Techie IT
×
गृहपृष्ठसमाचारमाप्यदुधकोशीमा १५ सैयाको अस्पताल

माप्यदुधकोशीमा १५ सैयाको अस्पताल


सोलुखुम्बु ।
सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा १५ सैयाको अस्पतालको उद्घाटन गरिएको छ । पालिकाको वडा नम्बर ३ खास्तापमा निर्माण गरिएको गाउँपालिका प्राथमिक अस्पतालको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । खास्तापस्थित इलाका स्वास्थ्य चौकीलाई स्तरोउन्नति गरी संघीय सरकारको सहयोगमा उक्त अस्पताल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

सरकारले प्रत्येक स्थानीय तहमा १५ सैयाको अस्पताल निर्माण गर्ने निर्णय गरे सँगै गाउँपालिकाले पनि अस्पताल निर्माणका लागि सुरुवात गरेको गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले जानकारी दिए । अस्पताल निर्माण भएपछि स्थानीयलाई जिल्ला अस्पताल फाप्लु र सुविधासम्पन्न अस्पताल जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।

नेपाल सरकारले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यका साथ अस्पताल नभएका तीन सय ९६ वटा स्थानीय तहमा मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास गरेको थियो । बाँकी रहेका स्थानीय तहमा पनि अहिले धमाधम अस्पतालको शिलान्यास हुने क्रम जारी रहेको छ । गाउँपालिकामा निर्माण हुने अस्पतालको सोलुखुम्बुको प्रदेश सभा ‘ख’ का सांसद एवं नेकपा प्रदेश नम्बर एकका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले गरेका हुन ।

अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा ‘ख’का सांसद एवं नेकपा प्रदेश १ का संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सगरमाथा जाने विश्वका नागरिकहरुले उक्त अस्पतालबाट सेवा लिने विश्वास व्यक्त गरे । विकासमा तीनै तहको सरकार एक हुन आवश्यक रहेको भन्दै उनले अस्पताल सञ्चालनका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको समेत बताए ।

नागरिकलाई सेवा दिने सवालमा अहिलेको सरकारले गरेको प्रयास देखेर विपक्षीहरु आत्तिएकोे भन्दै आफूहरु जनसेवामा सधैँ एक कदम अघि रहेको उनको दाबी थियो । यस्तै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले आफ्नो गाउँपालिकामा सञ्चालन भएको अस्पताल नाम मात्रैको नभई गुणस्तरीय स्वास्थ्य सेवासहितको हुने दाबी गरे । नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भीर भएकाले अस्पताल उद्घाटन गर्न सफल भएको उनको भनाइ छ ।



तपाईको प्रतिक्रिया