Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबहराइनी राजकुमारसहितको टोली खुम्बुमा

बहराइनी राजकुमारसहितको टोली खुम्बुमा


सोलुखुम्बु ।
मौसम प्रतिकुल बन्दा बहराइनी राजकुमार मोहम्म हामिद मोहम्म अल खलिफासहितको टोली एक दिन ढिलो गरी खुम्बु आइपुगेको छ । राजकुमार खलिफासहितको टोली बिहीबार बिहान ११ बजे खुम्बु आइपुगेको हो । बुधबार नै खुम्बु आउने कार्यक्रम भए पनि मौसम प्रतिकूलताका कारण एक दिन ढिलो गरी टोली खुम्बु आइ पुगेको तेन्जिङ हिलारी विमानस्थलका प्रमुख मुकेशराज दाहालले जानकारी दिए । सोलुखुम्बुमा रहेको लबुचे हिमाल आरोहणका लागि बिहीबार कैलाश एयरको हेलिकोप्टरमार्फत राजकुमारको टोली खुम्बु आएको हो ।

राजकुमारको टोलीमा १८ जना सदस्य रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । जसमा १५ जना बहराइनी र तीनजना बेलायती नागरिक रहेको बोर्डले जनाएको छ । लकडाउनपछि हिमाल आरोहणनका लागि खुम्बु क्षेत्र आउने यो पहिलो टोली भएको बताइएको छ । हिमाल आरोहणकै लागि टोली आएकाले स्थानीय व्यापारी समेत उत्साहित बनेका छन् ।

खुम्बु क्षेत्रको पर्यटन व्यवसाय तथा होटल व्यवसायमा राम्रो प्रभाव पर्ने विश्लेषण गरिएको छ । करिब ६ महिनादेखि सुनसान भएको खुम्बु क्षेत्रमा चहलपहल बढ्ने आस समेत गरिएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली भदौ ३१ गते नेपाल आएको थियो ।

यो टोलीले लबुचे हिमाल आरोहणपछि गोरखामा रहेको मनास्लु हिमाल आरोहणका लागि प्रस्थान गर्ने कार्य तालिका रहेको छ । विश्वव्यापी कोरोना महामारीको बीच लामो समयपछि मंगलबार दुई जना जर्मन नागरिकहरू पनि खुम्बु भित्रिएका छन् । उनीहरू काठमाडौँबाट पीसीआर परीक्षण गराएर खुम्बु आएको गाउँपालिकाले जनाएको छ । लामो समयपछि खुम्बु आएका विदेशी पर्यटकलाई खुम्बुबासीले स्वागत गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया