Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्रीमाथि नै सुरक्षा जोखिम कस्तो ?

प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्रीमाथि नै सुरक्षा जोखिम कस्तो ?


काठमाडौं ।
गएको हप्ताको एक दिन (१६ मंसिर) देशका कार्यकारी प्रमख प्रधानमन्त्री केपी शर्मा ओली सुरक्षा जोखिम देखियो भन्दै आफ्नै पार्टी कार्यालय गएनन् । सत्तारुढ दल नेकपाले त्यस दिन आफ्नो पार्टी कार्यालय धुम्वाराहीमा बोलाएको सचिवालय बैठक हुनेवाला थियो । तर त्यस दिन त्यो बैठक त्यहाँ भएन । त्यसलाइ अन्तिम समयमा ‘सुरक्षा थ्रेट’ भन्दै प्रधानमन्त्री निवास बालुवाटारमै सारियो ।

१३ मंसिरको बालुवाटारमा नै बसेको सचिवालय बैठकले अबको बैठक यो ठाउँमा बस्ने भनी निर्णय गरेको थियो । समाचार विवरणअनुसार १६ गते बिहानै महासचिव विष्णु पौडेलले धुम्वाराहीमा तय भएको बैठक बालुवाटारमा बस्ने सूचना सचिवालयका नेताहरूलाई दिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वनिर्धारित कार्यक्रमअनुसार बैठक पार्टी कार्यालयमै बस्ने अडान थिए । तर त्यसको केहीबेरमा महासचिव पौडेलले यो कार्यालयमा प्रधानमन्त्रीका लागि ‘सुरक्षा थ्रेट’ रहेकोे जानकारी गराएपछि बैठक बालुवाटारमै बस्यो ।

महासचिवले नै गृह मन्त्रालयको सिफारिस त्यस्तै रहेको जनाएपछि सदस्यहरुले त्यसमा यताउता गर्ने कुरा भएन । यो एउटा डरलाग्दो जानकारी थियो । सत्तारुढदलको दलगत बैठक उसको आफ्नो मुख्यालयमा बस्ने भनी तय भएको, प्रधानमन्त्री तथा त्यो दलका अध्यक्ष यो ठाउँमा जानका लागि असुरक्षित भए । प्रधानमन्त्री केपी शर्मा ओली देशमा शासन गरिरहेको दल नेकपाका अध्यक्ष पनि हुन् ।

देशमा जननिर्वाचित सरकार छ । सरकारले परिवर्तनका लागि धेरै ठूला–ठूला काम गरिरहेको बताइएको छ । प्रधानमन्त्रीले नै केही समयअघि मात्रै ३८ पृष्ठको विकास निर्माणका फेहरिस्तहरु आफ्नो पार्टीसमक्ष प्रस्तुत गरेर त्यो सार्वजनिक समेत भएको थियो आफ्नो पार्टीको सचिवालय बैठकमा । ती विवरणहरुले नै बताइरहेका थिए सरकारका ठम्याइमा अहिलेजतिको लोकप्रिय सरकार यो देशमा यसअघि कहिल्यै बनेन । त्यसमा विगतका सरकारहरुको धेरै आलोचना पनि भएको थियो । त्यो आलोचनाले यो सरकारको यस्तो कामलाई स्थापित गर्ने ठानिएको हुनुपर्छ ।

यही बेला यस्तो सरकारका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष भने आफ्नै पार्टीको मुख्यालयमा जान नसक्ने भए । कारण रह्यो त्यो मुख्यालय व्यापक असुरक्षित रहेछ । सुरक्षाको कारण देखाएर प्रधानमन्त्री त्यो आफ्नै कार्यालयमा नगएपछि आमतहबाट नै प्रश्न उठ्यो– त्यसो हो भने देशचाहिँ कति सुरक्षित छ त ? सत्तारुढ दलको केन्द्रीय कार्यालय नै त्यो दलको वा भनौँ सत्ता चलाइरहेकै दलको बैठक बस्नका लागि सुरक्षित छैन भने सम्माननीय प्रधानमन्त्री ओलीबाट देशको सञ्चालन कसरी भइरहेको छ ? यी प्रश्न यो बेलासम्म निरुत्तरित नै छन् ।

यो विषय सामान्य होइन । प्रधानमन्त्री आफ्नै पार्टी कार्यालय जान सक्तैनन्, कारण त्यो सुरक्षित छैन भन्ने समाचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्दा त्यसले कस्तो सन्देश दिन्छ भन्ने यो ठाउँमा देशको सुरक्षाको जिम्मा लिएको गृह मन्त्रालयको सामान्य सोचाइ समेत रहेन । उस्तै हो भने यस्तो समाचार आउनासाथ गृहमन्त्रीले राजीनामा दिनुपर्ने थियो । देशको कार्यकारी प्रमुखको कार्यालय सुरक्षा थ्रेटमा परेर प्रधानमन्त्री नै कार्यालय जान नपाएको, प्रधानमन्त्रीले त्यो कार्यालयबाट गर्नुपर्ने काम अन्यत्रबाट गर्नुपरेको कुरा सामान्य होइन ।

त्यस बेला सार्वजनिक भएका समाचारका सम्बन्धित अंशले पनि थप कुरा बुझाउँछन् । ‘लामो समयपछि पार्टी मुख्यालय धुम्वाराहीमा मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि अन्तिम समयमा बालुवाटार सारियो । शनिबार बसेको सचिवालय बैठकले धुम्वाराहीमै बैठक गर्ने निर्णय गरे पनि ‘सुरक्षा जोखिम’का कारण प्रधानमन्त्री पार्टी कार्यालय जान नमानेको नेताहरूको भनाइ छ । तर, सत्तारुढ दलको केन्द्रीय कार्यालय नै सुरक्षित छैन भने प्रधानमन्त्री केपी ओलीले कस्तो देश चलाइरहेका छन् ? विपक्षी मात्र होइन, सत्तारुढ दलकै नेताले पनि गम्भीर प्रश्न उठाएका छन् ।

सत्तारुढ दलको केन्द्रीय कार्यालय नै सुरक्षित नरहेको खबरले देशको समग्र सुरक्षा अवस्था राम्रो नभएको सन्देश गएको राजनीतिक दलका नेताहरूले टिप्पणी गरेका छन् । केही ‘सुरक्षा थ्रेट’को विषय उठाएर देशको प्रतिष्ठामाथि खेलबाड गरिएको बताउँछन् भने केहीचाहिँ प्रधानमन्त्री निवासबाटै यो खबर आएकोले हलुका ढंगले टिप्पणी गर्न नहुने बताउँछन् ।’

प्रधानमन्त्रीलाई आफ्नो कार्यालय नजान सुझाव कसले दियो ? कि उनी आफैँले आफ्नो कार्यालय जान ‘सुरक्षा जोखिम’का कारण नमानेका हुन् ? यस्ता प्रश्नहरु झनै थपिँदै गएका छन् । ‘सुरक्षा जोखिम’को यस्तो अवस्था प्रधानमन्त्रीमाथि मात्रै हो कि त्यो कार्यालयको वा त्यो क्षेत्रकै भन्ने कतै प्रष्ट पारिएको छैन । धुम्वाराहीमा रहेको प्रधानमन्त्री प्रमुख रहेको यो पार्टी मुख्यालय प्रधानमन्त्री निवास बालुवाटारबाट केही किलोमिटर मात्रको दूरीमा छ । यसले बुझाउने अर्थ हो निवासको चौघेराभन्दा देशको कुनै भूभाग प्रधानमन्त्रीका नजरमा नै सुरक्षित छैन ।

त्यस्तो बेला प्रधानमन्त्रीको पहिलो काम हुन्छ सुरक्षाको यस्तो अवस्थालाई यसै रहन नदिनु । त्यस दिन बैठक त सारियो तर सुरक्षाका लागि के गरियो त भन्ने प्रश्नले पनि जवाफ पाएको छैन । त्यसो हो भने प्रधानमन्त्रीसामु दुईवटा मात्र विकल्प रहन्छन् । एउटा, जहाँ होस् देशको भूभाग सुरक्षित छ भन्ने भरपर्दो रुपले आफ्ना नागरिकलाई आश्वस्त तुल्याउनु र दोस्रो शासन गर्न नसकेको भनी प्रधानमन्त्रीले राजीनामा दिनु ।

सुरक्षाजस्तो कुरा प्रधानमन्त्रीका लागि मात्र होइन जो कोहीका लागि पनि महत्वको हुन्छ । त्यसमा अलिकति पनि जोखिम लिन मिल्दैन । यस्तो सुरक्षा जोखिम रहेको भन्ने कुरा सार्वजनिक भएको पनि हप्ता दिन हुनलाग्यो । यी दिनमा सुरक्षाको त्यस्तो अवस्थामा के–कस्तो सुधार आयो कि आएन भन्ने पनि सरकारले जानकारी दिएको छैन । यसले जनताप्रतिको उत्तरदायित्व वहन गरेको भन्ने बुझाउँदैन ।

यी विवरणले यति गम्भीर कुरालाई सरकारले त्यति नै हलुकासँग लिएको बुझाउँछ । पूर्वरक्षामन्त्री समेत रहेका विपक्षी नेताको भनाइ यो ठाउँमा सान्दर्भिक होला । नेता भीमसेनदास प्रधानका भनाइमा प्रधानमन्त्रीले नै आफ्नै पार्टी कार्यालयमा ‘सुरक्षा जोखिम’ छ भन्नु गैरजिम्मेवार जानकारी हो । ‘अहिले नेकपाकै सरकार छ, देशको सुरक्षाको जिम्मा उहाँहरूको हातमा छ तर पार्टी कार्यालयमा सुरक्षा जोखिम छ भनेर के सन्देश दिन खोज्नुभएको हो ? यो त न्यूनस्तरको राजनीति भयो । यसले त देशकै विषयमा एकदमै नकारात्मक सन्देश प्रवाह भएको छ । यो एकदमै गैरजिम्मेवारपूर्ण भनाइ हो । त्यस्तो खतरा छ भने उहाँहरूले अनुसन्धान गर्नुपर्ने हो । प्रधानमन्त्रीको पार्टी मुख्यालय नै असुरक्षित छ भने उहाँहरूले नेतृत्व गर्नुभएको सुरक्षा संयन्त्र कमजोर छ भन्ने सन्देश जान्छ, यसले कुनै नेता वा पार्टी मात्रै होइन, देश नै बदनाम भएको छ’, उनी भन्छन् ।

सुरक्षा निकायले भने पार्टी कार्यालयमा बैठक नबस्नुका पछाडिको कारण भनी स्वास्थ्य मापदण्ड पालनामा कठिनाइ हुने भएकाले र खुला ठाउँ भएका कारण कार्यकर्ताबाट नाराबाजी हुनसक्ने भएकाले पनि प्रधानमन्त्री बालुवाटारबाट बाहिर निस्कन नचाहेको रुपमा यसलाई लिएको देखियो  । यदि यो सत्य हो भने झनै आपत्तियुक्त भयो । सत्तारुढ पार्टीका कार्यकर्ता नै प्रधानमन्त्री तथा पार्टी अध्यक्षका सुरक्षा जोखिम भए भने स्थिति झनै भयावह हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया