Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रसारणलाइनको अवरोध हटाउन कार्यदल

प्रसारणलाइनको अवरोध हटाउन कार्यदल


काठमाडौं ।
मर्स्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माणका क्रममा धादिङका बासिन्दाले गरेको अवरोध समाधानका लागि कार्यदल गठन गरिएको छ । धादिङ सिद्धलेक गाउँपालिका–७ मा आइतबार स्थानीयवासीको मागबारे धादिङका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई ध्यानाकर्षण गराएका थिए । स्थानीयवासीका मागबारे जानकारी पाएपछि मन्त्री पुनले समस्या समाधानका लागि सुझाव दिन ऊर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका छन् । सो कार्यदलमा नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालय धादिङका प्रतिनिधि, सिद्धलेक गाउँपालिका–७ का वडाध्यक्ष र प्रभावितमध्येबाट एक प्रतिनिधि रहेका छन् ।

मर्स्याङ्दी नदी जलाधारका आयोजनाबाट काठमाडौँ उपत्यकामा विद्युत् ल्याउन तनहुँको मार्कीचोकबाट काठमाडौँको मातातीर्थसम्म सो प्रसारणलाइन निर्माण भइरहेको छ । ८२ किलोमिटर लामो प्रसारणलाइनमा २३१ टावर बन्नेछन् । स्थानीयवासीको अवरोधका कारण दुईवटा टावर निर्माणको काम रोकिएको छ भने ७५ किलोमिटरभन्दा बढी तार तानी सकिएको प्राधिकरणले जनाएको छ । प्रसारणलाइन बनेपछि मर्स्याङ्दी र मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित ७०/७० मेगावाटका साथै अन्य साना र निर्माणका चरणमा रहेका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउन सकिनेछ । हाल १२० केभी प्रसारणलाइनमार्फत मर्स्याङ्दी नदी जलाधारबाट उत्पादित विद्युत् उपत्यका आइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया