Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहिमालय डिष्टिलरीका सञ्चालक श्रेष्ठ र ब्रोकर कम्पनीलाई जरिवाना

हिमालय डिष्टिलरीका सञ्चालक श्रेष्ठ र ब्रोकर कम्पनीलाई जरिवाना


सुरेश राउत
काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले पहिलोपटक सूचीकृत संस्थाका सञ्चालकलाई कारबाही गरेको छ । बोर्डका अनुसार सूचीकृत संगठित संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) को व्यवस्थाविपरीत कार्य गरेको आधारमा सूचीकृत संगठित संस्था हिमालयन डिष्टिलरीका पूर्वसञ्चालक रहिशा शाह श्रेष्ठलाई कारबाही गरिएको हो ।

बोर्डका अनुसार पूर्वसञ्चालक श्रेष्ठले सूचीकृत संगठित संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) को व्यवस्था विपरीत सञ्चालक पदबाट हटेको एक वर्ष नपुग्दै विभिन्न मितिमा हिमालयन डिष्टिलरीको सेयर बिक्री गरेको कैफियत देखिएको थियो । उक्त सेयर कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालिले रहिशा शाह श्रेष्ठको बारेमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) को व्यवस्थाबमोजिमको पूर्ण विवरणसहितको अभिलेख नराखेको कैफियतका आधारमा उक्त कम्पनीलाई पनि कारबाही गरेको बोर्डले जानकारी दिएको छ ।

श्रेष्ठ र धितोपत्र निष्काशनकर्ता सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन, २०७६ को दफा ६ को उपदफा (२) तथा दफा १० बमोजिम ग्राहक पहिचान लगायत अन्य आवश्यक जानकारी अद्यावधिक राख्नुपर्नेमा सोको पूर्णरुपमा पालना नगरेको तथा प्रणालीमा बिक्री आदेश प्रविष्ट गर्नुअघि उक्त कारोबार धितोपत्रसम्बन्धी ऐन, नियम, विनियम तथा निर्देशनबमोजिम गर्न मिल्ने नमिल्ने सम्बन्धमा आवश्यक सावधानी नअपनाएपछि श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरिएको बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

प्रवक्ता गिरीका अनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्रसम्बन्धी ऐन वा ऐनअन्तर्गत बनेको नियम वा विनियम वा सोअन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले नगद जरिवाना गर्नसक्छ ।

‘यसअन्तर्गत ५० हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था भएकोमा रहिशा शाह श्रेष्ठलाई ७५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको हो’, प्रवक्ता गिरीले भने, ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) मा कसैले धितोपत्र सम्बन्धी ऐन वा ऐनअन्तर्गत बनेको नियम वा विनियम बमोजिम पु-याउनुपर्ने रीत नपु-याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार सञ्चालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको छ ।’ सोही व्यवस्थामा टेकेर धितोपत्र दलाल व्यवसायी श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालिलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको प्रवक्ता गिरीको भनाइ छ ।

प्रवक्ता गिरीका अनुसार सूचीकृत संगठित संस्थाको सञ्चालकलाई गरिएको यो पहिलो कारबाही हो । बोर्डले धितोपत्रसम्बन्धी कानुनको प्रबलीकरणलाई सशक्त बनाउँदै लैजाने क्रममा गरिएका यस्ता कारबाहीबाट धितोपत्रसम्बन्धी कसुरहरु न्यूनीकरण भई दोस्रो बजार कारोबार थप स्वच्छ र पारदर्शी हुने र बजारका सम्बद्ध पक्षहरुले ऐन नियमको पालनातर्फ थप सजगता अपनाउने अपेक्षा गरेको जानकारी पनि प्रवक्ता गिरीले दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया