Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी कामदार नेपाल फर्किए

विदेशी कामदार नेपाल फर्किए


काठमाडौं ।
सरकारले सहजीकरण गरेसँगै विभिन्न आयोजनामा कार्यरत विदेशी कामदार नेपाल फर्किएका छन् । विभिन्न आयोजनाले आयोजना प्रभावित बन्ने भन्दै काम गर्नका लागि विदेशी कामदारलाई नेपाल आउन दिन आग्रह गरेका थिए । यसरी सरकारले सहजीकरणसँगै आयोजनामा कार्यरत पुराना कामदारहरुको साथै नयाँ कामदारहरु समेत काममा फर्किन पाएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।

विभागका प्रवक्ता मणिनाथ गोपले आयोजनामा पहिलेदेखि नै कार्यरत तथा केही नयाँ गरी करिब दुई सय जनाको संख्यामा विदेशी कामदार नेपाल आएको जानकारी दिएको छ । ‘आयोजना प्रभावित बनेको भन्दै सम्बन्धित पक्षले कामदार आउन वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका थिए भने सरकारले त्यसलाई अघि बढाएको थियो’, प्रवक्ता गोपले भने, ‘सोसँगै विदेशी कामदारलाई हामीले श्रम स्वीकृति प्रदान गरेका हौँ ।’

यसरी पुराना भने पहिलेदेखि नै आयोजनामा कार्यरत कामदार थिए भने नयाँको हकमा भने विमान चालक, चिकित्सकलगायतका रहेका छन् । सरकारले भिसा नीतिमा कडाइ गरेसँगै विदेशी कामदार स्वदेश आउन पाएका थिएनन् तर आयोजना प्रभावित बनेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा मन्त्रालय लगायतले कामदार आउन दिन सरकारसमक्ष आग्रह गरेसँगै त्यो सम्भव भएको हो । यद्यपि अहिले आएका तथा आउने क्रममा रहेका कामदार भने सरकार र सम्बन्धित पक्षसँगको समन्वयमा आएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले परराष्ट्र र अन्य मुलुकका दूतावासको समन्वयबीच विदेशी कामदार नेपाल आएको बताइन् । ‘सबै विदेशी कामदारलाई नेपाल आउन दिएका छैनौं अर्थात् हामी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयअनुरुप अगाडि बढेका छौँ’, सहसचिव लम्सालले आर्थिक दैनिकसँग भनिन्, ‘त्यसैले गर्दा सामान्य अवस्थामा जसरी नेपालमा विदेशी श्रमिकलाई अहिले भित्रिने अवस्था भने रहेको छैन ।’

आयोजनामा कामदारहरु फर्किएसँगै यसको प्रगति भएको बताइएको छ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आउनुपर्ने कामदार पछिल्लो समय आएको बताइएको छ । विमानस्थल प्रमुख विनेश मुनकर्मीले ६४ जना चिनियाँ कामदार आएको तथा बाँकी कामदार भने आउने क्रममा रहेको बताए । ‘पछिल्लो समय १६/१७ जनाको संख्यामा आएका थिए भने २६ जना कामदारले नेपाल आउनको लागि भिसा पाइसकेका छन्’, उनले भने, ‘अब विस्तारै आवश्यक कामदारहरु आयोजनामा आउनेछन् ।’

उनले आयोजनामा हाल एक सय ८० जना चिनियाँ कामदार र एक सय २० जना नेपाली कामदारले काम गरिरहेको बताए । त्यसैगरी रसुवागढी जलविद्युत् अयोजनामा कार्यरत भारत र चीनमा रोकिएको व्यवस्थापक तथा कामदार समेत आउने क्रममा रहेको बताइएको छ । यद्यपि भारतीय कामदारलाई भने नेपालमा आउनको लागि भिसा आवश्यक छैन भने ठूलो आयोजनामा कार्यरत भारतीयलाई भने श्रम इजाजत आवश्यक रहेको छ ।

पछिल्लो समय आयोजनाले ३२ जना भारतीयलाई आयोजनामा आउन दिनको लागि सरकारसँग माग गरेको जनाएको छ । आयोजनामा सिभिलतर्फ ८८ जना चिनियाँ कामदार कार्यरत रहेका छन् भने आयोजनामा बन्दाबन्दीमा करिब सात सय नेपाली र ८८ जना चिनियाँ कामदार कार्यरत थिए । हवाइ वा स्थलमार्ग जुनसुकै मार्गबाट विदेशी श्रमिकहरु काम गर्नका लागि नेपाल आउँदा स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य प्रोटोकल भने सम्पूर्ण पूरा गर्नुपर्ने हुन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया