Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधुलिखेलमा अनलाइनबाट कर भुक्तानी

धुलिखेलमा अनलाइनबाट कर भुक्तानी


धुलिखेल ।
धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा सुरु गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा सुरु गरेको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिए । नगरापालिकाका सेवा लिन लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न अनलाइन कर भुक्तानी सेवा सुरु गरेको उनले बताए । यसले सेवाग्राहीको समय बचत हुने उनको भनाइ छ । यसका लागि नगरपालिकाले सबै वडामा आफ्नै फाइबर जडान गर्ने उनले जानकारी दिए ।

नगरपालिकाका १२ वडामध्ये आठमा फाइबर जडान भइसकेको र बाँकी चारमा पनि फाइबर जडानको काम भइरहेको जनाइएको छ । कर भुक्तानी सेवाका लागि तीन कम्पनी नेपाल क्लियरिङ हाउस, इ सेवा र खल्तीसँग सम्झौता गरेर सेवा सुरु गरेको नगरप्रमुख व्यञ्जुले बताए । सेवाग्राहीले ती सेवा प्रयोग गरी अनलाइन सेवा प्रयोग गर्न सक्नेछन् । सेवा प्रयोग गर्न नगरपालिकामा करदाता दर्ता हुनुपर्ने र करदाताको विवरण अद्यावधिक गर्नुपर्नेछ । सेवा प्रयोग गरेबापत साझेदार कम्पनीले केही सेवा शुल्क लाग्ने जनाएको छ । नगरपालिकाका अनुसार अनलाइन कर भुक्तानी सेवा धरानपछि धुलिखेलले सुरु गरेको हो ।

वाग्मती प्रदेशमा यसकिसिमको सेवा दिने पहिलो नगरपालिका भएको बताइएको छ । सेवा प्रारम्भ भएपनि पहिलोपटक भएका कारण यसलाई प्रयोगमा ल्याउने काममा नगरपालिकाले सहजीकरण गर्नेछ । यसका लागि सेवा प्रयोग गरेबापत करमा छुट दिने र सबै वडामा गएर सेवाग्राहीलाई सेवा प्रयोग गर्न तालीम दिने नगरपालिकाले जनाएको छ । नगरभित्रका वडामा कति उद्योग, पसल र कति अन्य कुरा छ भन्ने सबै जानकारी अनलाइनमा नै हुने व्यवस्था गर्ने नगरप्रमुख व्यञ्जुको भनाइ छ । धुलिखेलले यसअघि नगरपालिकाभित्र बजार क्षेत्रमा सीसीटीभी जडान गर्नुका साथै चोकचोकमा फ्रि वाइफाइ जोन बनाइसकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया