Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटिफाको पाँचौं बैठकमा आठ एजेन्डामा छलफल हुने

टिफाको पाँचौं बैठकमा आठ एजेन्डामा छलफल हुने


काठमाडौं ।
नेपाल र संयुक्त राज्य अमेरिकाबीचको व्यापार तथा लगानीसम्बन्धी सम्झौता (टिफा) परिषद्को पाँचौँ बैठक काठमाडौंमा बस्दै छ । मंगलबार काठमाडौंमा बस्ने पाँचौँ बैठकमा व्यापार तथा वाणिज्यसम्बन्धी आठवटा एजेन्डामा छलफल हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकी उपसचिव उर्मिला केसीका अनुसार मंगलबार बस्ने बैठकमा नेपाल र अमेरिकाबीच भन्सार मूल्यांकन, प्राविधिक सहयोगी (टीए), बौद्धिक सम्पत्ति (आईपी), बजार पहुँच (एमए), व्यापारमा प्राविधिक अवरोध (टीबीटी), श्रमिक, नेपालमा लगानी तथा विश्वमा नेपाली उद्योगको अवस्था र लगानी नीति गरेर आठवटा एजेन्डामा छलफल हुने बताइन् । ‘नेपालको हितमा हुनलागेको छलफलमा नेपालको व्यापार तथा वाणिज्य स्थितिबारे छलफल हुनुको साथै नेपाली उद्योगलाई विश्व बजारमा पु-याउने उद्देश्य समेत रहेको छ’, उपसचिव केसीले भनिन्, ‘यसका साथै नेपालको श्रम कानुनअनुसार नेपाली श्रमिकको विषयमा समेत बैठकमा छलफल हुनेछ ।’

यस्तै मन्त्रालयका अनुसार यसअघिको बैठकमा उठाएको विषय कार्यान्वयन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । यसअघिको बैठकमा नेपालले अमेरिकी सरकारबाट शून्य भन्सार सुविधा प्राप्त गरेको ७७ वटा वस्तुको निकासी प्रवर्द्धन, अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त प्रयोगशाला स्थापना, बौद्धिक सम्पत्ति संरक्षण तथा कर्मचारीको क्षमता विकासमा अमेरिकी सहयोग कार्यान्वयनको विषयमाथि छलफल गरिएको थियो ।

२०७२ वैशाखमा नेपालमा गएको भूकम्प गएपछि सन् २०१५ को व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनले नयाँ देश केन्द्रित ग्राह्यता कार्यक्रम स्थापित गरी हार्मोनाइज्ड ट्यारिफ शेडुलअन्तर्गतका ७७ वस्तुहरूद्वारा समेटिएका नेपाली वस्तुलाई भन्सारछुट सुविधा दिएको थियो जसमा जसमा हस्तकला, शल, भ्रमण सामग्रीलगायत वस्तु रहेका छन् । यसअघिका बैठकमा राष्ट्रिय बौद्धिक सम्पत्ति नीतिमार्फत नवीनतालाई प्रश्रय दिने नेपालको प्रयासलाई स्वागत गर्दै अमेरिकाले बौद्धिक सम्पत्ति अधिकारलाई अझै बढी संरक्षण गर्ने कानुन बनाउने दिशामा नेपालको प्रयासलाई सहयोग गर्ने बताउँदै आएको पाइन्छ ।

मन्त्रालयका अनुसार बैठकमा नेपालको तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले गर्नेछन् भने अमेरिकी सरकारका तर्फबाट संयुक्त राज्य व्यापार प्रतिनिधि (यूएसटीआर)का अधिकारीहरू बैठकमा सहभागी हुनेछन् । आलोपालो प्रणालीअनुरुप यसपालिको बैठक काठमाडौंमा बस्नलागेको हो । नेपाल सरकार र अमेरिकाले २०६८ वैशाख २ गतेबाट लागू हुने गरी टिफामा हस्ताक्षर गरेका हुन् । सो सम्झौताका उद्देश्यहरूमा व्यापार, लगानी तथा प्राविधिक सहयोग विस्तार र दुई देशबीचको आर्थिक सम्बन्ध सबलीकरणलगायत रहेका छन् । सन् २०१६ मा नेपाल र अमेरिकाबीच जम्मा १२ करोड ९० लाख अमेरिकी डलरबराबरको (दोहोरो) व्यापार भएको छ ।

दुई मुलुकको व्यापारको कुरा गर्दा नेपालको अमेरिकासँगको व्यापार भने घाटामा रहेको पाइन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा करिब ३३ अर्बको व्यापार भएकोमा नेपालले अमेरिकासँग व्यापारमा घाटा व्यहोरेको छ । नेपालबाट नौ अर्ब ४४ करोडको सामग्री अमेरिकाबाट भने २३ अर्ब ५४ करोडको सामग्री आयात गरेको विभागले जनाएको छ । यस्तै आव ०७५/०७६ मा नेपालबाट १० अर्ब ८४ करोडको निर्यात भएकोमा अमेरिकाबाट १३ अर्ब ४२ करोडको आयात भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया