Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाँकेका दुई डेरी उद्योगमा ताला

बाँकेका दुई डेरी उद्योगमा ताला


बाँके, भदौ २९
विगत एक हप्ताभित्र नेपालगञ्जका दुईवटा डेरी सञ्चालनमा रोक लगाइएको छ । बाँके जिल्लाको संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत रहेका विभिन्न डेरी उद्योगहरूको अनुगमन गरी कानुनविपरीत पाइएका दुई डेरीलाई सञ्चालनमा रोक लगाएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत नेत्रा बोगटीले अन्य स्थानमा व्यवसाय सञ्चालनको अनुमति लिई नेपालगञ्ज उपमहानगरपालिकाको विभिन्न स्थानमा व्यवसाय सञ्चालन गरिरहेका दुईवटा डेरी पसलको सञ्चालनमा रोक लगाइएको जानकारी दिइन् । बोगटीका अनुसार, घरवारी टोलस्थित जय बागेश्वरी दुग्ध उत्पादन सेवा नामक डेरी उद्योगलाई दुध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका (२०७५) बमोजिम मापदण्ड पूरा गरेर मात्र उत्पादन तथा बिक्रि बितरण गर्न निर्देशन दिइएको छ ।

बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्याल र सोही कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईं, जिल्ला प्रशासन कार्यालयका, प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, अधिवक्ता एवं उपभोक्ता संरक्षण मञ्च बाँकेका, अध्यक्ष बसन्त गौतम, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका, निरीक्षण अधिकृत नेत्रा बोगटी, नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत विमल गुरुङलगायतको सहभागिता रहेको थियो ।

अनुगमन टोलीले घरबारीटोलस्थित जय बागेश्वरी, दुग्ध उत्पादन सेवा, धम्बोजीमा रहेको मदर डेरी, कारकादोमा रहेको अम्बे डेरी, खजुरा रोडस्थित जनता दुग्ध सहकारी सस्थाको बिक्री डिपो, सेतु बिक चोकनेर रहेको लक्ष्मी डेरीलगायतको अनुगमन गरिएको थियो । मदर डेरी र अम्बे डेरीले प्याकेजिङ र लेवलिङ गरिएको दुग्ध पदार्थको बिक्री गरेको देखिए पनि सरसफाइलगायतका अन्य केही कुरा सुधार गर्न निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।

दुध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका (२०७५) बमोजिम मापदण्ड आएको २ वर्ष भए पनि सो निर्देशिकाको प्रभावकारी कार्यान्वयन नहुँदा उपभोक्ताले ढुक्क भएर गुणस्तरीय दुग्धजन्य पदार्थको गर्न पाउने अधिकार उपभोग गर्न नपाएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले बताए । ‘ऐन आएको २ वर्ष हुँदा समेत विभिन्न बहाना डेरी व्यवसायीहरूले मापदण्ड पालना गरिरहेका छैनन्,’ अधिवक्तासमेत रहेका गौतमले आर्थिक दैनिकसँग भने, ‘अहिले पनि खुल्ला दुधको बिक्रीवितरण गरिरहेकाले त्यस्ता डेरीमा दुधको गुणस्तर र स्वच्छतामा आशंका उब्जाएकोे छ ।’

निर्देशिका कार्यान्वयनका सम्बन्धमा एक महिनाअघि जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको, किसान, डेरी व्यवसायी र ऐन कार्यान्वयनको जिम्मेवार पदाधिकारी समेतको उपस्थितिमा भएको सर्वपक्षीय छलफलमा भाद्र २३ गतेदेखि दुध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका (२०७५) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने सहमति भएको थियो । ‘त्यसको विपरीत कसैले ब्यवसाय सञ्चालन गरे अब कानुनी कारबाही हुन्छ,’ बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया