Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजीवन बीमा कम्पनीहरुको लाभांश वितरणमा ढिलाइ

जीवन बीमा कम्पनीहरुको लाभांश वितरणमा ढिलाइ

१९ मध्ये नौवटाले अझै पेश गरेनन् आव २०७५/०७६ वित्तीय प्रतिवेदन


काठमाडौं ।
जीवन बीमा कम्पनीहरुको सेयर लगानी गर्ने लगानीकर्ताहरुले लाभांश प्राप्त गर्नको लागि अझै निकै लामो समय कुर्नुपर्ने भएको छ । कम्पनी ऐनअनुसार पुस मसान्तसम्ममा वित्तीय विवरण स्वीकृत गरी गत आर्थिक वर्षको वार्षिक साधारणसभा गरिसक्नुपर्ने प्रावधान छ । तर जीवन बीमा कम्पनीहरुले अझै अघिल्लो अर्थात् आर्थिक वर्ष २०७५/०७६ बैंक वित्तीय प्रतिवेदन स्वीकृतिको लागि बीमा समितिमा पेस नगरेको र गरेकाको हकमा पनि प्रतिवेदन स्वीकृत नभएकाले लगानीकर्ताहरुले लाभांश पाउनकै लागि थप समय कुर्नुपर्ने भएको हो ।

बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुुरमण पौडेलका अनुसार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म १० वटाले मात्र आज २०७५/०७६ को वित्तीय विवरण स्वीकृतिको लागि पेस गरेका छन् । तीमध्ये मेट लाइफ एलिको, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण मात्र स्वीकृत भएको छ । विवरण पेस गरेकाहरुमध्ये नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७५/०७६ वित्तीय विवरण स्वीकृतिकै चरणमा रहेका छन् ।

‘राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एसियन लाइफ इन्स्योरेन्स कम्पनीसहितका नौवटाले भने अहिलेसम्म पनि आव २०७५/०७६ वित्तीय विवरण स्वीकृतिको लागि समितिमा पेस गरेका छैनन्’, समितिका प्रवक्ता एवं कार्यकारी निर्देशक पौडेलले भने । बीमा समितिले आव २०७४/०७५ देखि नै नेपाल वित्तीय प्रतिवेदन (एनएफआरएस) प्रणालीमा वित्तीय प्रतिवेदन तयार पार्न निर्देशन दिएको हो र यस किसिमको वित्तीय वित्तीय प्रतिवेदन तयार गर्नको लागि बीमा कम्पनीहरुले भारतीय बीमा कम्पनीहरुको भर पर्नु भएकाले पनि वित्तीय विवरण पठाउन ढिलाई भएको हुुनसक्ने पौडेलले बताए ।

‘नयाँ ढाँचामा विवरण तयार पार्नको लागि यहाँ जनशक्ति नहुनुु र त्यही समयमा विश्व महामारीका कारण लामो समयसम्म बीमा कम्पनीहरुको नियमित कार्य अवरुद्ध हुँदा वित्तीय विवरण तयार पार्न र तयार पारेको विवरण पेश गर्न ढिलाइ भएको हो’, कार्यकारी निर्देशक पौडेलले भने । वित्तीय विवरण तयार पार्न ढिला हुँदा, यी कम्पनीहरुको लाभांश घोषणा, वार्षिक साधारणसभामा समेत असर गर्छ । यसको असर ती कम्पनीहरुको सेयर मूल्यमा पनि पर्ने र ढिला वार्षिक साधारणसभा गर्दा कर समेत बढी तिर्नुपर्ने हुन्छ । यो अवस्थामा ती कम्पनीहरु विद्यमान कानुनी व्यवस्थाअनुसार नै जरिवानामा पर्ने पौडेलले बताए ।

कार्यकारी निर्देशक पौडेलका अनुसार वित्तीय प्रतिवेदनमा ढिलाइ हुुनुको प्रमुख कारण नै नयाँ ढाँचा र कोभिड १९ हो । यद्यपि यसको असर क्रमशः कम हुुँदै गएकाले अबको केही समयभित्र नै वित्तीय प्रतिवेदन पेस गर्न बाँकी रहेका जीवन बीमा कम्पनीहरुले पनि विवरण पेश गरिसक्नेमा समिति आशावादी रहेको कार्यकारी निर्देशक पौडेलले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया