Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयही महिना काँगेल विमानस्थल सञ्चालनमा आउने

यही महिना काँगेल विमानस्थल सञ्चालनमा आउने


महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा रहेको काँगेलडाँडा विमानस्थलमा पुनः उडानपूर्व इन्जिनियरसहितको टोलीले निरीक्षण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर प्रदेश सांसद उत्तमकुमार बस्नेत, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईसहितको टोलीले बुधबार उक्त विमानस्थलको निरीक्षण गरेको हो ।

करिब पाँच वर्षदेखि पूर्णरूपमा बन्द रहेको विमानस्थलको निरीक्षणपछि बुधबारदेखि नै मार्किङको काम सुरु भएको प्रदेश सांसद उत्तमकुमार बस्नेतले जानकारी दिए । २०५२ सालमा निर्माण सुरु भएको विमानस्थलमा २०६२/०६३ देखि उडान सेवा सुरु भएको थियो । तर २०७२ सालसम्म नेपाल एयरलायन्स र तारा एयरलायन्सले पनि उडान भरेको भए पनि त्यसयता भने उडान सेवा पूर्णरूपमा बन्द भई विमानस्थल गौचरणमा परिणत भएको थियो । विमानस्थलको केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले समेत निरीक्षण गरेका थिए ।

उक्त विमानस्थललाई सञ्चालनको लागि जिल्लाका संघीय सांसद हेमकुमार राई, प्रदेश सांसद उत्तमकुमार बस्नेत, नेकपा प्रदेश १ संसदीयदलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको बारम्बार ध्यानकर्षण गराउने काम गरेका थिए । यस्तै पर्यटन मन्त्री योगेश भट्टराईले कात्तिक २१ गते विमानस्थलको निरीक्षण गर्दै मंसिर दोस्रो साता उडान सेवा सुरु गर्नेगरी तयारी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही प्रतिबद्धताअनुसार नेपाल एयरलायन्सको विमानले उडान भर्ने सहमति भएपछि नेपाल नागरिक उड्डयान प्राधिकरणका इन्जिनियरको टोलीले विमानस्थलको स्थलगत निरीक्षण गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताए । गाउँपालिका अध्यक्ष राईको सक्रियतामा मंसिर तेस्रो हप्तादेखि नेपाल वायु सेवा निगमको विमानले उडान भर्ने गरी नागरिक उड्ययन प्राधिकरणसँग सम्झौतासमेत भएको छ । विमानस्थलमा उडान सेवा सुचारु गराउन पहल गर्नुपर्ने भन्दै स्थानीयले बारम्बार माग गर्दै आएका थिए ।

हाल जिल्लामा रहेका चारवटा विमानस्थल मध्ये तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थल सञ्चालनमा छ भने स्याङ्बोचे विमानस्थलमा हेलिकोप्टरले कहिलेकाही उडान भर्दै आएका छन् । तर गाउँको बीचमा रहेको काँगेलडाँडामा भने पाँच वर्षदेखि यता कुनै पनि उडान भएको छैन । नेपालको सबैभन्दा बढी विमानस्थल भएको जिल्लाको सूचीमा रहेको सोलुखुम्बुमा अहिले महाकुलुङ गाउँपालिकाको गुदेलमा पुनः अर्को विमानस्थल निर्माणको लागि डीपीआर निर्माणको काम भइरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया