Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाढे सात करोडको अवैध सामान बरामद

साढे सात करोडको अवैध सामान बरामद


पोसकान्त पोखरेल
बुटवल ।
विगतका दुई आर्थिक वर्षहरु र चालू आर्थिक वर्षको तीन महिनामा सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर, रुपन्देहीले सात करोड ५३ लाख ९१ हजार नौ सय छ रुपैयाँबराबरको अवैध मालसामान बरामद गरेको छ । गणका गणपति तथा सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलका अनुसार कार्यालयले बरामद गरेको उक्त अवैध सामानहरु आर्थिक वर्ष २०७५/७६ मा दुई करोड २३ लाख ९० हजार ३७ रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा चार करोड ३६ लाख २२ हजार दुई सय १४ रुपैयाँ र चालू आर्थिक वर्षको तीन महिनामा ९३ लाख ७९ हजार पाँच सय ५५ रुपैयाँबराबरका रहेका छन् ।

कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामा नं. २७ गण हेडक्वार्टरसहित मातहतका कार्यालयहरुबाट विभिन्न समयमा लत्ताकपडाहरु, मलखाद, मटरदाल, विभिन्न किराना सामानहरु, ब्रोइलर कुखुरा, सीसी क्यामेरा, स्टेसनरी सामग्रीहरु, मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइल सेटहरु, हार्डवेयरका सामानहरु, चिनी, चाँदीका गरगहना, ब्रोइलर कुखुराका चल्लाहरु, सुर्तीजन्य पदार्थ, इलेक्ट्रिक सामग्रीहरु, मोर्टस पाट्र्सका सरसामान, पेन्ट्स, मोबाइलका स्क्रिनहरु, फेन्सी तथा कस्मेटिक्स सामानहरु, सालको काठ, विभिन्न प्रकारका औषधिहरु, डीएक्सएनका सामानहरु, युरिया मल, ब्याट्री, मोबिल र नल्का, रोलरको टायर पिट पाट्र्सहरु, एलईडी टर्च लाइट भाँडावर्तनहरु, पेन्ट, ब्रसलगायतका सामग्रीहरु बरामद गरी आवश्यक प्रक्रियाका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको पोखरेलले जानकारी गराए ।

कोरोना भाइरस संक्रमणको महामारी र सरकारले गरेको लकडाउनमा पनि भन्सार छलेर अवैध रुपमा सामान ओसारपसार गर्ने गतिविधिहरु नरोकिएको जानकारी गराउँदै उपरीक्षक पोखरेलले खुल्ला सीमानाका कारण बढ्नसक्ने अवैध गतिविधिलाई नियन्त्रण गर्न दुई/तीन लेयर्स बनाएर सीमा र भित्री क्षेत्रहरुको चेकजाँचमा कडाइ गरिएको बताए । उनले भने, ‘गत आर्थिक वर्ष अवैध सामान बरामद तथा नियन्त्रणमा हामीले राम्रै सफलता पायौँ ।

चालू आर्थिक वर्षको तीन महिनामा देखिएको संकेतले यो आर्थिक वर्षमा पनि अवैध सामान ओसारपसार नियन्त्रण तथा बरामद गत वर्षको सेरोफेरोमा पुग्ने अनुमान छ ।’ मुख्य नाकामा कडाइ हुँदा भित्री सडक र खेतका आलीहरुको प्रयोग गरेर अवैध रुपमा भारतबाट सामान ल्याउने क्रम बढेको छ । कतिपय अवैध रुपमा सामान ओसारपसार गर्नेहरु सुरक्षा कडाइले डराए पनि पुर्खौली पेशाको रुपमा अंगालेकाहरु डरका बाबजुद पनि अवैध ओसारपसारमा सक्रिय देखिन्छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया