Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक खर्ब १७ अर्ब ६७ करोडबराबरको थप धितोपत्र सूचीकृत

एक खर्ब १७ अर्ब ६७ करोडबराबरको थप धितोपत्र सूचीकृत


काठमाडौं ।
तीन महिनामा एक खर्ब १७ अर्ब ६७ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालू आर्थिक बर्षको पछिललो तीन महिनाको प्रतिवेदन अनुसार एक खर्ब बराबरको विकास ऋणपत्र, छ अर्ब ९७ करोड बराबरको साधारण सेयर, चार अर्ब ९६ करोडबराबरको बोनस सेयर, चार अर्ब बराबरको डिबेन्चर, एक अर्ब नौ करोड बराबरको हकप्रद सेयर र ६५ करोड बराबरको म्युचुअल फण्ड समेत गरी उक्त परिमाणमा थप धितोपत्र सूचीकृत भएको हो ।

राष्ट्र बैंकका अनुसार २०७६ असोज मसान्तमा ११ सय ३७ दशमलव आठ रहेको नेप्से सूचकांक २०७७ असोज मसान्तमा १५ सय ६२ दशमलव पाँच अंकमा पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकांक १३ सय ६२ दशमलव चार अंकमा रहेको थियो । चालू आवको तीन महिनामा धितोपत्र बजार पुँजीकरण भने २० खर्ब ८२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १८ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ कायम रहेको थियो । चालू आवको तीन महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय नौ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र छ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय १२ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७५ दशमलव चार प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा छ दशमलव छ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा तीन दशमलव पाँच प्रतिशत, होटेलको हिस्सा एक दशमलव एक प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव तीन प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १३ दशमलव एक प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ असोजसम्ममा सूचीकृत चार अर्ब ८९ करोड सेयरको चुक्ता मूल्य चार खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँ कायम रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो तीन महिनामा नेपाल धितोपत्र बोर्डले एक अर्ब २० करोडबराबरको डिबेन्चर, ९३ करोड ८६ लाखबराबरको साधारण सेयर र ५३ करोड ३७ लाख बराबरको हकप्रद सेयर गरी कुल दुुई अर्ब ६७ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

प्रभु लाइफको ६० करोड रुपैयाँको धितोपत्र आजबाट : प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीको यही मंसिर २९ गते अर्थात् आज सोमबारबाट ६० करोड रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६० लाख कित्ता साधारण सेयरको बिक्री खुल्ला भएको हो । बिक्री खुल्ला भएको कुल साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन करोड रुपैयाँँको तीन लाख कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात् तीन करोड रुपैयाँँको तीन लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी ५४ करोड रुपैयाँको ५४ लाख कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।

खरिदकर्ताहरुले न्यूनतम १० देखि अधिकतम पाँच हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही पुुस २ गते र ढिलोमा यही पुस १३ गते बन्द हुुनेछ । अधिकृत पुँजी दुुई अर्ब एवं जारी पुँजी दुुई अर्ब रुपैयाँ हरेको कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया