Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसूचीकृत कम्पनीहरुको बजार पुँजीकरण मूल्य बढ्यो

सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण मूल्य बढ्यो


काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण मूल्य बढेको छ । नेपाल राष्ट्र बैकका अनुसार सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण चालुु आर्थिक बर्षको पहिलो महिनामा बढेर १८ खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो । २०७७ असार मसान्तमा भने यस्तो बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।

चालू आवको साउन मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या भने दुई सय आठ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, चार/चार वटा होटल तथा व्यापारिक संस्था र पाँच अन्य समूहका रहेका छन् । राष्ट्र बैंकका अनुसार २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १२ रहेको थियो । सोही आधारमा २०७६ साउन मसान्तमा १२ सय २४ विन्दु रहेको नेप्से सूचकांक २०७७ साउनमा १३ सय ९१ दशमलव पाँच पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकांक १३ सय ६२ दशमलव चार रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७८ दशमलव तीन प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा पाँच दशमलव दुई प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा तीन दशमलव पाँच प्रतिशत, होटेलको हिस्सा एक दशमलव एक प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव तीन प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११ दशमलव छ प्रतिशत रहेको छ ।

चालू आवको पहिलो महिनामा सूचीकृत चार अर्ब ८३ करोड सेयरको चुक्ता मूल्य भने चार खर्ब ७३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा दुई अर्ब ९३ करोडबराबरको बोनस सेयर, दुई अर्ब बराबरको डिबेन्चर र एक अर्ब २२ करोड रुपैयाँबराबरको साधारण सेयर गरी कुल छ अर्ब १५ करोड रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६३ करोड ८६ लाखबराबरको साधारण सेयर निष्काशन गर्न अनुमति दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा फाइनान्स कम्पनीहरुको मात्र कुल चुक्ता पुँजी मात्र चालू आवको पहिलो महिनामा तीन खर्ब ३० अर्ब ८० करोड ६० लाख रुपैयाँ पुगेको छ । यसअवधिमा वाणिज्य बैंकहरुको मात्र कुल चुक्ता पुँजी दुई खर्ब ८४ अर्ब ८१ करोड १० लाख रुपैयाँ पुगेको छ भने विकास बैंकहरुको कुल चुक्ता पुँजी ३१ अर्ब ९६ करोड ४० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षमा विकास बैंकहरुको कुल चुक्ता पुँजी ३७ अर्ब ५६ करोड १० लाख रुपैंयाँ रहेको भए पनि धेरै वटा विकास बैंकहरु वाणिज्य बैंकहरुसँग प्राप्तिमा गएका कारण पनि विकास बैंकहरुको कुल चुक्ता पुँजी घटेको हो ।

यस अवधिमा फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी भने १४ अर्ब तीन करोड १० लाख रुपैयाँमा सीमित भएको छ । वाणिज्य बैंकहरुको चुक्ता पुँजी बढेको अवस्थामा विकास बैंक र फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी विगतका वर्षहरुको तुलनामा घट्नुको एउटै कारण मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भई एकीकृत रुपमा कारोबार गर्नु रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया