Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘निर्माण व्यवसायीहरुको शान्ति सुरक्षाको जिम्मा सरकारले लिन्छ’

‘निर्माण व्यवसायीहरुको शान्ति सुरक्षाको जिम्मा सरकारले लिन्छ’


काठमाडौं ।
सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीहरुको शान्तिसुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र उनीहरुको उपकरणका सुरक्षा सवालमा प्रधानमन्त्री पनि चिन्तित रहेको जानकारी दिए । साथै निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मातहतको मन्त्रालयका तर्फबाट सरोकारवाला अन्य निकायसँग छलफल गर्ने मन्त्री श्रेष्ठले बताए ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री श्रेष्ठलाई निर्माण व्यवसाय क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र समाधानका उपायका बारेमा जानकारी गराएको छ । धरौटी रकम, कोभिड–१९ को मापदण्ड, निर्माण कार्यको म्याद थप, मूल्यवृद्धि नियन्त्रण, निर्माण सामग्रीको उत्खननमा लगाइएको रोक, शान्ति सुरक्षा, बैंक ग्यारेण्टी तथा बीमा, क्रेडिटलाइन कमिसनलगायतका विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराइएको महासंघले जनाएको छ ।

महासंघले निर्माण कार्यलाई पुनः सञ्चालन गरी आर्थिक कारोबारलाई चलायमान बनाउन धरौटीबापतको रकम निर्माण व्यवसायीलाई बैंक ग्यारेन्टीको आधारमा फिर्ता दिन, कोभिडको समयमा निर्माण कार्य सुचारु गर्दा स्वास्थ्यका मापदण्ड एउटै किसिमको बनाउन, सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनअनुसार सम्पूर्ण निर्माणकार्यहरुको १ वर्ष म्याद थप गर्न, लकडाउनको अवधि हुन नसकेका निर्माणका कार्यको पनि थप एक वर्ष स्वतः म्याद थप गर्न माग गर्दै आइरहेको छ ।

साथै महासंघले नदीजन्य सामाग्रीको उत्खनन र बिक्री वितरण गर्न नपाइने गृह मन्त्रालयको निर्णयबाट निर्माणाधीन परियोजनाहरुमा ढुंगा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुनसक्ने अवस्था देखिएकोप्रति सरकारको ध्यानाकर्षण समेत गराउँदै आएको छ । नदीजन्य सामग्रीको उत्खनन र बिक्रीवितरण गर्ने हालको मापदण्डलाई संशोधन गरी सहज रुपले निर्माण सामग्री उपलब्ध हुने गरी राज्यले निश्चित स्थान र क्षेत्र तोकिनु अति आवश्यक भएको महासंघको धारणा छ ।

साथै महासंघले निर्माण कार्य हुने अहिलेको समयमा विना कुनै आधार फलामजन्य सामग्रीहरुको भाउवृद्धि हुँदा व्यवसायीहरुलाई ठूलो मार परेकाले समस्या समाधानका लागि पहल गरिदिन सरकारसंग आग्रह गरेको छ । प्रतिनिधिमण्डलमा महासंघका निवर्तमान अध्यक्ष विष्णुभाई श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, उपाध्यक्ष पेम्वा लामा, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) टंकप्रसाद चौलागाई, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायतको सहभागिता रहेको थियो । महासंघले मन्त्री श्रेष्ठको सफल कार्यकालका लागि शुभकामनासहित मायाको चिनो पनि प्रदान गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया