Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड महामारीको मारमा श्रमिक

कोभिड महामारीको मारमा श्रमिक


काठमाडौं ।
कोभिड १९ महामारीको मारमा श्रमिक परेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार महामारीको समयमा श्रमिकहरु सेवा सुविधा नपाएको तथा बेरोजगारी हुनुपरेको स्थिति रहेको छ । विभागका प्रवक्ता मणिनाथ गोपले महामारीको समयमा विभिन्न संघ/संस्था तथा उद्योगधन्दामा कार्यरत मजदुरहरु सेवा सुविधाबाट वञ्चित तथा रोजगारीबाट मुक्त हुनुपरेको बताए । ‘योसँगै श्रमिकहरु विभागसमक्ष आई आफ्नो समस्या समाधान गर्न आग्रह गर्ने गरेका छन्’, उनले भने, ‘हामीले उनीहरुको समस्या सुनी त्यसको समाधानको लागि पहल गरेका छौँ । कोभिड महामारीकै कारण श्रमिकहरु रोजगारमुक्त हुनपुगेको हुनसक्छन्, हामी दुवै पक्षलाई अर्थात् रोजगारदाता र श्रमिकको समस्या सुनि अघि बढ्छौँ ।’

पर्यटन क्षेत्रदेखि सिमेन्ट, बिस्कुटलगायतका उद्योगमा कार्यरत श्रमिकहरु तथा उत्पादन, निर्माण क्षेत्रमा काम गर्दै आएका लाखौँ श्रमिकहरु महामारीकै कारणबाट बेरोजगार हुनुपरेको थियो भने उनीहरुले सेवा सुविधा र रोजगारी प्राप्तिका लागि आन्दोलन समेत गर्ने बताएका थिए । पर्यटन लगायत विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरु भने बेरोजगार हुन पुगेसँगै रोजगारी तथा सेवा सुविधा प्राप्तिको लागि आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए ।

यसरी सेवा सुविधाबाट वञ्चित र बेरोजगारी भएसँगै श्रमिकहरु आफ्नो समस्या समाधानका लागि विभागमा आउने गरेको बताइएको छ भने चालू आर्थिक वर्षको चार महिना (साउनदेखि कात्तिक सम्म) को अवधिमा मात्र चार सय ३३ वटा सेवा सुविधा प्राप्त नगरेको, प्रतिष्ठानले रोजगारीबाट निकालेकोलगायतको श्रम विवाद भएको पाइएको छ भने १ सय ६३ वटा समस्याको समाधान गरिएको तथा २ सय ७० वटा उजुरी समाधान प्रक्रियामा रहेको विभागले जनाएको छ ।

महामारीको अवस्थामा मुलुकका विभिन्न स्थानमा रहेका प्रतिष्ठानहरुमा श्रमिकहरुको समस्या छ/छैन भनी विभागले अनुगमन समेत गरेको छ भने चार महिनाको अवधिमा ४ सय १७ वटा प्रतिष्ठान अनुगमन गरेको छ भने ३ सय ८७ वटा प्रतिष्ठानमा बालश्रमको निरीक्षण गरेको छ । यस्तै सोही अवधिमा विभिन्न प्रतिष्ठानमा १० वटा औद्योगिक दुर्घटना भइएको पाइएको छ भने दुर्घटनमा परी पाँच जनाको मृत्यु, चार जना घाइते र एक जनाको उपचार भइरहेको छ ।

मुलुकमा बेरोजगारी बढी रहे पनि दक्ष विदेशी कामदार भने कामका लागि नेपाल आएको विभागले जनाएको छ । विश्वका ८० भन्दा बढी मुलुकबाट नेपालमा काम गर्न आउने गरेका छन् । विशेष गरी भारत, चीन, जापान, अमेरिका, जर्मनीलगायतका मुलुकबाट आउने गरेको पाइन्छ । चार महिनाको अवधिमा ३ सय ६५ जना विदेशी नागरिकले नेपाल काम गर्नका लागि नयाँ श्रम स्वीकृति लिएका छन् भने ५ सय ८५ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गरेको पाइएको छ ।
यस्तै विभागका अनुसार सोही अवधिमा १९ वटा नयाँ श्रमिक आपूर्तिकर्ता संस्था दर्ता भएका छन् भने १ सय २६ वटा श्रमिक आपूर्तिकर्ता संस्था नवीकरण गरिएको छ भने चार महिनाको अवधिमा ५ सय ९ वटा संस्थाले श्रम अडिट गरेको पाइएको छ । यसैबीच प्रतिष्ठानमा काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए/नलिएको विषयमा भने विभागले अनुगमन नगरेको बताएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओे)ले केही समयअघि सार्वजनिक गरेको प्रतिवेदनअनुरुप नेपालमा कार्यरतमध्ये १६ लाखदेखि २० लाख युवाले रोजगार गुमाउने बताएको छ । प्रतिवेदनअनुरुप उत्पादन क्षेत्रमा चार लाख ६० हजार जना, निर्माण क्षेत्रमा चार लाख चार हजार जना, होलसेल तथा रिटेल ट्रेड क्षेत्रमा सात लाख ८० हजार जना, यातायात तथा स्टोरेज श्रेत्रमा दुई लाख ११ हजार जना, आवास तथा फूड सर्भिस क्षेत्रमा ६२ हजार जना र अन्य विविध क्षेत्रमा ८० हजार जनाले रोजगारी गुमाउने बताएको थियो ।

महामारीका कारण बढ्दो बेरोजगार समस्या र उद्योग तथा प्रतिष्ठानहरु राम्रोसँग सञ्चालन हुन नसक्दा रोजगारदाता र श्रमिकहरु समस्यमा पर्न गएको देखिन्छ । अझै प्रमुख रुपमा श्रमिकहरु मारमा पर्ने गरेको मजदुर संगठनहरुले बताएका छन् । सरकारले महामारीका कारण बेरोजगार बनेकालाई सम्बोधन गर्न नसके समाजमा हत्या, हिंसा तथा आपराधिक गतिविधि बढ्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरु बताउँछन् । त्यसैले गर्दा सरकारले बेरोजगारीको समस्या चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने उनीहरुको भनाइ छ । सरोकारावालाहरु भने नेपालमा खेतीयोग्य जमिन प्रशस्त भएको हुँदा हालका बेरोजगार युवाहरुलाई कृषि क्षेत्रमा मात्र सरकारले लगाउन सकेमा मुलुकले समृद्धितर्फ अघि बढ्नसक्ने बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया