Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको भू–भाग र सीमासम्बन्धी पुस्तक सार्वजनिक

नेपालको भू–भाग र सीमासम्बन्धी पुस्तक सार्वजनिक


काठमाडौं, भदौ ३१
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतीय अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ‘नेपालको भू–भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री पुस्तक सार्वजनिक गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मंगलबार भर्चुअल कार्यक्रममार्फत उक्त पुस्तकको सार्वजानिक गरेका हुन् । मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका विद्यार्थीलाई नेपालको भू–भाग र सिमानासम्बन्धी जानकारी दिने उद्देश्यले सो पुस्तक प्रकाशन गरेको हो ।

गत २ नोभेम्बर २०१९ मा भारतले एकतर्फीरूपमा जारी गरेको नक्सामा लिपुलेक–कालापानी–लिम्पियाधुरासिहतको नेपालको भू–भागलाई भारतीय क्षेत्रमा देखाएको र सो भू–भागमा सडकसमेत बनाएको र नेपालले पनि आफ्नो नक्सा परिवर्तन गरी संविधानमा समेत संशोधन गरिसकेको स्थितिमा विद्यार्थी तथा आम जनसमुदायमा नेपालको सीमासम्बन्धी वास्तविक अवस्थाको जानकारी गराउन विज्ञहरूको परामर्शमा पुस्तक तयार गरिएको बताइएको छ ।

पुस्तकको लेखन कार्य ‘सीमा बचाऔँ अभियान’ का अभियानकर्मी कोमलचन्द्र बराल, त्रिभुवन विश्वविद्यालयका भूगोलविद् शेरबहादुर गुरुङ र भूगोलविद् एवं पाठ्यपुस्तक लेखक सहप्राध्यापक केशवराज ढकालसहितको कार्यदलबाट र संयोजन पाठ्यक्रम विकास केन्द्रका निर्देशक प्रेम भट्टराईले गरेका हुन् ।

पुस्तक तयारको सिलसिलामा पुस्तकको मस्यौदामा विभिन्न राजनीतिक आहोदामा रहेका राजनीतिक नेताबाट सुझाव प्राप्त भएको मन्त्रालयले जनाएको छ । यसको पाण्डुलिपिको अध्ययन गरी सीमाविद् बुद्धिनारायण श्रेष्ठ, नदीविज्ञ जगत भूषाल, विश्लेषक श्याम श्रेष्ठलगायतले सुझावहरू दिएका थिए । यो पुस्तिका गत असार १९ गतेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्नेगरी स्वीकृत गरिएको थियो ।

पुस्तक सार्वजानिक गर्दै मन्त्री पोखरेलले राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षणका लागि विद्यार्थीका साथै आमजनतामा सचेतता र संवेदनशीलताको विकास गर्नु, भूपरिवेष्टित अवस्थिति र संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालको सिमाना जोडिएका छिमेकी मुलुकहरूसँग बेलाबेलामा देखा पर्ने गरेका र भविष्यमा समेत सिर्जना हुनसक्ने सीमा विवादहरूको जानकारी राख्न र समाधानमा सहजीकरणका लागि पुस्तक सहयोगी हुने बताए ।

पुस्तकमा नेपालको प्राचीन, मध्यकालीनलगायत सन् १८१६ मा भएको सुगौली सन्धिसम्मको नेपालको सिमाना र क्षेत्रफलको विस्तार र संकुचनको ऐतिहासिक सन्दर्भ, अन्तर्राष्ट्रिय सीमाको अवधारणा, सिद्धान्त, नदी सीमामा उद्गम स्थलको पहिचान, सीमा विवाद, सीमा विवाद हुने कारण र समाधानका उपायको जानकारी दिइएको छ ।

नेपालको सीमा निर्धारण, छिमेकी मुलुकहरू चीन र भारतसँगको सीमा सम्बन्ध, सीमा विवाद र समाधानका प्रयासहरू, र नेपाल र भारतबीचको सीमा विवाद रहेका विशेषगरी पश्चिमोत्तर सीमा क्षेत्रका भारतद्वारा अतिक्रमित नेपालका लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको सीमा विवादका कारण, समाधान र यससँग सम्बन्धित ऐतिहासिक, प्रशासनिक र भू–राजनीतिक प्रमाणहरू पुस्तकमा संलग्न छन् । यस्तै नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता क्षेत्रको अतिक्रमणसम्बन्धी छोटो जानकारी र नेपालको अद्यावधिक नक्सा निर्माण अभ्यास र नक्साको परिचय र प्रयोगसम्बन्धी विषयवस्तु पनि समावेश गरिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया