Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऔषधि उद्योगमा लगानी गर्न चिनियाँहरू उत्सुक

औषधि उद्योगमा लगानी गर्न चिनियाँहरू उत्सुक


काठमाडौं, पुस १३
नेपालमा औषधि उद्योगका क्षेत्रमा लगानी गर्न चिनियाँहरू उत्सुक रहेको पाइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको यूनान प्रान्तिय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङबीच भएको द्विपक्षीय भेटवार्तामा नेपाली र चिनियाँ उद्यमी व्यवसायीबीच नेपाल–चीन आर्थिक व्यावसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानीसम्बन्धी नीतिगत व्यवस्थालगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट नेपालमा औषधि उद्योगका क्षेत्रमा रहेको सम्भाव्यता अध्ययन गर्न भ्रमण भएको स्पष्ट पारिएको थियो ।

महासंघका उपाध्यक्ष प्रधानले नेपालमा यतिखेर लगानीका लागि सबैभन्दा उपयुक्त समय भएकाले चिनियाँहरूलाई लगानीका लागि आग्रह गरे । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसावले समेत सबैभन्दा बढी लगानी गरिरहेको छिमेकी राष्ट्र चीनबाट अझै धेरै लगानीको अपेक्षा गरेको स्पष्ट पारे । नेपालमा खासगरी औषधि उद्योगका क्षेत्रमा लगानीको सम्भाव्यता अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डलसमक्ष महासंघका तर्फबाट औषधि, सिमेन्ट, कृषि, पूर्वाधार (सडक, पुल, टनेल, एयरपोर्ट), पर्यटन, ऊर्जा, सूचना प्रविधि, उत्पादनमूलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरिएको थियो ।

छलफलमा वातावरणीय हिसाबले समेत नेपालमा औषधि उद्योग, अस्पताल लगायत स्वास्थ्य क्षेत्रमा चिनियाँ लगानी र प्रविधि आउन सके दुवै देश लाभान्वित हुने उनीहरुको धारणा थियो । भेटमा चिनियाँ पक्षले नेपाल र युनान प्रान्तबीचको आपसी सम्बन्ध थप प्रगाढ बन्दै गएको बताएका थिए । युनान प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पुँजीमार्फत नेपालको विकासमा सहयोग गर्न तीव्र इच्छा रहेको उनीहरुको भनाइ थियो । प्रतिनिधिमण्डलका नेता एवं चीनको युनान प्रान्तीय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङले नेपालको विकासमा सहयोग गर्न आतुर रहेको स्पष्ट पारे ।

यस पटकको भ्रमण नेपालमा औषधि उद्योग क्षेत्रमा सहकार्यका सम्भाव्यता अध्ययन गर्न भएको स्पष्ट पार्दै यहाँबाट फर्केपछि त्यस विषयमा थप छलफल गरी परियोजना ल्याउने धारणा राखे । भेटवार्तामा महासंघका महानिर्देशक धरणीधर खतिवडा, पूर्व कार्यकारिणी समिति सदस्य प्रदीपमान वैद्य, महासंघको सदस्य संघ/संस्थाका प्रतिनिधिहरू, चीनसँग व्यापार व्यवसाय गरिरहेका नेपाली उद्यमी व्यवसायीहरू, महासंघका वरिष्ठ कर्मचारीहरू र प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो । चीनको युनान प्रान्तीय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङको नेतृत्वमा नेपाल भ्रमणमा आएको ७ सदस्यीय चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डलबीच शुक्रबार महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया