Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटिफा बैठक : पुरानै एजेन्डामा सीमित

टिफा बैठक : पुरानै एजेन्डामा सीमित


काठमाडौं ।
नेपाल र संयुक्त राज्य अमेरिकाबीचको व्यापार तथा लगानीसम्बन्धी सम्झौता (टिफा) परिषद्को पाँचौँ बैठक मंगलबार सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भर्चुअल माध्यमबाट भएको बैठकमा भन्सार र व्यापार सुविधा, बौद्धिक सम्पत्ति, डिजिटल ट्रेड र इ–कमर्स, श्रम, वित्तीय सेवा, लगानी प्रवद्र्धन, कृषि उत्पादनको व्यापार र अमेरिकाले नेपाललाई उपलब्ध गराएको व्यापार सहुलियत लगायतका द्विपक्षीय व्यापार र लगानीसम्बन्धी विविध विषयहरुमा छलफल हुनुको साथै दुवै देशहरु एकअर्काका वस्तुहरुको बजार पहुँचका आपसी चासोका विषयहरुमा सहकार्यलाई निरन्तरता दिन सहमत भएका थिए ।

बैठकको सहअध्यक्षता नेपालको तर्फबाट मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र दक्षिण तथा मध्यएसियाका लागि अमेरिकाका सहायक प्रतिनिधि क्रिस्टोफर विल्सनले गरेका थिए भने बैठकमा सचिव अर्याल र प्रतिनिधि विल्सनका अतिरिक्त दुवैतर्फ व्यापार, वित्त , श्रम र अन्य निकायका अधिकारीहरु सहभागी थिए । अमेरिकाको व्यापार सुविधा र व्यापार प्रवर्तन ऐन २०१५ बमोजिम सन् २०२५ डिसेम्बर ३१ सम्म नेपालले ७७ वटा वस्तुहरुमा पएको अमेरिकी व्यापार सहुलियत लाभलाई पूर्णरुपमा उपयोग गर्न नेपाली उत्पादकहरुको क्षमता वृद्धिका लागि प्राविधिक सहयोग उपलब्ध गराउन अमेरिकी सरकार सहमत भएको छ ।

नेपालले आफ्नो लगानीका वातावरण सुधार गर्न भएका नीतिगत, प्रक्रियागत र संस्थागत सुधारबारे जानकारी गराउँदै अमेरिकालाई थप लगानी विस्तार गर्न आग्रह गरेकोमा अमेरिकी अधिकारीहरले सम्भावित लगानीकर्ताहरुसँग सम्बन्ध बढाउन सकिने उपायहरुबारे सुझाव दिएको बताइएको छ  । यस्तै दुवै देशहरुले उक्त विषयहरुमा रचनात्मक छलफललाई निरन्तरता दिन सहमत भएका छन् ।

बैठकमा अमेरिकी अधिकारीहरुले भने अमेरिकाबाट नेपालमा मासु निर्यात गर्दा समस्या भएको बताएका थिए । उनीहरुले अमेरिकाले आफ्नो देशबाट बङ्गुर र कुखुराको मासु नेपालमा निर्यात गर्दा समस्या भएको बताएकोमा नेपाली पक्षले भने ती वस्तुको आयातमा कुनै प्रतिबन्ध नभएको तर खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागबाट मान्यता प्राप्त अमेरिकाको राष्ट्रिय खाद्य सुरक्षा र निरीक्षण सेवाले जारी गरेको खाद्य प्रमाणपत्र संलग्न हुनुपर्ने जानकारी गराइएको थियो ।

श्रमिक अधिकार संरक्षण गर्ने गरी नेपालको श्रम कानुनको कार्यान्वयनमा भएको प्रगतिको स्वागत गर्दै अमेरिकी अधिकारीहरुले बौद्धिक सम्पत्ति संरक्षण र कार्यान्वयनमा सुधार गरी नवप्रवर्तन र लगानीलाई प्रोत्साहन गर्ने प्रयासमा नेपालसँगको आफ्नो संलग्नता बढाउने प्रतिबद्धता व्यक्त गर्दै नेपालले गर्न लागेको बौद्धिक सम्पत्तिसम्बन्धी कानुनी व्यवस्थाको स्वागत गरेको छ । त्यसैगरी आर्थिक वृद्धिलाई बढावा दिन डिजिटल व्यापारको भूमिकालाई महत्व दिँदै नेपाल अमेरिका डिजिटल अर्थतन्त्रमा प्रवद्र्धनमा सहकार्य गर्न सहमत भएका छन् । दुवै सरकारहरुले बैठकमा भएका प्रतिबद्धताहरु कार्यान्वयनका लागि आउँदा दिनहरुमा द्विपक्षीय बैठकहरु बस्ने र आउँदो टिफा काउन्सिलको बैठक नेपालमा आयोजना गर्ने सहमति गरेका छन् ।

टिफाको तेस्रो बैठकमा पनि भन्सार र व्यापार सुविधा, बौद्धिक सम्पत्ति, डिजिटल ट्रेड र इ–कमर्स, श्रम, वित्तीय सेवा, लगानी प्रवर्द्धन, कृषि उत्पादनको व्यापार र अमेरिकाले नेपालालाई उपलब्ध गराएको व्यापार सहुलियत लगायतका द्विपक्षीय व्यापार र लगानीसम्बन्धी विविध विषयहरुमा छलफल हुनुको साथै दुवै देशहरु एक अर्काका वस्तुहरुको बजार पहुँचका आपसी चासाको विषयहरुमा सहकार्यलाई निरन्तरता दिने बताइएको थियो ।

तेस्रो बैठकमा पनि प्राविधिक व्यापारसम्बन्धी छलफल भन्सार तथा व्यापार सहजीकरण, सरसफाइ तथा फाइटोसेनेटरी उपाय, खाद्य सुरक्षा, लेबलिङसम्बन्धी योग्यता, मापदण्ड तथा अनुकूलता मूल्यांकन, र श्रममाथि केन्द्रित थियो भने ती क्षेत्रहरूमा आफ्नो क्षमता अभिवृद्धिका लागि नेपालले गरेको आग्रहलाई अमेरिकाले मनन गरेको थियो । यस्तै पाँचौँ बैठकले २०७२ वैशाखमा नेपालमा गएको भूकम्पपछि सन् २०१५ को व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनले नयाँ देश केन्द्रित ग्राह्यता कार्यक्रम स्थापित गरी हार्मोनाइज्ड ट्यारिफ शेडुलअन्तर्गतका ७७ वस्तुहरूद्वारा समेटिएका नेपाली वस्तुलाई भन्सारछुट सुविधा दिएको थियो त्यसलाई निरन्तरता दिएको छ ।

यसैबीच मन्त्रालयले भने छलफल हुनुलाई नै उपलब्धिमूलक रुपमा हेरेका जानकारी दिएको छ भने मंगलबारको बैठकले दुवै सरकारहरुले बैठकमा भएका प्रतिबद्धताहरु कार्यान्वयनका लागि आउँदा दिनहरुमा द्विपक्षीय बैठकहरु बस्ने र आउँदो टिफा काउन्सिलको छैठौं बैठक नेपालमा आयोजना गर्ने सहमति समेत गरेको बताइएको छ । नेपाल सरकार र अमेरिकाले २०६८ वैशाख २ गतेबाट लागू हुने गरी टिफामा हस्ताक्षर गरेका हुन् । सो सम्झौताका उद्देश्यहरूमा व्यापार, लगानी तथा प्राविधिक सहयोग विस्तार र दुई देशबीचको आर्थिक सम्बन्ध सबलीकरणलगायत रहेका छन् । सन् २०१६ मा नेपाल र अमेरिकाबीच जम्मा १२ करोड ९० लाख अमेरिकी डलरबराबरको (दोहोरो) व्यापार भएको छ ।

दुई मुलुकको व्यापारको कुरा गर्दा नेपालको अमेरिकासँगको व्यापार भने घाटामा रहेको पाइन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा करिब ३३ अर्बको व्यापार भएकोमा नेपालले अमेरिकासँग व्यापारमा घाटा व्यहोरेको छ । नेपालबाट नौ अर्ब ४४ करोडको सामग्री अमेरिकाबाट भने २३ अर्ब ५४ करोडको सामग्री आयात गरेको विभागले जनाएको छ । यस्तै आव ०७५/०७६ मा नेपालबाट १० अर्ब ८४ करोडको निर्यात भएमोमा अमेरिकाबाट १३ अर्ब ४२ करोडको आयात भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया