भने, ‘अब यो वा त्यो बहानामा यति दिन म्याद बाँकी छ र फेरि मलाई नियुक्त गर्नुपर्छ भनेर लबिङ गरेको त्यति सुहाएन ।’आइतबारबाट कुलमानको कार्यकाल सकिए पनि ऊर्जा मन्त्रालयले नयाँ प्रक्रिया सुरु गरेको छैन । गोकर्ण विष्ट ऊर्जामन्त्री भएको बेला प्राधिकरणको एमडी प्रतिस्पर्धाबाट नियुक्त गर्ने कानुनी व्यवस्था गरिदिएको कारण पुनः नियुक्त गर्न सरकारलाई समस्या परेको हो । कुलमान पनि सीमित प्रतिस्पर्धाबाटै एमडी बनेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया