Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको अर्थतन्त्रलाई पूर्ण डिजिटल बनाउने तयारी

नेपालको अर्थतन्त्रलाई पूर्ण डिजिटल बनाउने तयारी


काठमाडौं ।
कोभिड–१९ को कारण हरेक क्षेत्रले डिजिटल प्रविधि अपनाउँदै गएको बेला नेपालले अर्थतन्त्रलाई नै पूर्ण डिजिटल बनाउने प्रयासको थालनी गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवर्द्धनका लागि नेपाल राष्ट्र बैंकले योजनाबद्ध प्रयास गरिरहेको जानकारी दिएका हुन् ।

सिङ्गापुर फिन्टेक महोत्सव–२०२०’ लाई श्रव्यदृश्यका माध्यम मार्फत विहीबार काठमाडौंबाट सम्बोधन गर्दै ‘डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैंक प्रतिबद्ध’ रहेको बताएको राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नेपाल सरकारले डिजिटल अर्थतन्त्रको प्रवर्द्धनका निम्ति ‘डिजिटल नेपाल प्रारूप’को महत्वाकाङ्क्षी योजना अगाडि सारेको उल्लेख गर्दै गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र, शासकीय व्यवस्था र सामाजिक क्रियाकलापको रूपान्तरणमा यो अभियानले सार्थक भूमिका खेल्ने विश्वास व्यक्त गरे । अधिकारीका अनुसार यो प्रारूपलाई नेपालको ‘डिजिटल आधारशिला’का रूपमा लिइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय पुँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीले यही मंसिर २२ गतेदेखि उक्त महोत्सवको आयोजना गरेको हो । कृषि र खाद्य प्रणालीमा डिजिटल बैंकिङले पु-याउन सक्ने सहयोग’ विषयमा मन्तव्य राख्दै गभर्नर अधिकारीले भने, ‘वित्तीय क्षेत्रको नेतृत्वदायी निकाय हुनुका नाताले नेपालमा डिजिटल अर्थतन्त्रको विकासका लागि राष्ट्र बैंकको अत्यन्तै ठूलो भूमिका रहेको तथ्यलाई हामीले महसुस गरेका छौँ । त्यसैले नेपालमा ‘डिजिटल पर्यावरण’को विकासको लागि हामी प्रतिबद्ध छौँ ।’

पछिल्लो समयमा नेपालमा विद्युतीय बैंकिङ र भुक्तानी प्रणालीको विकासलाई सरकार र राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै गभर्नर अधिकारीले यसको कार्यान्वयनका निम्ति कानुनी, नीतिगत एवं संस्थागत व्यवस्थालाई सबल तुल्याइएको उल्लेख गरेको राष्ट्र बैंकले जनाएको छ । डिजिटल बैंकिङको विस्तारसँगै यसको नियमन र सुपरिवेक्षणका क्षेत्रमा चुनौती थपिएको उल्लेख गर्दै अधिकारीले त्यसप्रति नियामक निकाय सजक रहनुपर्ने बताए ।

‘डिजिटल प्रविधिको प्रयोगबाट कृषिजन्य उत्पादन, उत्पादकत्व अभिवृद्धि, लगानी, मूल्य निर्धारण, बजार व्यवस्थापन र भुक्तानी कार्यलाई सहजीकरण गर्न सकिन्छ । यसबाट अन्ततः दिगो कृषि र खाद्य प्रणालीमा दूरगामी प्रभाव पार्नेछ । सहरी क्षेत्रमा केन्द्रित रहेको डिजिटल प्रणालीलाई ग्रामीण क्षेत्रसम्म विस्तार गरी स्थानीय कृषक ‘इ–कमर्स’सँग जोड्नुपर्ने उनको सुझाव छ ।

डिजिटल प्रविधिको प्रयोगबाटै ग्रामीण कृषकलाई वित्तीय स्रोतको व्यवस्था, बीमा, कृषिसम्बन्धी सूचना/जानकारी विद्युतीय भुक्तानी र लगानीका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता उनले औँल्याए । नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब २८ प्रतिशत हिस्सा र झण्डै दुई तिहाइ जनसङ्ख्याको जीविकोपार्जनको स्रोत कृषि नै रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले कृषकलाई थप व्यावसायिक बनाउन यसै वर्ष मौद्रिक नीतिमार्फत कृषि ऋणपत्र र किसान क्रेडिट कार्डसम्बन्धी व्यवस्था कार्यान्वयनमा लगिएको छ ।

महोत्सवमा ६ सयभन्दा बढी सत्र सञ्चालन हुने, एक हजार ४ सय वक्ताले आफ्नो धारणा प्रस्तुत गर्ने, ६० हजारभन्दा बढीको सहभागिता रहने र १३० भन्दा बढी मुलुकका सात हजारभन्दा बढी अन्तर्राष्ट्रिय कम्पनीले प्रतिनिधित्व गर्ने अनुमान आयोजकले गरेका छन् । ‘सिङ्गापुर फिन्टेक महोत्सव’लाई डिजिटल बैंकिङ प्रविधिको प्रवर्द्धन र विकासको दृष्टिकोणले विश्वकै सबैभन्दा ठूलो महोत्सवका रूपमा लिने गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया