Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसार्वजनिक यातायात सञ्चालन गर्न मुख्यमन्त्री–यातायात व्यवसायी छलफल

सार्वजनिक यातायात सञ्चालन गर्न मुख्यमन्त्री–यातायात व्यवसायी छलफल


विराटनगर, भदौ ३१
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारले असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरुसँग छलफल गरेका छन् । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्नेबारे मुख्यमन्त्री राईले मंगलबार यातायात व्यवसायीसँग भर्चुअल छलफल गरेका हुन् ।

छलफलमा मुख्यमन्त्री राईले असोज १ गते अगाडि यातायात व्यवसायीहरुलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरुको विवरण तयार गर्न आग्रह गरे । उनले यातायात व्यवसायीहरुको साझा समस्याहरुलाई सरकारले सम्बोधन गर्दै जाने समेत बताए ।

मुख्यमन्त्री राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन, मास्क, स्यानिटाइजरजस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानीहरु अपनाउन, यात्रुहरुको विशेष ध्यान दिन व्यवसायीहरुलाई आग्रह गरे । यात्रुहरुलाई स्वास्थ्य सावधानी तथा सजगता अपनाउन यातायात व्यवसायीहरुले पनि ध्यान दिनुपर्ने कुरामा मुख्यमन्त्री राईले जोड दिए ।

लामो दूरीका यात्रुहरुको विवरण राख्न समेत मुख्यमन्त्री राईले जोड दिए । छलफलमा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका थिए । उनीहरुले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधनहरु सञ्चालन गर्नै प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा यातायात व्यवसायीहरुका साथै यातायात क्षेत्रका मजदुर संगठनका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया