Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघको अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

महासंघको अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको १९औँ अध्यक्ष शेखर गोल्छा बनेका छन् । आइतबार महासंघको निर्वाचन परिणाम आएसँगै अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्षको निर्वाचन जितेका गोल्छा स्वतः अध्यक्ष बनेका हुन् । महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान छ । आइतबार अध्यक्ष भवानी राणाले गोल्छालाई पदभार हस्तान्तरण गरेकी हुन् । पदभार ग्रहणपछि अध्यक्ष गोल्छाले निर्वाचनको मनमुटाव बिर्सिएर एक भएर काम गर्न सबैसँग आग्रह गरेका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । उनी गोल्छापछि स्वतः अध्यक्ष बन्नेछन् । महासंघको ५४औँ साधारणसभा तथा अधिवेशनअन्तर्गत शनिबार भएको निर्वाचनमा ढकाल विजयी भएका हुन् । शनिबार बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन् ।

महासंघको निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४ दशमलव २६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५ दशमलव ७४ प्रतिशत मत प्राप्त गरे । ढकालले ३० प्रतिशत मतभार रहेको एसोसिएटमा ५ सय २२ मत प्राप्त गर्दा प्रधानले ३ सय ७५ मत पाएका थिए । यस्तै २० प्रतिशत मतभार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गरे । त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला/नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गरे । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकोले अध्यक्षबाहेक अन्य पदमा निर्वाचन भएको थियो । महासंघको १९औँ अध्यक्ष भने शेखर गोल्छा भएका छन् । हाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका ढकाल महासंघको २०औँ अध्यक्ष बन्नेछन् ।

वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए । महासंघको वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् । उनीहरु दुुवै जना प्रधान समूहका हुन् । वस्तुगत उपाध्यक्षमा निर्वाचित भएका अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमेशलाल प्रधानले ३७ मत मात्रै पाए । जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गरी विजयी हुँदा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गरे ।

यस्तै एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघई विजयी भएका छन् । संघाईले ४ सय ५५ मत ल्याए भने उनका प्रतिद्वन्द्वी सौरभ ज्योतिले ४ सय ३४ मत ल्याए । महासंघको जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा राजन श्रेष्ठ, तारानाथ अधिकारी, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्र भगत, कुविरकुमार श्रेष्ठ, कमानबहादुर खड्का विजयी भएका छन् । यस्तै, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी भए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया