Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन कम्पनीहरुको रोक्का रहेको सेयर कारोबार खुल्ला

तीन कम्पनीहरुको रोक्का रहेको सेयर कारोबार खुल्ला


काठमाडौं ।
तीनवटा कम्पनीहरुको रोक्का रहेको सेयर कारोबार खुल्ला भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेका अनुसार मंगलबारबाट यसअघि वार्षिक नवीकरण शुल्क नबुुझाएका कारण रोक्का गरिएका तीन कम्पनीहरुको सेयर कारोबार खुल्ला गरिएको हो । कारोबार खुल्ला गरिएका कम्पीहरुमा नेपाल हाइड्रो डेभलर्पस कम्पनी लिमिटेड, हिमाल दोलखा पावर लिमिटेड र जोशी हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यसअघि साताको पहिलो कारोबार दिन आइतबार नेप्सेले वार्षिक नवीकरण शुल्क नबुुझाएको भन्दै एकै पटक २५ वटा कम्पनीहरुको सेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेका अनुसार कात्तिक २ गते आइतबारसम्म नवीकरण शुल्क नबुुझाएको आधारमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स, मल्टीपर्पोज फाइनान्स, नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनी, सम्झना फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल हाइड्रोपावर डेभलपर लिमिटेड, अरुण वनस्पति उद्योग, विराट सुज, बुुटवल स्पाइनिङ मिल्स, फ्युलर हिमालयन लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, हरिसिद्धि इँट्टा तथा टायल कारखाना लिमिटेड, हिमालय डिष्टिलरी लिमिटेड, ज्योति स्पाइनिङ मिल्स लिमिटेड, नेपाल बिटुुमिन एण्ड ब्यारेल उद्योग, रघुपति जुुट मिल्स, भृकुुटी पल एण्ड पेपर लिमिटेड, श्रीराम सुगर मिल्स, नेपाल वेलफेयर कम्पनी लिमिटेड, नेपाल ट्रेडिङ लिमिटेड, याक एण्ड यती होटल र नेपाल फिल्म डेभलपमेन्ट कम्पनीको सेयर कारोबार रोक्का गरिएको थियो ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार वार्षिक नवीकरण शुल्क नबुुझाएको आधारमा ती कम्पनीहरुको सेयर कारोबार रोक्का गरिएको थियो । नेप्सेका अनुसार चुक्ता पुँजी ५० करोड रुपैयाँसम्म रहेको कम्पनीको वार्षिक नवीकरण शुल्क ५० हजार रुपैयाँ रहेको छ भने चुक्ता पुँजी ५० करोड रुपैयाँभन्दा माथि रहेको संस्थाको हकमा वार्षिक नवीकरण शुल्क एक लाख रुपैयाँ रहेको छ ।

यीबाहेक डिबेञ्चर र म्युुचुअल फण्ड अर्थात् सामूहिक लगानी कोषको वार्षिक नवीकरण शुल्क भने चुक्ता पुँजी ५० करोड रुपैयाँसम्मको हकमा २५ हजार र चुक्ता पुँजी ५० करोड रुपैयाँभन्दा माथिको हकमा ५० हजार रुपैयाँ तोकिएको छ । नेप्सेले वार्षिक नवीकरण शुल्क नेप्सेको नाउँमा ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा गरिदिन आग्रह गरेको छ ।

नेप्सेका अनुसार तोकिएको समयभित्रमा नवीकरण शुल्क नबुुझाएमा वार्षिक नवीकरण शुल्कको १० प्रतिशतको दरले जरिवाना लाग्नेछ । नेप्सेमा हाल दुई सय आठवटा कम्पनीहरु सूचीकृत रहेका छन् । जसमध्ये एक सय ४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, चार÷चार वटा होटल तथा व्यापारिक संस्था र पाँच अन्य समूहका रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया