Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग बन्द गर्ने प्रवृत्ति र चन्दा आतंक रोक्न महासंघको माग

उद्योग बन्द गर्ने प्रवृत्ति र चन्दा आतंक रोक्न महासंघको माग


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न बहानामा उद्योग बन्द गर्ने प्रवृत्ति र चन्दा आतंक रोक्न सरकारसँग आग्रह गरेको छ । महासंघको नवनिर्वाचित पदाधिकारीहरूले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी केही समयदेखि उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएको, जिल्लाका उद्यमी व्यवसायीहरूबाट चन्दा आतंक बढेको गुनासो आएको, काम गर्ने वातावरण नभएको र व्यावसायिक मनोबल समेत घट्दै गएकाले सरकारले समयमै यसतर्फ उचित कदम चाल्नुपर्ने सुझाव राखेको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष महासंघको नयाँ नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि भिजन पेपर तयारीमा लागेको समेत जानकारी गराएको थियो । महासंघका अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अबका दिनमा समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरिरहेको जानकारी गराएका थिए । उनले बजेट र मौद्रिक नीतिले उद्यमी व्यवसायीका केही माग सम्बोधन गरेको भए पनि धेरैजसो कार्यान्वयन हुन नसकेकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनसहित कोभिड पुनरूत्थान विशेष कार्यक्रमको आवश्यकतामाथि जोड समेत दिए ।

महासंघको नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक सुदृढीकरणका लागि महासंघको नवनिर्वाचित टिमले अगाडि सारेको कार्ययोजनाको स्वागत गर्दै सरकारले गर्नुपर्ने सहयोगका लागि आफू सधैँ तयार रहेको बताए । उनले भने, ‘तपाईंहरू उद्योग व्यवसायमा लाग्नुहोस्, के सहयोग गर्नुपर्छ म आफैँ पनि र उद्योग मन्त्रालयका तर्फबाट समेत तपाईंहरूलाई चाहेको सहयोग हुन्छ ।’

साथै प्रधानमन्त्री ओलीले व्यावसायिक एकता र सहकार्यमा पनि जोड दिए । उनले स्वदेशी उत्पादनको प्रवर्द्धनमा लाग्न समेत आग्रह गरेका थिए । भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया