Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहिलो चौमासिकमा पर्यटन मन्त्रालयको झण्डै चार अर्ब खर्च

पहिलो चौमासिकमा पर्यटन मन्त्रालयको झण्डै चार अर्ब खर्च


प्रवीन राउत
काठमाडौं, पुस ११
पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो चौमासिकमा झण्डै चार अर्ब रुपैयाँ खर्च गरेको छ । मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङका अनुसार चालू आवको पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिक मसान्तसम्ममा तीनवटा शीर्षक चालू, पुँजी र वित्तीय शीर्षकमा गरी तीन अर्ब ९८ करोड ४० लाख खर्च गरेको बताए ।

‘मन्त्रालयले पहिलो चौमासिकमा चालू शीर्षकमा एक अर्ब ८२ करोड दुई लाख, पुँजीगत १६ करोड ७२ लाख, वित्तीयतर्फ दुई अर्ब ७३ करोड ४६ लाख गरी कुल तीन अर्ब ९८ करोड ४० लाख खर्च गरेको हो’, उनले भने । अर्थले पर्यटन मन्त्रालयका लागि चालू आवको लागि २१ अर्ब १३ करोड १३ लाख विनियोजन गरेको उनले जानकारी दिए । उनले आर्थिक दैनिकसँग भने, ‘सोमध्ये हामीले पहिलो चौमासिकमा झण्डै चार अर्ब रुपैयाँ खर्च गर्न सफल भएका छौं ।’

चालू आवको लागि मन्त्रालयले चालू शीर्षकमा दुई अर्ब ९६ करोड ७८ लाख, पुँजीगत शीर्षकमा दुई अर्ब ३१ करोड ४६ लाख, वित्तीय शीर्षकमा १५ अर्ब ८४ करोड ८९ लाख विनियोजन गरेको थियो । उनले राष्ट्रिय गौरवका आयोजना, मन्त्रालयका प्राथमिकता प्राप्त आयोजनाहरु वैदेशिक सहायताबाट सञ्चालित आयोजना/कार्यक्रम, नयाँ कानुन तथा नीतिनिर्माणलगायतका शीर्षकमा सो रकम खर्च गरेको बताए ।

‘हामीले संस्कृति, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन शीर्षकमा सो रकम खर्च गरेका हौं’, उनले भने, ‘जसले गर्दा संस्कृति, पर्यटन र उड्डयनतर्फ महत्वपूर्ण उपलब्धि भएका छन् ।’ यता निजगढ विमानस्थलको भौतिक प्रगति भने शून्य रहेको मन्त्रालयले जनाएको छ । जग्गालाई लिएर विवाद उत्पन्न हुँदा भौतिक प्रगति हुन नसकेको सहसचिव तामाङले बताए ।

राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति :- मन्त्रालयले पहिलो चौमासिकअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक रहेको जनाएको छ । गौरवका आयोजनाहरुमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८४ दशमलव ७५ प्रतिशत पुगेको, वित्तीय प्रगत्ति ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नयाँ रन वे एचडीपी पाइप लेआउट र एचटी केवल लेआउट तयार भएको छ भने ट्याक्सी पार्किङ गर्ने स्थानको निर्माण भएको छ । यस्तै विमानस्थलको नयाँ रन वे तथा प्रशासन भवन समेत निर्माणकार्य भएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भौतिक प्रगति ५० प्रतिशत, वित्तीय प्रगति ३१ दशमलव ७२ प्रतिशत, हेङगर भवनमा ट्रस्ट कन्ट्रोल टावर, एनीसेलेरी भवन टर्मिनललगायतका निर्माणकार्य जारी रहेको बताइएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको हकमा भने निर्माणकार्यको भौतिक प्रगति शून्य, वित्तीय प्रगति १५ दशमलव पाँच प्रतिशत, वन क्षेत्रका रुखबिरुवा कटान प्रस्ताव विचारधीन रहेको बताएको छ भने लगानी बोर्डबाट जुरिच इन्टरनेशनल एयरपोर्टलाई छनौट गरिएको छ ।

लुम्बिनी क्षेत्रको बृहत्तर गुरुयोजना तयार गरी विकास र प्रवद्धर्न गर्ने भौतिक प्रगति ८५ प्रतिशत, वित्तीय प्रगति ७८ दशमलव ५० प्रतिशत अवधारणापत्र तयार भएको छ । लम्बिुनी क्षेत्रस्थित रामग्रामको गुरुयोजनाको मस्यौदा तयार भएको तथा आरएफपी जारी गर्ने कार्य सुरु भएको बताइएको छ भने पाँच हजार बिरुवा रोपिएको छ । पशुपति क्षेत्र लगायतको गुरुयोजना तयार गरी विकास र प्रवद्धर्न गर्ने भौतिक प्रगति ६० प्रतिशत हुँदा वित्तीय प्रगति ४० प्रतिशत रहेको छ । सो क्षेत्रमा गुरुयोजनाको प्रारम्भिक मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।

नागरिक उड्डयनतर्फ :- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विकास र विस्तार टर्मिनल भवन विस्तारकार्य ३७ प्रतिशत धावनमार्ग विस्तार (दक्षिणतर्फको) ३३ दशमलव ८७ प्रतिशत प्रगति भएको जनाएको छ । आन्तरिक विमानस्थलहरुको विकास र स्तरोन्नतिको क्रममा विराटनगर एयरपोर्टमा एप्रोन तथा ट्याक्सी वे विस्तार कार्य सम्पन्न भएको बताइएको छ । थप देशसँग हवाइ सेवा सम्झौता वार्ता गर्ने नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर भएको संयुक्त अरब इमिरेट्स(युएई) र अष्ट्रेलियासँग सम्झौता सम्पन्न, इन्डोनेसियाका लागि प्रस्ताव पठाइएको बताइएको छ ।

विमानका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गरिएको बताउँदै मन्त्रालयले वाइडबडी विमानका लागि स्थायी १५ जना र करारमा ११ जना (पि–वान) पाइलट व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय उडानमा प्रत्येक जहाज दैनिक कम्तीमा १४ घण्टा सञ्चालन हुने व्यवस्था गरिएको बताइएको छ भने हाल ए ३२० को औसत दैनिक उडान १२ दशमलव ९ घण्टा रहेको, ए ३३० को औसत दैनिक उडान १० दशमलव ८ घण्टा रहेको छ ।

मन्त्रालयले जापान, चीन, साउदी अरबलगायतका गन्तव्यहरुमा समेत उडान प्रारम्भ गर्ने जापनको ओसाकामा २९ अगष्ट २०१९ देखि उडान सुरु र नरिता एयरपोर्टमा उडान सञ्चालनका लागि इन्धन सम्झौता, लाइन मर्मत सम्झौता, स्लट लिने कार्य तथा ग्राउन्ड हेयान्डलिङ सम्झौताको कार्य गरिरहेको छ । साउदी अरेबिया, दक्षिण कोरिया र ग्वान्झाउमा उडान गर्न तयारी कार्य भइरहेको समेत बताइएको छ ।

संस्कृतितर्फ :- भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण गरिएको तथा पुनर्निर्माणसम्बन्धी कार्ययोजना परिमार्जन गरिएको छ । गत आवमा संस्कृति क्षेत्रसँग सम्बन्धित पनर्निर्माण, संग्रहालय निर्माणलगायतका २२ कार्यहरुमध्ये १५ वटाको सम्झौता सम्पन्न भएको पाँचवटाको आशय सूचना तयार गरिएको छ भने बाँकी कार्यहरुको लागत अनुमान तयारी मन्त्रालयले गरेको छ । राष्ट्रिय सांस्कृतिक संग्रहालय निर्माण गर्ने अवधारणापत्रमाथि छलफल भइरहेको तथा रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा सञ्चालन र सञ्चालनसम्बन्धी अवधारणापत्र तयार भएको छ । कीर्तिपुर, भक्तपुर र ललितपुरमा सम्पदा यात्राको रुट पहिचान गरिएको छ भने भक्तपुरमा गाइडहरुलाई तालिम सञ्चालन गरिएको छ ।

पर्यटन प्रवर्द्धनतर्फ :- मन्त्रालयले भिजिट नेपाल २०२० को अभियान सञ्चालनसम्बन्धी विविध कार्यहरु गरेको छ । विश्वका मुख्य ६ भाषामा वेबसाइट निर्माण तथा जापानी भाषामा एनटिबी डेमो वेबसाइट सुरु गरेको बताइएको छ भने सातवटा लाइफटाइमा एक्सपिरेन्स भिडियोहरु निर्माण र उपयोग गरिएको बताइएको छ । भारत र चीनसहित प्रमुख १० वटा स्रोत बजारहरुको पर्यटक आगमन प्रक्षेपणका आधारमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुको साथै प्रदेश सरकारको लागि बजेट निकासा गरिएको छ ।

भिजिट नेपाल २०२० को अभियान सञ्चालनसम्बन्धी नेपाली र अंग्रेजी दुवै न्युज पोर्टल र भिजिट नेपाल वेबसाइट सञ्चालन, समाचारका सामग्रीको प्रस्तुति, सोसल मिडियाको प्रमोसन गर्ने काम गरिएको छ । शिवशक्ति सर्किट र महायज्ञको पूर्वतयारी सम्पन्न तथा जनकपुरमा नेपाल भ्रमण वर्षको प्रचार कार्य सम्पन्न र नेपाल टेलिभिजनसँग एक वर्षका लागि सम्झौता भई कार्यक्रम प्रसारण गरिएको बताइएको छ ।

बेलायत, मलेसिया, दक्षिण कोरिया, बैंकक, चीन, भारत, फिनल्याण्ड र इटाली आदि देशमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुको साथै थाइल्याण्डको बैंककमा विभिन्न देशस्थित नेपाली राजदूतहरुसँग भ्रमण वर्ष २०२० का सम्वन्धमा छलफल भएको बताइएको छ । चीनको सिट्रिपमा डिजिटल अनलाइन प्रोमोसन गर्ने कार्य नोभेम्बरबाट सुरु गरिएको छ ।

मुलुकभरका घोषित नयाँ तथा स्थापित गन्तव्यहरुको विकास र प्रवर्द्धन ५५ वटाको ड्राफ्ट प्रोफाइल तयार गर्नुको साथै ४५ वटाको प्रोफाइल तयार गर्न तथ्यांक संकलन कार्य जारी रहेको बताइएको छ  । पर्यटन क्षेत्रको विकासको क्रममा सन्दकपुर, धनुषाधाम, इन्द्रसरोवर, पन्चासे, भादगाउँ र निग्लीहवाको क्रमशः ३५ प्रतिशत र राराको प्रतिशत काम सम्पन्न भएको छ ।

भारत तथा चीन लक्षित पर्यटक प्रवर्द्धन कार्यक्रम, भारतलगायत दक्षिण एसियाली स्रोत बजारहरुमा मनसुन पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । टीटीएफ अहमबाद (भारत), सिचुवान अन्तर्राष्ट्रिय ट्राभल एक्सपो (चीन), एसियन टुरिजम फेयर (बंगलादेश)मा पर्यटन मेला तथा कार्यक्रमहरुमा मन्त्रालयबाट सहभागिता जनाइएको छ ।

बीबीसी टप गियर्सका ३७ जना सञ्चारकर्मीहरुको परिचयात्मक भ्रमण तथा छायाँकनसम्बन्धी काम भएको बताइएको छ । मन्त्रालयले अभियान प्रवर्द्धक छनौट गरी प्रचारप्रसार तथा निजी क्षेत्रसँग नेपाल भ्रमण वर्षको सन्दर्भमा प्याकेजको लागि आह्वान गरेको छ । मन्त्रालयले पर्यटन सेटलाइट एकाउन्टको प्रारम्भिक अध्ययन स्टक एनालाइसेस कार्य सम्पन्न, सीबीएसको सहकार्यमा आन्तरिक पर्यटनसम्बन्धी घरधूरी सर्वेक्षणको प्रश्नावली तयार गरी पूर्वपरीक्षण सम्पन्न गर्नुको साथै युएनडब्लुटीओबाट विज्ञ सहयोग प्राप्त गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया