Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारी ठगी न्यूनीकरण गर्न विभागको दुई उपाय

वैदेशिक रोजगारी ठगी न्यूनीकरण गर्न विभागको दुई उपाय


काठमाडौं, पुस १४
वैदेशिक रोजगार विभागले अंग्रेजी नयाँ वर्षदेखि कामदार छनौट प्रक्रिया अनलाइनबाट गर्ने भएको छ । उसले ठगी न्यूनीकरणको लागि अनलाइनबाट कामदार छनौट तथा आवश्यक कामदारबारे जानकारी राख्न लागेको बताएको छ । विभागका निर्देशक भोलानाथ गुरागाईंका अनुसार कामदार छनौट तथा श्रम स्वीकृतिको विषयमा अनलाइनबाटै जानकारी लिन सुरु गरिनेछ । ‘यसका लागि हामी अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ देखि अनलाइनको परीक्षण गर्नेछौं र त्यसको केही समयपछि यसलाई निरन्तरता दिने छौं’, उनले भने ।

अनलाइन प्रविधिलाई एम्बेस्सी अटेन्सन अर्थात् दूतावास ध्यानाकर्षण मोडल र कामदार छनौट मोडल दिएको छ । दूतावास ध्यानाकर्षण मोडलअन्तर्गत विदेशमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणित गरेपछि सो फाइल अर्थात् इलोक्ट्रोनिक कपी सिस्टममा अपलोड गर्नेछन् । विदेशमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणित गरेको विषय सिस्टममा अपलोड गरेसँगै सो विषय विभागलाई थाहा हुनेछ । ‘यसका लागि हामीले दूतावाससँग छलफल गरी अघि बढेका हौं’, उनले भने, ‘यी सबै प्रक्रिया अनलाइनबाटै हुन्छ । अनलाइनबाट हुँदा छिटो छरितो र सहज हुन्छ ।’

यता मेनपावरले पनि कामदार छनौट तथा विज्ञापन गर्दा विभागबाट पूर्वस्वीकृति लिनु आवश्यक छ । मेनपावरले गरेको विज्ञापन विभागको साइडमा समेत अपलोड गरिने निर्देशक गुरागाईंले बताए । जसले गर्दा वैदेशिक रोजगारीको नाममा भएको ठगी न्यूनीकरण गर्न सहज हुने विभागको भनाइ छ । कामदार छनौटको क्रममा हुने अन्तर्वार्ता, स्वास्थ्य परीक्षणलगायतका विषयमा मेनपावरले सिस्टममार्फत नै विभागलाई जानकारी गराँउछ । यसले मेनपावर व्यवसायी तथा व्यक्तिहरु विभागसम्म आउन नपर्नुको साथै कागजात बोक्ने झन्झटबाट मुक्त हुने उनले बताए । यसबाट मेनपावर व्यवसायी विभाग आइरहनुपर्ने अवस्थाबाट मुक्त हुनेछन् ।

विमागले कामदार छनौट भए/नभएको विषयमा कामदारलाई सन्देश पठाई जानकारी प्रदान गर्ने जनाएको छ । ‘हामीले मोबाइल वा इमेलमार्फत कामदारलाई छनौट भए/नभएको विषयमा जानकारी पठाउछौं’, उनले भने, ‘यसबाट युवाहरु छनौट भए/नभएको जानकारी प्राप्त सोहीअनुसार आवश्यक तयारी गर्न सक्नेछन् ।’

छनौट नभएका कामदारको हकमा भने मेनपावरले भिसा प्रोसिसङको लागि भर्पाइसहित पासपोर्ट फिर्ता गर्नुपर्ने हुन्छ । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न तथा यस क्षेत्रमा भएको विकृति विसंगतिलाई कमी दिने प्रविधिमैत्री उपायहरु अपनाउन लागेको विभागले जनाएको छ । विभागले पछिल्लो समय विदेशमा आवश्यक कामदारको विषयमा समेत सिस्टमबाट जानकारी दिने गरेको छ । कुन–कुन मुलुकका के–कस्ता कामको लागि डिमान्ड आएको छ सो विषय विभागको वेबसाइटमा हेर्न सकिनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया