Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१७ निर्जीवन बीमा कम्पनीको वित्तीय प्रतिवेदन स्वीकृत

१७ निर्जीवन बीमा कम्पनीको वित्तीय प्रतिवेदन स्वीकृत

युनाइटेड र शिखरको स्वीकृत हुन बाँकी, तीनवटाले अझै पेश गरेनन् अघिल्लो आवको विवरण


काठमाडौं ।
सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरूमध्ये १६ वटा कम्पनीहरूको मात्र अघिल्लो अर्थात् आव २०७५–०७६ वित्तीय विवरण स्वीकृत भएको छ । बीमा समितिका अनुसार वित्तीय विवरण स्वीकृत हुनेहरूमा नेपाल इन्स्योरेन्स कम्पनी, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स लगायतका कम्पनीहरू रहेका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने हालसमम्म पनि अघिल्लो आवको वित्तीय विवरण स्वीकृतिको लागि बीमा समितिमा पठाएका छैनन् । युनाइटेड इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीले भने अघिल्लो आवको वित्तीय विवरण स्वीकृतिको लागि समितिको पठाइसकेको प्रवक्ता पौडेलको भनाइ छ ।

कम्पनी ऐनअनुसार पुस मसान्तसम्ममा वित्तीय विवरण स्वीकृत गरी गत आर्थिक वर्षको वार्षिक साधारणसभा गरिसक्नुपर्ने प्रावधान रहेकोमा वित्तीय विवरण स्वीकृत भएका धेरैवटा कम्पनीहरूले अघिल्लो आवको वार्षिक साधारणसभा समेत गरिसकेको प्रवक्ता पौडेलले बताए । पछिल्लो समय वित्तीय विवरण स्वीकृत भएका कम्पनीहरूले पनि छिट्टै अघिल्लो आवको वार्षिक साधारणसभा सम्पन्न गर्नेछन् ।

‘बीमा समितिले आव २०७४/०७५ देखि नै नेपाल वित्तीय प्रतिवेदन (एनएफआरएस) प्रणालीमा वित्तीय प्रतिवेदन तयार पार्न निर्देशन दिएको हो र यस किसिमको वित्तीय वित्तीय प्रतिवेदन तयार गर्नको लागि बीमा कम्पनीहरूले भारतीय बीमा कम्पनीहरूको भर पर्नुपर्ने भएकाले पनि वित्तीय विवरण पठाउन ढिलाइ भएको हुनसक्छ’, पौडेलले भने ।

नयाँ ढाँचामा विवरण तयार पार्नको लागि यहाँ जनशक्ति नहुनु र त्यही समयमा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण लामो समयसम्म बीमा कम्पनीहरूको नियमित कार्य अवरुद्ध हुँदा वित्तीय विवरण तयार पार्न र तयार पारेको विवरण पेश गर्न ढिलाइ भएको उनको भनाइ छ । ’वित्तीय विवरण तयार पार्न ढिला हुँदा यी कम्पनीहरूको लाभांश घोषणा, वार्षिक साधारणसभामा समेत असर गर्छ’, उनले भने, ‘यसको असर ती कम्पनीहरूको सेयर मूल्यमा पनि पर्ने र ढिला वार्षिक साधारणसभा गर्दा कर समेत बढी तिर्नुपर्ने हुन्छ, यो अवस्थामा ती कम्पनीहरू विद्यमान कानुनी व्यवस्थाअनुसार नै जरिवानामा पर्छन् ।’

कार्यकारी निर्देशक पौडेलका अनुसार वित्तीय प्रतिवेदनमा ढिलाइ हुनुको प्रमुख कारण नै नयाँ ढाँचा र कोभिड १९ हो । यद्यपि यसको असर क्रमशः कम हुँदै गएकाले अबको केही समयभित्र नै वित्तीय प्रतिवेदन पेस गर्न बाँकी रहेका कम्पनीहरूले पनि विवरण पेश गरिसक्ने उनले बताएका छन् । गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिको लागि पठाउनको लागि भने अझै समय बाँकी रहेको उनले बताए । यसबीचमा केही निर्जीवन बीमा कम्पनीहरूले भने गत आर्थिक वर्षको खुद मुनाफामध्ये लाभांश समेत घोषणा गरिसकेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया