Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्यात व्यापार बढाउन विद्युतीय भुक्तानी प्रणाली आवश्यक

निर्यात व्यापार बढाउन विद्युतीय भुक्तानी प्रणाली आवश्यक


काठमाडौं ।
निर्यात वृद्धि गर्ने विषयमा सरकार र निजी क्षेत्रको एकमत देखिएको छ । पछिल्लो समय मुलुकको निर्यात व्यापारमा वृद्धि भएसँगै यसको निरन्तरताको लागि विद्युतीय भुक्तानी प्रणाली आवश्यक रहेको सरकारी तथा निजी क्षेत्रका अधिकारीहरू बताउँछन् । विश्व परिवेशमा व्यापार गर्ने तौरतरिकाहरू परिवर्तन भएको छ अर्थात् व्यापार प्रविधिमा आधारित हुँदै गएकोले त्यसलाई आत्मसात् गर्नुपर्ने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, पुल्चोकका कार्यकारी निर्देशक शरद विक्रम राणाले आर्थिक दैनिकलाई बताए ।

अहिलेको परिस्थितिमा दुई देश वा अन्तर्देशीय व्यापार गर्दा भुक्तानी प्रणालीलाई सहज बनाउनु आवश्यक छ । ‘त्यो भनेको विद्युतीय माध्यमबाट गरिने भुक्तानी हो’, निर्देशक राणाले भने, ‘यसका लागि इ–कमर्सलगायतका विद्युतीय प्रणालीहरू अपनाएर कारोबार गर्न सकिन्छ । यसले दुई मुलुकबीच हुने व्यापारमा सहजता प्रदान गर्नेछ ।’

विश्व परिवेशमा विभिन्न मुलुकमा रहेका मझौला उद्योगहरू ठूला उद्योगको रुपमा परिणत भइसकेको निर्देशक राणाले बताए । उनले भने, ‘हामीसँग साना तथा मझौला उद्योगहरू छन्, त्यसैले विश्व परिवेशमा हाम्रा उद्योगबाट उत्पादित सामग्रीको माग बढ्ने देखिन्छ, त्यसलाई ध्यानमा राखी प्रविधिमैत्री निर्यात कारोबार गरेको खण्डमा हामीलाई फाइदा पुग्ने निश्चित छ ।’

उनले निर्यात व्यापारमा विद्युतीय भुक्तानी प्रणाली प्रयोग गर्दा उत्पादित वस्तुको मागमा समेत सकारात्मक असर पर्नसक्ने बताए । यस्तै निजी क्षेत्रतर्फबाट नेपाल निर्यात व्यवसायी महासंघका सचिव दुर्गा विक्रम थापाले पनि मुलुकको निर्यात व्यापारमा अबका दिनमा विद्युतीय कारोबार अत्यन्त जरुरी रहेको बताए ।

‘यसरी निर्यात व्यापारलाई प्रविधिमा जोड्दा साना, मझौला र ठूला उद्योगहरू फस्टाउन मद्दत पुग्नेछ’, उनले भने, ‘यी उद्योगमा उत्पादित वस्तुहरू विद्युतीय भुक्तानी प्रणालीकै कारण समयमै आयातकर्ताले सामान पाउनुको साथै उद्योगीले समेत समयमै रकम पाउन सक्नेछन् । त्यसैले गर्दा यसले नेपालबाट हुने निर्यातको वृद्धि समेत सहयोग पुग्नेछ ।

सचिव थापाले विद्युतीय भुक्तानी प्रणालीको लागि भने केही पक्षहरू सुधार गर्न आवश्यक रहेको बताए । ‘अहिले विश्व परिवेशमा अनलाइन बजार तथा आयातनिर्यात चलिरहेको अवस्थामा नेपालमा उत्पादित वस्तुहरू निर्यात गर्दा ती सानाभन्दा साना उत्पादित वस्तुहरूको पर युनिट रकम तथा निर्यात गर्दा प्राप्त गर्ने रकम तथा बोनसलाई लिएर सरकारी पक्ष स्पष्ट हुनु आवश्यक छ भने सस्तो दरमा कसरी निर्यात गर्न सकिन्छ भनेर ध्यान दिनु समेत आवश्यक रहेको छ’, उनले भने, ‘यदि इ–कमर्स अपनाएको खण्डमा हामीले हाम्रा उत्पादनहरूको माग विश्व बजारमा वृद्धि गर्न समेत सक्छौँ ।’

सरकारी तथा निजी क्षेत्रका दुवै अधिकारीहरूले प्रविधिमैत्री निर्यात व्यापारमा भौतिक उपस्थिति नहुने हुँदा छिटो र सहज हुने बताएका छन् । यसमा निर्यातकर्ता र आयातकर्ताको भौतिक उपस्थिति अनिवार्य नहुँदा कम खर्चमा छिटो हुने र दुवै पक्ष तथा बजारलाई समेत फाइदा रहेको उनीहरूको धारणा रहेको छ ।

‘नेपाली व्यवसायीहरूले सामान निर्यात गरिसकेपछि आयातकर्ताले सामग्री रकम दिनको लागि निर्यातकर्तालाई भेटिरहनु आवश्यक भएन विद्युतीय भुक्तानी प्रणालीमार्फत उसले रकम दिन सक्छ’, उनले भने, ‘यसले गर्दा नेपाली व्यवसायीहरूले उत्पादन गरेको सामग्री सटर लिएर बसेर देखाउनु आवश्यक हुँदैन अर्थात् आयातकर्ताले आवश्यक भएमा मात्र सामग्री लैजानेछ जसले गर्दा कारोबार छिटो हुनेछ ।’

यस्तै निर्यात व्यापारमा भने विद्युतीय कारोबारको विषयमा नीतिगत व्यवस्था हुन नसकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ‘आयातनिर्यात क्षेत्रमा विद्युतीय कारोबारको विषयमा स्पष्ट व्यवस्था भएको छैन’, मन्त्रालयका एक अधिकारीले भने, ‘सो विषयमा राष्ट्र बैंकसँग छलफल गरेर अघि बढेका छौं अर्थात् मस्यौदा बनाउने क्रममा रहेका छौँ ।’

संघले विद्युतीय भुक्तानीको विषयलाई लिएर राष्ट्र बैंकलगायत सरोकारावाला निकायहरूसँग छलफल भएको बताएको छ । यस्तै अधिकारीहरूले अन्तर्देशीय व्यापार मात्र नभई बजार समेत प्रविधिमैत्री बनेको बताएका छन् । पछिल्लो तीन आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालको निर्यात व्यापार वृद्धि भएको पाइन्छ ।

केन्द्रका अनुसार आव ०७५/०७६ देखि ०७७/०७८ को पहिलो चौमासिकमा क्रमशः नेपालबाट २९ अर्ब २८ करोड रुपैयाँ, ३६ अर्ब २८ करोड रुपैयाँ र ४० अर्ब २० करोड रुपैयाँबराबरको सामग्री निर्यात भएको छ । यसरी यी तीन आवको पहिलो चार महिनामा नेपालले भारत, चीन बंगलादेश लगायत तेस्रो मुलुकसँग गर्ने व्यापारमा निर्यातमा वृद्धि भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया