Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोधारा चाँदनीको दलित बस्तीमा खाद्यान्नको चरम अभाव

दोधारा चाँदनीको दलित बस्तीमा खाद्यान्नको चरम अभाव


धन बहादुर जप्रेल
कञ्चनपुर ।
लकडाउनका कारण महाकाली नगरपालिकाको वादी बस्तीमा खाद्यान्नको अभाव भएको छ । महाकाली नगरपालिका वडा नं. ६ को वादी बस्तीमा मागीखाने काम रोकिएपछि एक छाक खानको लागि पनि धौधौ पर्न थालेको उनीहरूले बताएका छन् । घरमा चुलो बल्न नसकेकाले रोगले भन्दा भोकले मरिने पो हो कि भन्ने चिन्ता उनीहरूमा थपिएको छ । मादल बजार गीत गाउँदै गाउँ, सहर डुलेर कमाएर खाने घर परिवारहरू कोरोना भाइरसको कारण खाद्यवस्तु जुटाउन समस्या परेको उनीहरूले बताएका छन् ।

विनोद वादीले बस्तीका सबै घरपरिवार सुकुम्वासी रहेको बताउँदै उनले भने,– ‘ठाउँ–ठाउँमा राहत बाँडेको खबर सुन्नमा आउँछ, तर हाम्रो बस्तीमा राहत आइपुगेको छैन ।’ १४ वर्षका उमेरदेखि मादल बजाउदै गीत गाएर परिवार पाल्दै आएका ६० वर्षीय लोकबहादुर वादी गीत गाउने र मादल बजाएर मागीखाँदै आएकाहरूलाई लकडाउनका कारण त्यो पनि बन्द भएपछि रोजिरोटी नै खोसिएको बताए । लोकबहादुर वादी प्रश्न गर्छन्,– ‘हामी त आज ल्याएर आजै खाने हो, बच्चा भोक लाग्यो भन्छन्, के गर्ने ?’

महाकालीका विभिन्न गाउँ बस्तीमा चहारेर माँगी हिँड्ने र जीविकोपार्जनको लागि भारत ज्यालामजुरी गर्दै आएका वादी घरपरिवारमा खाद्यान्नको चर्को समस्यामा देखिँदै आएको हो । ‘लकडाउनको कारण गाउँबस्तीमा खाद्यान्न पनि दिन मान्दैनन्, भारत जानको लागि पनि रोक लगाएको छ’ पूजा वादीले भने– ‘रासन अभावको कारण घरमा एक छाक खान सुरु भएको छ ।’

घरमा भोकमरीको अभाव श्रीजना हुन थालेपछि आफ्नो श्रीमान् विनोद वादीलाई पूजाले जसरी भए पनि भारत पठाउने निधो गरेको बताएका छन् । उनले आज माहाकाली नगरपालिका वडा नं. ६ वडा कार्यालयमा आफ्नो श्रीमान् भारत जान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सिफारिस गरिदिन निवेदन समेत दिएको पूजाले बताइन् । स्थानीय सरकारले खाद्यान्नको जोहो गरिदिनुपर्ने उनको माग छ ।’

दिनभरि गाउँबस्ती चहारेर ल्याएको खाद्यान्नले परिवारको समस्या टारिरहेका थियौँ, रोगले त पछि मर्ने भयौँ, अहिले त भोकले मर्ने स्थिति आयो,’ उनले थपिन्– ‘केटाकेटीलाई मात्र खान दिएर कहिल्यै हामी भोकै बस्यौँ, हातमुख जोर्न पनि गाहे हुन थाल्यो ।’ विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल सरकारले नेपालभरि लकडाउन लगाउदा प्रत्यक्ष मारमा ज्याला मजदूरी गरेर जीविका चलाउने परिवारमा पर्दै आएको हो । लकडाउनका कारण सीमान्तकृत समुदायका परिवारको अवस्था दिन प्रतिदिन कष्टकर बन्दै गइरहेको छ ।

समाजमा रहेका अति विपन्न गरिब दलित समुदाय, दैनिक ज्याला मजदुरी गरी खाने घरपरिवारहरूको दैनिकी कष्टकर बन्दै गएको छ । कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउन गर्दा दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने वादी बस्तीमा मात्रै हैन माहाकाली नगरपालिकाका विभिन्न दलित बस्तीमा समेत चर्को प्रभाव देखिएको छ । वादी बस्तीको छेउमै रहेको दमाई बस्तीमा समेत छाक टार्न हम्मेहम्मे परेको सिता दमाईले बताइन् ।

महाकाली नगरपालिकाका अधिकांश दलित बस्तीका प्रायः सबै परिवार ज्याला मजदुरीमा आश्रित छन् । बस्तीमा भोकमरी छाउँदै यस्तो अवस्थामा पछाडि पारिएका वर्ग दलित समुदायको आधारभूत आवश्यकता भोक मेटाउन दैनिकी खानाको लागि सहज परिपूर्ति गर्ने काम राज्यको दायित्व हो । तर दुःखको कुरा हो । सरकारले उपलब्ध गराएको भनिएको राहत गरिखाने घरपरिवारमा सक्किएको छ । यस्तो अवस्थाका बीच लकडाउनमा संघ र प्रदेशले स्थानीय सरकारलाई आफ्ना नागरिकलाई भोकमरीबाट बचाउन दिएको राहतमा चरम राजनीति हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया