Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्राधिकरणको निमित्त एमडीमा कोइराला

प्राधिकरणको निमित्त एमडीमा कोइराला


काठमाडौं, भदौ ३१
ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ । कोइराला प्राधिकरणमा कार्यरत १२औँ तहका वरिष्ठ उपकार्यकारी निर्देशक हुन् । कोइरालाभन्दा वरिष्ठमा हितेन्द्रदेव शाक्य भए पनि उनी अहिले प्राधिकरणकै अर्को कम्पनीमा कार्यरत रहेको कारण ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणभित्रै कार्यरतबाट वरिष्ठमध्येका कोइरालालाई छानेर निमित्तको जिम्मा दिइएको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । वरिष्ठलाई जिम्मा दिँदा विवाद नआउने भएको कारण मन्त्री पुनले त्यस्तो निर्णय गरेका हुन् ।

प्राधिकरणको कार्यकारी निर्देशकमा कार्यरत कुलमान घिसिङले आइतबार चारवर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाश पाएपछि कोइरालालाई मन्त्री पुनले मंगलबार उक्त पदमा नियुक्त गरेका हुन् । सोमबारको मन्त्रिपरिषद्बाट घिसिङ आफू फेरि एमडी भएर आउने भन्दै विदाइ हुन मानेका थिएनन् । तर, सोमबारको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको एमडी नियुक्तिबारे कुनै निर्णय नगरेपछि कुलमानले मंगलबार मात्र विदाइ ग्रहण गरेका हुन् । उनी २०५१ सालमा सातौ तहमा प्राधिकरणको जागिरमा प्रवेश गरेका थिए । उनले प्राधिकरणमा पुनः फर्किनको लागि चलखेललाई तीव्रता दिएका छन् । तर, उनको पक्षमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले खुला रुपमै वकालत गरेका छन् ।

श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमा कुलमानको वकालत गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसको जवाफ दिँदै व्यक्तिको पक्षमा लबिङ नगर्न र सरकारलाई यो व्यक्ति नियुक्ति गर भनेर दबाब नदिन सचेत गराउँदै पार्टी प्रवक्ताको जिम्मेवारी त्यो नभएको भन्दै जवाफ फर्काएका छन् । थापाको जवाफले पनि सोमबार मन्त्रिपरिषद् बैठकले कुलमानलाई पुनः नियुक्ति दिने निर्णय गर्दैन भन्ने प्रष्ट भएको थियो । तर, केही अनलाइन तथा सामाजिक सञ्जालले कुलमानको पक्षमा वकालत गर्र्दै निर्णय गर्न सरकारलाई दबाब दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया