Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्रको पुनरूत्थानका लागि त्रिपक्षीय सहकार्यमा जोड

अर्थतन्त्रको पुनरूत्थानका लागि त्रिपक्षीय सहकार्यमा जोड


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड–१९ पछिको अर्थतन्त्रको पुनरूत्थानका लागि त्रिपक्षीय सहकार्यमा जोड दिएका छन् । महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा मंगलबार श्रम मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष गोल्छाले समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि ट्रेड युनियन, रोजगारदाता र नेपाल सरकारबीचको त्रिपक्षीय सहकार्यमा जोड दिए । नेपालको श्रम उत्पादकत्व दक्षिण एसियामै कमजोर रहेकाले श्रम उत्पादकत्व बढाउने कार्यमा जुझारू भएर लाग्नुपर्ने उनले बताए ।

श्रम तथा सामाजिक सुरक्षा ऐनमा रोजगारदाता परिषद्का तर्फबाट महासंघले धेरै सुझावहरू दिएको बताउँदै उनले सोही ऐनअन्तर्गत आएको सामाजिक सुरक्षा कोषप्रति अझै पनि श्रमिक कामदार कर्मचारीहरूको आकर्षण बढ्न नसकेको बताए । श्रमिक कर्मचारी आकर्षित गर्न नसक्नु कोषको सबैभन्दा ठूलो चुनौती रहेको भन्दै अध्यक्ष गोल्छाले कोषप्रति आकर्षण बढाउन पनि सहकार्यको आवश्यकता रहेको बताए । साथै उनले स्वदेशी श्रमिक कामदारहरूको दक्षता अभिवृद्धिमार्फत नेपालमा कार्यरत बाह्य देशका कामदारहरू विस्थापन गर्ने नीति सरकारको हुनुपर्ने सुझाव दिए ।

अध्यक्ष गोल्छाले अहिले पनि एकाध उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएकाले यसमा सरकारले तत्तकाल हस्तक्षेप गरी उद्योग सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरे । आउने दिनमा श्रम सम्बन्धलाई थप मजबुत बनाउँदै औद्योगिक व्यावसायिक विकासमा सरकारलाई हरतरहले सहयोग गर्न महासंघ तयार रहेको उनको भनाइ थियो । साथै महासंघका पदाधिकारीहरूले कोभिडका कारण सामूहिक सौदाबाजी (सीबीए)को समयलाई एक वर्ष पछाडि लैजानुपर्ने, विभिन्न संस्थाहरूबाट छरिएर दिइने तालिमहरू एकीकृतरूपमा सञ्चालन गर्नुपर्नेलगायतका सुझावहरू दिएका थिए । भेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले मुलुकको औद्योगिक विकासमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच अझ बढी सहकार्यका साथ अगाडि बढ्ने बताए ।

श्रममन्त्री यादवले मुलुकभित्र उत्पादकत्व अभिवृद्धिका लागि उचित तालिमको आवश्यकता रहेकाले श्रम मन्त्रालय दक्ष जनशक्ति उत्पादनका लागि सातै प्रदेशस्तरीय तालिम प्रतिष्ठानहरू सञ्चालन गर्ने योजनामा रहेकाले महासंघसँग समेत यसमा सहकार्यको अपेक्षा गरेको बताए । साथै उनले आफू र आफ्नो मन्त्रालयले महासंघले दिएका सुझावहरूलाई बुँदागतरूपमा आगामी दिनमा छलफल गर्दै जाने बताए । कार्यक्रममा मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंह, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी रहेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया