Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारद्वारा स्टार होटलको वर्गीकरण, एक तारेदेखि पाँचतारे डिलक्सका सुविधा सार्वजनिक

सरकारद्वारा स्टार होटलको वर्गीकरण, एक तारेदेखि पाँचतारे डिलक्सका सुविधा सार्वजनिक


काठमाडौं, पुस १६
सरकारले एकतारेदेखि पाँचतारे डिलक्स होटलको वर्गीकरण गरेको छ । नेपाल भ्रमण वर्ष सन् २०२० सुरु भएसँगै सरकारले होटलको वर्गीकरण गर्दै त्यसले दिने सुविधा पनि सार्वजनिक गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी एक तारेदेखि पाँचतारे डिलक्स होटलले दिनुपर्ने सुविधा किटान गर्दै होटेलको नाम नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएको बोर्ड राख्नुपर्ने र कति स्टारको हो, त्यो पनि खुलाउनुपर्ने जनाएको छ । साथै सबै होटलमा सम्भव भएसम्म नेपाली कामदार राख्नुपर्ने पनि राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

पर्यटन मन्त्रालयले होटल, लज, रेष्टुराँ, बार तथा पथप्रदर्शक नियमावली, २०३८ को नियम ५ को उपनियम २ ले दिएको अधिकार प्रयोग गरी होटल, रिसोर्ट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एण्ड ब्रेकफाष्ट (बीएण्डबी)हरुको वर्गीकरण र मापदण्ड निर्धारण गरेर राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार एक तारा, दुई तारा, तीन तारा, चार तारा, पाँच तारा र पाँच तारा डिलक्स होटलले के–के सुविधा अनिवार्य रुपमा दिनुपर्ने हो त्यो समेत खुलाइएको छ । सूचनाअनुसार एकपटक तारा लिएका होटलहरुले प्रत्येक पाँच वर्षमा पुनः आफ्नो होटलको पर्यटन विभागबाट अनुगमन गराएर सुविधाहरु अद्यावधिक रहे/नरहेको जाँच गराउनुपर्ने छ र त्यसपछि मात्र नवीकरण गर्नुपर्नेछ । नयाँ मापदण्ड नयाँ बन्ने होटलहरुका लागि मात्र लागू नभई यही पुस ७ गते राजत्रपमा सूचना प्रकाशित हुनुअगाडि सञ्चालनमा रहेका होटलहरुले पनि छ महिनाभित्र राजपत्रमा उल्लेख गरिएका मापदण्ड पूरा गर्नैैपर्नेछ । यसअघि होटलको मापदण्ड २०७० साल कात्तिक ४ गते प्रकाशित गरिएको थियो । नयाँ मापदण्ड सार्वजनिक भएपछि २०७० सालको मापदण्ड खारेज भएको छ ।

सरकारले सार्वजनिक गरेको नयाँ मापदण्डअनुसार सबै तारे होटलले प्रवेशद्वारमा स्पष्ट देखिने गरी नेपाली तथा अंग्रेजी भाषामा नाम लेख्नुको साथै होटलको कागजातमा पनि ती दुवै भाषामा होटलको नाम लेख्नुपर्नेछ । सोही बोर्ड र कागजमा ताराको स्तर खुलाइएको हुनुपर्नेछ । यसअघि स्टार होटलको बोर्ड तथा कागजातमा अंग्रेजीमा मात्र नाम उल्लेख गरिएको छ ।

तारे होटलको नयाँ मापदण्डअनुसार एक तारे होटलमा कम्तीमा पाँच वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङको सुविधा हुनुपर्ने छ । दुई तारे होटलमा दश वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङको सुविधा हुनुपर्नेछ भने तीन तारे होटलमा १५ वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङको सुविधा हुनुपर्नेछ । यस्तै, चार तारे होटलमा २० वटा, पाँच तारे होटलमा २५ वटा र पाँच तारे डिलक्स होटलमा ४० वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङको सुविधा हुनुपर्नेछ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार तीन तारेसम्मका होटलले होटल परिसर वा पैदल दूरीमा सवारीसाधन पार्किङ गर्न सकिने व्यवस्था मिलाएको हुनुपर्नेछ । चार तारे वा सोभन्दा माथिका होटलले आफ्नै परिसरमा मात्र पार्किङको व्यवस्था मिलाउनुपर्नेछ । चार तारे र सोभन्दा माथिका तारे होटलका आफ्नै दुईवटा सुविधाजनक सवारीसाधन हुनुपर्नेछ । पहुनालाई होटलसम्म वा होटलबाट बसपार्क र एयरपोर्टसम्म जान आउनको लागि भने सबै तारे होटलले अनिवार्य रुपमा सवारीसाधनको व्यवस्था गर्नुपर्नेछ । सबै तारे होटलले आफ्ना गेष्टका बहुमूल्य वस्तुहरु राख्नको लागि रिसेप्सननजिकै सेफ डिपोजिट लकरको व्यवस्था गर्नुपर्नेछ । तीन तारेमाथिका होटलले भने प्रत्येक कोठामा नै त्यस्तो सुविधा उपलब्ध गराउनुपर्नेछ ।

यस्तै, चार तारे, पाँच तारे र पाँच तारे डिलक्स होटलले कम्तीमा ३० वटा देशको झण्डा राख्नको लागि पोलहरुको व्यवस्था गरेको हुनुपर्नेछ । एकदेखि तीन तारे होटललाई भने त्यस्ता पोल राख्न अनिवार्य गरिएको छैन । स्वेच्छाले उनीहरुले त्यस्ता पोलहरु राख्न भने पाउनेछन् । सबै किसिमका तारे होटलहरु चौबीसै घण्टा सञ्चालनमा रहनुपर्नेछ । अर्थात् जुनसुकै समयमा ग्राहक जान र निस्किन पाउने व्यवस्था तारे होटलहरुले गर्नुपर्नेछ । राति भइसकेको कारण यी होटल बन्द भयो भन्न पाइनेछैन ।

सरकारले सार्वजनिक गरेको नयाँ मापदण्डअनुसार चार तारे, पाँच तारे र पाँच तारे डिलक्स होटलहरुमा भवन तथा अन्य संरचनाले जग्गाको कुल क्षेत्रफलको बढीमा ४५ प्रतिशत भूभाग मात्र ओगटेको हुनुपर्नेछ । एक, दुई र तीन तारे होटलका लागि उक्त व्यवस्था अनिवार्य गरिएको छैन । तर, सबै किसिमका तारे होटलले वातावरण संरक्षणसम्बन्धी प्रचलित कानुनबमोजिम वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भएको हुनुपर्नेछ ।

सबै किसिमका तारे होटलले गेष्ट आएको एक मिनेटभित्र नमस्कारसहितको अभिवादन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । त्यस्तै सबै तारे होटलले पत्रपत्रिका तथा पर्यटकसम्बन्धी जानकारीमूलक सामग्री गेष्टका लागि उपलब्ध गराउनुपर्नेछ । वाइफाई पनि सर्वसुलभ तरिकाले उपलब्ध गराउनुपर्नेछ । होटलमा धर्मअनुसारका प्रार्थना स्थलको व्यवस्था गर्नुपर्नेछ । एकदेखि तीनतारेसम्मका होटललाई भने त्यो व्यवस्था अनिवार्य गरिएको छैन । भुइँतलासहित तीन तला भएको होटलमा लिफ्टको व्यवस्था गर्नुपर्नेछ । तीन तारेसम्मका होटलका लागि भने उक्त व्यवस्था अनिवार्य छैन । सबै तारे होटलले चौबीसै घण्टा सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार सबै तारे होटलले सीसीटीभीको व्यवस्था गरेको हुनुपर्नेछ र त्यसको रेकर्ड छ महिनासम्म सुरक्षित राख्नुपर्नेछ । सुरक्षा प्रयोजनका लागि गेष्टको लगेजलाई प्रविधियुक्त उपकरणले जाँच गर्नुपर्नेछ । तर तीन तारेसम्मका होटललाई यो व्यवस्था अनिवार्य गरिएको छैन । होटलमा प्रवेश गर्ने गाडी स्क्यानिङको व्यवस्था गर्नुपर्नेछ । चार, पाँच र पाँच तारे डिलक्स होटलले मात्र अनिवार्य रुपमा त्यस्तो व्यवस्था गर्नुपर्नेछ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार कुन तारे होटलको कतिवटा सुत्ने कोठा हुनुपर्ने पनि मादपण्ड बनाएको छ । सूचनाअनुसार एक तारे होटलमा २० वटा, दुईतारेमा ४० वटा, तीनतारेमा ६० वटा, चारतारेमा ८० वटा, पाँचतारेमा एक सयवटा र पाँचतारे डिलक्समा एक सय ५० वटा सुत्ने कोठा हुनुपर्नेछ । काठमाडौं उपत्यकाबाहिरका होटलमा भने ताराअनुसार क्रमशः १५ वटा, ३० वटा, ४५ वटा, ६० वटा, ८० वटा र एक सयवटा कोठा हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

नयाँ मापदण्डमा होटलको कोठाको क्षेत्रफल, एसी, फोन सुविधा, कोठाको साँचो, विद्युतीय उपकरण र चार्जिङ, विनिमय दर, ट्राभल डेक्स, बार/लाउन्ज, शौचालय, होटलको प्रमाणपत्र, लबीको क्षमता, मर्मतसम्भार, पानीको व्यवस्था, आकाशेपानी भण्डारणको व्यवस्था कस्तो हुनुपर्ने पनि उल्लेख गरिएको छ । नयाँ व्यवस्थामा होटलको बेडमा राखिने तकिया, तन्दा, टावेल (तौलिया), भित्ता र सिलिङ्गको अवस्था कस्तो हुनुपर्ने भनेर किटान गरिएको छ । यस्तै, प्रत्येक तारे होटलले नेपाली खानाको मेनु पनि राखेको हुनुपर्नेछ । सबै तारे होटलमा नेपाली रैथाने खानाको परिकार २५ प्रतिशत उपलब्ध गराउनुपर्नेछ । नेपालमा उत्पादन हुने खाद्यान्नलाई प्राथमिकता दिनको लागि त्यस्तो व्यवस्था गरिएको पर्यटन मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया