Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधितोपत्र बोर्डद्वारा नयाँ नीति लागू

धितोपत्र बोर्डद्वारा नयाँ नीति लागू


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले बुधबारदेखि जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ नीति कार्यान्वयनमा ल्याएको छ । अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा यो नीति लागू गरिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३ तथा बोर्डबाट जारी भएको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६मा भएको कानुनी व्यवस्थालाई अझ प्रभावकारीरुपमा कार्यान्वयन गर्न तथा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी काम कारबाहीलाई थप नियमित तथा व्यवस्थित गर्नका लागि यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

म्यानुअल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासअनुरुप फाइनान्सियल एक्सन टाक्स फोर्स तथा एसिया प्रशान्त समूह (एपीजी) को मापदण्डहरुलाई समेत आधार मानी तयार गरिएको बोर्डले जानकारी दिएको छ ।
यो व्यवस्था धितोपत्र व्यवसायीहरुको जोखिममा आधारित रहेको, धितोपत्र व्यवसायीको संरचनागत तथा अन्तर्निहित जोखिम तथा जोखिम व्यवस्थापनलाई रेटिङ स्केल एकदेखि पाँचको बीचमा गर्ने व्यवस्था गरिएको छ ।

धितोपत्र व्यवसायीको स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षणसम्बन्धी विषय समावेश गरिएको, धितोपत्र व्यवसायीहरुहरुबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैरस्थलगत जोखिम मूल्यांकन गर्ने व्यवस्था गरिएको तथा धितोपत्र व्यवसायीको गैरस्थलगत जोखिम मूल्यांकनबाट स्थलगत सुपरिवेक्षणको अवधि, क्षेत्र तथा मात्रा निर्धारण गर्ने व्यवस्था गरिएकोे छ ।

धितोपत्र व्यवसायीहरुको जोखिम मूल्यांकन गर्दा धितोपत्र व्यवसायीले प्रदान गर्ने वस्तु तथा सेवा, ग्राहकसम्बन्धी जोखिम, भौगोलिक क्षेत्रसम्बन्धी जोखिम, उच्चपदस्थ व्यक्तिसम्बन्धी जोखिम, वितरण माध्यमसम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनागत जोखिमका आधारमा गरिने जानकारी पनि बोर्डले दिएको छ ।

बोर्डका अनुसार जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागू भएपश्चात् बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीहरुको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित कानुनमा भएको व्यवस्थालाई अझ प्रभावकारीरुपमा अनुगमन एवं निरीक्षण गर्न तथा व्यवसायीहरुको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कामकारबाहीहरु थप नियमित तथा व्यवस्थित भई लगानीमैत्री तथा पारदर्शी धितोपत्र बजारको विकासमा टेवा पुुग्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया