Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग क्षेत्रको लगानी १९ प्रतिशतले घट्यो

उद्योग क्षेत्रको लगानी १९ प्रतिशतले घट्यो


काठमाडौं ।
मुलुकको उद्योग क्षेत्रमा गरिने लगानी रकममा १९ प्रतिशतले कमी आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष (०७७/०७८) को पहिलो पाँच महिनामा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले नेपालको उद्योग क्षेत्रमा गरिने लगानीमा गत आवको पहिलो पाँच महिनामा आएको उक्त लगानी प्रतिबद्धता गत आव (०७६/०७७) को सोही अवधिको तुलनामा १९ प्रतिशत अर्थात् १६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँले कमी हो ।

चालू आवको पाँच महिना अवधिमा लगानीकर्ताहरूले नेपालको उद्योग क्षेत्रमा ६९ अर्ब ३५ करोड २९ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्ति गरेका छन् । उनीहरूले उक्त लगानी प्रतिबद्धता ९० वटा उद्योग स्थापना तथा पाँच हजार पाँच सय १६ जनालाई रोजगारी दिने उद्देश्यका साथ गरेका हुन् । यस्तै गत आवको सोही समयमा लगानीकर्ताहरूले नेपालको उद्योग क्षेत्रमा ८५ अर्ब ८३ करोड ८७ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले उक्त प्रतिबद्धता एक सय ६८ वटा उद्योग स्थापना तथा ११ हजार एक सय १३ जनालाई रोजगारी दिनको लागि गरेका थिए ।

स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले कृषि तथा वन पैदावार, ऊर्जा, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादन, सेवा र पर्यटनमूलक उद्योग स्थापनाका लागि प्रतिबद्धता जनाउँदै आएका छन् भने विदेशी लगानीकर्ताहरूले प्रत्यक्ष विदेशी लगानी (एफडीआई)मार्फत नेपालमा लगानी भित्र्याउने गरेका छन् । चालू आवको पाँच महिनामा उनीहरूले सबैभन्दा बढी ऊर्जामा ५३ अर्ब ६३ करोड तथा त्यसपछि क्रमशः उत्पादनमा पाँच अर्ब ५९ करोड ८४ लाख, पर्यटनमा तीन अर्ब ३० करोड ८७ लाख, सेवामा तीन अर्ब ३० करोड ७८ लाख, कम कृषि तथा वन पैदावारजन्य उद्योगमा दुई अर्ब ९० करोड ७९ लाख र सबैभन्दा कम सूचना तथा सञ्चार प्रविधिमा ६० करोड लगानी प्रतिबद्धता जनाएका छन् ।

उनीहरूले उक्त लगानी प्रतिबद्धता क्रमशः १३ वटा ऊर्जाजन्य, २३ वटा उत्पादनमूलक, १७ वटा पर्यटनमूलक, २२ वटा सेवामूलक, ११ वटा कृषि तथा वन पैदावरजन्य र चारवटा सूचना तथा प्रसारण प्रविधि गरी कुल ९० वटा उद्योग स्थापना गर्नका लागि उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग स्थापनासँगै उनीहरूले ती छ प्रकारका ९० वटा उद्योगमा पाँच हजार पाँच सय १६ जनालाई रोजगारी दिने समेत बताएका छन् ।

त्यसैगरी उद्योगीहरूले गत आवको सोही अवधिमा सबैभन्दा बढी ऊर्जामा ४९ अर्ब ९५ करोड ९९ लाख, त्यसपछि क्रमशः उत्पादनमा १२ अर्ब २ करोड ५६ लाख, पर्यटनमा १६ अर्ब ३ करोड ६२ लाख, सेवामा चार अर्ब ६२ करोड ५५ लाख, सूचना तथा सञ्चार प्रविधिमा दुई अर्ब ४५ करोड र सबैभन्दा कम कृषि तथा वन पैदावरमा ७४ करोड १४ लाख लगानी प्रतिबद्धता जनाएका थिए ।

उनीहरूले उक्त लगानी प्रतिबद्धता २२ वटा ऊर्जाजन्य, ३२ वटा उत्पादनमूलक, ६९ वटा पर्यटनमूलक, २७ वटा सेवामूलक, ११ वटा सूचना तथा सञ्चार प्रविधि, सातवटा कृषि तथा वन पैदावरजन्य गरी कुल एक सय ६८ वटा उद्योग स्थापना गर्नका लागि उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग स्थापनासँगै उनीहरूले ती छ प्रकारका एक सय ६८ वटा उद्योगमा ११ हजार १ सय १३ जनालाई रोजगारी दिने समेत बताएका थिए ।

विभागका अधिकारीका अनुसार कोभिड १९ महामारीका कारण उद्योग क्षेत्रमा पर्याप्त लगानी आउन नसकेको बताए । बन्दाबन्दीको तुलनामा भने दुवै लगानीकर्ता बढेको बताउँदै उनीहरूले राष्ट्रिय तथा विशेष गरी अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै विदेशी लगानीकर्ता बढेको बताएका छन् । नेपालको उद्योग क्षेत्रमा एफडीआईस्वरुप भारत, चीन, जापान, दक्षिण कोरिया, मलेसिया, अमेरिका, जर्मनी, दक्षिण अफ्रिकालगायत ९० भन्दा बढी मुलुकबाट लगानी आउने गरेको पाइन्छ ।

लगानीकर्ताहरूले काठमाडौं, भक्तपुर, ललितपुर, पर्सा, रुपन्देही, सुनसरी, सिन्धुपाल्चोक, सोलुखोम्बु, मोरङलगायत २० भन्दा बढी जिल्लामा उद्योग स्थापना गर्ने भन्दै लगानी प्रतिवद्धता जनाएका हुन् । उनीहरूले चालू आवमा काठमाडौंमा मात्रै पाँच अर्ब ३७ करोड लगानीमा २९ वटा, रुपन्देहीमा ३३ करोड लगानीमा तीनवटा, सोलेखुम्बमा आठ अर्ब ८९ करोडमा तीनवटा उद्योग तथा अन्य जिल्लामा गरी ९० वटा उद्योग स्थापना गर्ने उद्देश्य राखेका छन् । मुलुकको ७७ वटै जिल्लामा उद्योग स्थापना गर्ने भने पनि कर्णाली प्रदेशमा भने ज्यादै न्यून लगानीकर्ताहरू मात्र जाने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया