Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा समितिद्वारा कोरोना बीमाको मापदण्ड संशोधन

बीमा समितिद्वारा कोरोना बीमाको मापदण्ड संशोधन


काठमाडौं, भदौ ३०
बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ तथा कोरोना (कोभिड १९) बीमालेखमा संशोधन गरेको छ । समितिले सञ्चालनमा रहेका २० वटै निर्जीवन बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै मापदण्ड संशोधन गरेको जानकारी दिएको हो ।

संशोधित मापदण्डअनुसार अब निर्जीवन बीमा कम्पनीहरुले निजी प्रयोगशालाहरुमा गरिएको पीसीआर टेस्टको आधारमा पनि कोभिड १९ को बीमाको दाबी भुक्तानी गर्नुुपर्नेछ । यसअघिको मापदण्डमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका सरकारी प्रयोगशालाहरुमा गरिएको पीसीआर टेस्टको आधारमा मात्र कोभिड १९ बीमाको भुक्तानी दिने व्यवस्था रहेको थियो ।

समितिले संशोधित व्यवस्थामार्फत भनेको छ, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पीसीआर परीक्षण गर्दा कोभिड १९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेस गर्नुुपर्नेछ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न स्वीकृतिप्राप्त अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीहरुको बीमादाबीका लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालाबाहेक अन्य स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनुपर्नेछ ।’

संशोधित व्यवस्थाअनुसार कोरोना बीमाबापतको भुक्तानीको लागि लघुुबीमा पुुल व्यवस्थापनका लागि तोकिएको बीमकमार्फत एकै स्थानबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गर्नुुपर्नेछ । बीमकलाई दाबी भुक्तानी शंका वा द्विविधा उत्पन्न भएमा बीमकको आफ्नै खर्चमा स्वीकृतिप्राप्त अन्य अस्पताल वा प्रयोगशालामा पीसीआर परीक्षण गराउन सक्नेछन् । कोरोना बीमा दाबी भुक्तानी प्रक्रियामा द्विविधा भएमा भुक्तानी प्रक्रियालाई भरपर्दो एवं विश्वासिलो बनाउन कोरोना बीमा दाबी व्यवस्थापन उपसमिति गठन गरिनेछ । समितिका अनुसार उक्त व्यवस्थापन उपसमितिमा बीमा समितिको निर्देशक संयोजक रहनेछन् भने अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल बीमक संघका प्रतिनिधि सदस्य रहनेछन् ।

समितिका अनुसार कोभिड १९ संक्रमणबाट पीसीआर पोजेटिभ भई घर वा होटलमा आइसोलेसनमा बसेकाहरुको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखको साथै स्थानीय निकायको सिफारिस समेत पेस गर्नुुपर्नेछ । तर अस्पतालमा नै भर्ना भई उपचाररत व्यक्तिहरुको हकमा भने अस्पतालबाट जारी गरिएको भर्ना तथा डिस्चार्ज भौचर पेस गर्नुुपर्नेछ ।

समितिका अनुसार यी सबै प्रमाणहरु पेस गरेको सात दिनभित्र बीमा कम्पनीहरुले कोभिड १९ बीमाको भुक्तानी दिइसक्नुुपर्नेछ । उक्त व्यवस्थाअनुसार कोभिड १९ बाट संक्रमित भई पीसीआर टेस्ट पोजेटिभ देखिएको र बीमा समितिबाट जारी गरिएको कोरोना बीमा मापदण्ड २०७७ को सबै प्रक्रिया पूरा गरेको अवस्थामा सात दिनभित्र बीमकलाई लिखित सूचना दिनुुपर्नेछ । यसअन्तर्गत विद्युतीय माध्यममार्फत समेतबाट सूचना दिन सकिनेछ । बीमित डिस्चार्च भएको वा पीसीआर टेस्ट नेगेटिभ आएको १५ दिनभित्र आवश्यक सबै कागजात समिति बीमा कम्पनीहरुमा दाबीको लागि आवेदन दिनुपर्नेछ ।

समितिका अनुसार बीमा दाबीको लागि पूर्णरुपमा भरिएको दाबी फारम, कोरोना संक्रमण पुुष्टि भएको परीक्षणको सम्पूर्ण कागजपत्रहरु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेख, होम आइसोलेसनका बसेकाको हकमा स्थानीय तहको सिफारिस, अस्पताल भर्ना भएको अवस्थामा चिकित्सकको लिखित परामर्शबमोजिम गरिएको औषधि पचार, सम्बन्धित खर्चको बिल भर्पाई, अस्पताल भर्ना भएको अवस्थामा भर्ना भएको र डिस्चार्च भएको कागजातहरु तथा तोकिएको आइसोलेसन सेन्टरमा बसेको अवस्थामा सो लिखित प्रमाणसहितका कागजातहरु पेस गर्नुुपर्नेछ । संशोधित व्यवस्थाअनुसार बीमालेख सुरु हुुनुुभन्दा पहिलादेखि नै कोरोना भाइरस संक्रमण रहेको र बीमालेख जारी भएको ३० दिनभित्र संक्रमित भएको अवस्थामा दाबी नलाग्ने व्यवस्था रहेको छ ।

कोभिड १९ बीमाको दाबी भुक्तानीमा सरकार तथा अन्य संस्थाले व्यहोरेको उपचार तथा अन्य खर्चको भुक्तानी भने हुुनेछैन । समितिका अनुसार बीमाको अवधि बीमालेख जारी भएको अवधिदेखि २०७८ असार मसान्तसम्म मात्र कायम रहनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया