Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग क्षेत्रमा १४ महिनामा ५८ अर्ब लगानी प्रतिबद्धता

उद्योग क्षेत्रमा १४ महिनामा ५८ अर्ब लगानी प्रतिबद्धता


काठमाडौं ।
कानुनी र प्रक्रियागत झन्झटका बीच पनि मुलुकको उद्योग क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिने गरेको छ । सोही क्रममा विदेशी उद्योगीहरुद्वारा एफडीआईस्वरुप १४ महिनाको अवधिमा ५८ अर्ब ३० करोड १३ लाख रुपैयाँबराबरको प्रतिबद्धता मुलुकको उद्योग क्षेत्रमा आएको छ । उद्योग विभागका अनुसार सो लगानी प्रतिबद्धतामध्ये सबैभन्दा बढी पर्यटनजन्य उद्योग र सबैभन्दा कम कृषि तथा वनजन्य उद्योगमा आएको हो ।

उक्त अवधिमा विदेशी लगानीकर्ताहरुले एफडीआईमार्फत पर्यटनजन्य उद्योगमा १७ अर्ब १७ करोड ७७ लाख तथा कृषि तथा वनजन्य उद्योगमा ५३ करोड ५० लाख लगानी प्रतिबद्धता जनाएका छन् भने सेवाजन्य उद्योगमा १३ अर्ब ७६ करोड ८० लाख ऊर्जाजन्य उद्योगमा ११ अर्ब ८२ करोड २६ लाख प्रतिबद्धता विदेशी लगानीकर्ताले जनाएका छन् । त्यसैगरी एफडीआईमार्फत विदेशी लगानीकर्ताहरुले सूचना प्रविधिजन्य उद्योगमा ११ अर्ब ६५ करोड ४४ लाख र उत्पादनजन्य उद्योगमा तीन अर्ब ३४ करोड ३५ लाख प्रतिबद्धता जनाएका छन् ।

उनीहरुले उक्त लगानी प्रतिबद्धता एक सय १९ वटा पर्यटनजन्य उद्योग, पाँचवटा कृषि तथा वनजन्य उद्योग, ८१ वटा सेवाजन्य उद्योग, पाँचवटा ऊर्जाजन्य उद्योग, ३७ वटा सूचना प्रविधिजन्य उद्योग, २४ वटा उत्पादनजन्य उद्योग गरी कुल दुई सय ७० वटा उद्योग स्थापना गर्नका लागि गरेका हुन् । उद्योग स्थापनासँगै विदेशी लगानीकर्ताहरुले ११ हजार नौ सय २८ जनालाई रोजगारी दिने प्रतिबद्धता समेत जनाएका छन् ।

२ महिनामा ७ अर्ब प्रतिबद्धता : यस्तै चालू आर्थिक वर्ष २०७७/०७८ को दुई महिनाको अवधिमा भने उद्योगमा एफडीआईस्वरुप विदेशी लगानीकर्तामार्फत सात अर्ब ४० करोड ५५ लाख लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ । विदेशी लगानीकर्ताहरुमार्फत ३२ वटा पर्यटनजन्य र १३ वटा सेवाजन्य उद्योग गरी कुल ४५ वटा उद्योगको लागि उक्त लगानी प्रतिबद्धता आएको हो । जसमध्ये पाँच अर्ब ४५ करोड ५५ लाख पर्यटनजन्य उद्योग र एक अर्ब ९५ करोड सेवाजन्य उद्योग स्थापना गर्ने भन्दै उनीहरुले लगानी प्रतिबद्धता जनाएका हुन् ।

यस्तै विदेशी लगानीकर्ताहरुले उद्योग स्थापनासँगै सात सय १८ जना पर्यटनजन्य उद्योगमा र पाँच सय जना सेवा उद्योगमा गरी कुल एक हजार दुई सय १८ जनालाई रोजगारी दिने समेत बताएका छन् । पछिल्लो समय भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एफडीआई वृद्धि गर्नको लागि राय/सुझाव माग गरेको छ ।

मन्त्रालयले विदेशी लगानी कसरी आकर्षित गर्न सकिन्छ भन्दै राय/सुझाव माग गरेको हो भने सरकारले विदेशी लगानी आकर्षित गर्न भन्दै एकल विन्दु सेवा केन्द्र समेत विभागको परिसरमा सञ्चालन गर्दै आएका छन् । स्वदेशी एवम विदेशी लगानीकर्ताहरु भने उद्योग दर्ता, स्थापना, सञ्चालन, लाभांश लैजानेलगायतका विषयमा कानुनी र प्रक्रियागत झन्झट रहेको बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया