Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहयोगका सम्झौता कार्यान्वयन गर्दै जाने चीनको प्रतिबद्धता

सहयोगका सम्झौता कार्यान्वयन गर्दै जाने चीनको प्रतिबद्धता


काठमाडौं ।
चीनले नेपालसँग विगतमा गरेको सहयोग सम्झौता अब क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाएको छ । कोभिड–१९ को कारण विगत भएका सम्झौता कार्यान्वयनमा नआइरहेको बेला आइतबार चीनको राज्यपरिषद्का सदस्य एवं रक्षामन्त्री वेई फेङहेले नेपालको भ्रमण गरी विगतमा भएको सहयोग सम्झौताको साथै कोभिड–१९ को महामारी नियन्त्रणमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण पूरा भएको झण्डै एक वर्षपछि उच्चस्तरमा पहिलोपटक भएको भ्रमणको मुख्य उद्देश्य नै चीनले विगतमा गरेका सहयोगको प्रतिबद्धताको अवस्थाबारे जानकारी गराउनु रहेको देखिएको छ । चीनले सहयोगको घोषणा गरे पनि सहयोगका कुनै कार्यक्रम कार्यान्वयनमा नआएको बारेमा नेपालभित्र कुरा उठिरहेको बेला रक्षामन्त्री वेईले विगतका सबै सम्झौता अब कार्यान्वयनमा जाने बताएका हुन् ।

नेपालका प्रधानमन्त्री केपी ओलीसँगको भेटमा रक्षामन्त्री वेईले सबै किसिमका पूर्वघोषित सहयोग र कोभिड–१९ नियन्त्रणका लागि थप सहयोग चीनले गर्ने बताएका हुन् । सन् २०१६ मा पहिलो पटक प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गर्दा वर्तमान प्रधानमन्त्री केपी ओलीले ‘व्यापार र पारवहन सम्झौता’को साथै अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणको क्रममा सहयोगसम्बन्धी सम्झौता भएका थिए । ती अब क्रमशः कार्यान्वयन हुँदै जाने चिनियाँ पक्षको भनाइ छ । व्यापार र पारवहन सम्झौता’ पूर्ण रुपमा कार्यान्वयनमा नआएपछि नेपालभित्र चिनियाँ प्रतिबद्धता बारेमा विपक्षी दलहरुले प्रश्न उठाउँदै आएका थिए । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि द्विपक्षीय सहयोग र हितका विषयमा वार्ता गरेका थिए ।

नेपाली सेनालाई पनि थप सहयोग गर्ने प्रतिबद्धता रक्षामन्त्री वेईले व्यक्त गरेका छन् । चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन थप पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा पनि गरेको हो । नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो ।

कोरोनाको महामारी नियन्त्रण गर्न सहयोग गर्ने चीनको भनाइले नेपालमा चिनियाँ सहयोगको कोरोनाविरुद्धको भ्याक्सिन जाँडै आउने देखिएको छ । उक्त सहयोग नेपाली सेनामार्फत चीनले उपलब्ध गराउनेछ । साथै प्रधानसेनापति पूर्णचन्द्र थापाको चीन भ्रमणको बेला चीनले घोषणा गरेको सहयोग पनि अब आउने भएको छ । कोभिड–१९ को कारण उक्त सहयोग पनि नेपाल भित्रिएको थिएन । चिनियाँ रक्षामन्त्रीले चीनको तर्फबाट नेपालमा जारी विकास निर्माणको कामले द्रुत गति लिने जानकारी पनि गराएका छन् । कोभिड–१९ को कारण कतिपय विकास निर्माणका काम ठप्प छन् भने केही काम सुस्त रुपमा अगाडि बढिरहेका छन् । एक्काईस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार काठमाडौँ आइपुगेका चिनियाँ रक्षामन्त्रीले आठ घण्टा काठमाडौँमा बिताएर इस्लामाबाद गएका छन् ।

अरनिको र भृकुटीले जोडेको युगौँ पुरानो नेपाल–चीन सम्बन्ध सन् १९५५ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध कायम भएपछि निरन्तर मौलाउँदै गएको छ भने मैत्रीपूर्ण सहयोगको परम्परा र उच्चस्तरीय भ्रमण आदानप्रदानले पारस्परिक आत्मीयता अझ बढाएको छ । कोभिड–१९ को महामारीका बीच भइरहेको चिनियाँ रक्षामन्त्रीको भ्रमणले नेपाल बेइजिङको उच्च प्राथमिकतामा रहेको देखाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया