Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्माण सामग्रीहरूमा अत्यधिक मूल्यवृद्धि

निर्माण सामग्रीहरूमा अत्यधिक मूल्यवृद्धि


काठमाडौं ।
निर्माण सामग्रीहरूमा अत्यधिक मूल्यवृद्धि भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । कोभिड १९ को महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीहरूमा एकतर्फीरूपमा कार्टेलिङ गरी अत्यधिकरूपले मूल्यवृद्धि गरिएको महासंघको भनाइ छ । फलामजन्य निर्माण सामग्रीहरू विभिन्न साइजका डण्डी, पाता, पत्ति, जीआई तार, ग्याबिन तार उत्पादक कम्पनीहरूले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा गिटीमा विभिन्न व्यवसायीहरूले अत्यधिकरूपमा मूल्य वृद्धि गरेको महासंघले जनाएको छ ।

‘फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीहरूले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा अत्यधिकरूपले मूल्यवृिद्ध गरी मिलोमतो गरेको देखिएको छ’ महासंघका महासचिव रोशन दाहालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अहिलेको मूल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको महासंघले जनाएको छ । केही महिनाअगाडिको मूल्य र हालको मूल्यमा डण्डी (प्रति केजी)मा १५ रूपैयाँदेखि २० रूपैयाँसम्म वृद्धि भएको र ढुङ्गा, गिटी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर वृद्धि भएको महासंघले जनाएको छ ।

त्यसैगरी देशको कुनै पनि स्थानबाट नदीजन्य सामग्रीको उत्खनन् र बिक्रीवितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ । गृहको निर्णयबमोजिम निर्माणाधीन परियोजनाहरूमा ढुंगा, गिटी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुनसक्ने अवस्थाप्रति महासंघले सरोकारवाला सबै निकायको ध्यानाकर्षण समेत गराएको छ ।

नेपाल सरकारको यस निर्णयबाट आग्रह र पूर्वाग्रही ढंगले क्रसरहरू बन्द हुन गएको र यसबाट अभाव सिर्जना हुन गई खानीजन्य निर्माण सामग्रीहरूमा सीमित व्यवसायीहरूको मिलोमतोमा अत्यधिक मूल्यवृिद्ध गराई कालोबजारी गरेको गुनासो महासंघको विज्ञप्तिमा उल्लेख छ । महासंघका अनुसार कोभिड १९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेषगरी साना निर्माण व्यवसायीहरू बाह्र महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाहरूको मूल्य समायोजन नहुँदा थप समस्यामा परेका छन् ।

व्यवसायीमैत्री ऐन कानुनको अभावमा एकपछि अर्को गरी विविध समस्या झेलिरहेका निर्माण व्यवसायीहरू बेला बखत सिर्जना भइरहने यी र यस्तै समस्याका कारण प्रताडित भइरहेको महासंघले जनाएको छ । अन्य विविध कारणले निर्माण परियोजनाहरू समयमै नसकिँदा अरु पक्ष नै जिम्मेवार हुँदाहुँदै एकोहोरोरूपमा व्यवसायीहरूमाथि मात्र दोषारोपण गर्ने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको महासंघको भनाइ छ ।

विषम परिस्थितिकाबीच निर्माण कार्य गर्ने सिजनको मौका छोपी एकातिर निर्माण कार्यको लागत बढाउने र अर्कोतिर यसको फाइदा उठाउँदै मूल्यमा गरिएको कालोबजारीलाई तत्काल रोक्न महासंघले आग्रह गरेको छ । नेपाल सरकारबाट प्रभावकारीरूपले अनुगमन गरी मूल्यवृद्धि नियन्त्रणका लागि ठोस तथा सार्थक पहल गरिदिन पनि महासंघले सरोकारवाला सबै निकायसँग आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया