Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘व्यावसायिक क्षेत्रका वास्तविक समस्या सम्बोधन हुन्छ’

‘व्यावसायिक क्षेत्रका वास्तविक समस्या सम्बोधन हुन्छ’


काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, व्यवसाय क्षेत्रका वास्तविक मुद्दाहरुको सम्बोेधन हुने बताएका छन् । नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष सुनिलकुमार वंशल नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटका अवसरमा शुक्रबार उनले जीवन र जीविका दुवैको रक्षा गर्नु सरकारको दायित्व रहेकोले आर्थिक क्षेत्रका वास्तविक समस्याहरुको समाधान गरिने बताए ।

उद्योगी, व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेका प्रस्ट पार्दै अर्थमन्त्री पौडेलले व्यवसायी र सरकार मिलेर अघि बढनुपर्ने बताए । साथै अर्थमन्त्री पौडेलले कानुनसम्मत व्यवसाय गर्न पनि व्यवसायीहरुलाई आग्रह गरे । उनले सरकार र निजी क्षेत्र मिलेर समृद्धिको लक्ष्यमा पुग्नुपर्नेमा जोड दिए । भेटमा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले सरकारलाई स्रोतको अभाव भएकाले राजस्व बुझाएर सहयोग गर्न व्यवसायीलाई आग्रह गरे ।

मन्त्रालयअन्तर्गतका कुनै निकाय र अधिकारीले नाजायज दुःख दिएको भए सोको सूचना दिन पनि उनले आग्रह गरे । पारदर्शी ढंगले काम गर्नेमा मिलेर अघि जान मन्त्रालय तयार रहेको उनको भनाइ थियो । भेटमा संघका अध्यक्ष वंशलले कोरोना प्रभावित व्यवसायीलक्षित सहुलियत पर्याप्त नभएको र कतिपयले लिनै नसकेको जानकारी गराए । उनले यस वर्ष अधिकांश व्यवसायीको ब्यालेन्स सिट नेगेटिभ आउने सम्भावना रहेकोले त्यसको समस्या बेलैमा सम्बोधन गर्न अर्थ मन्त्रालयले कदम चाल्नुपर्नेमा जोड दिए । कालोबजारी ऐन व्यवहारिक नभएकोमा पनि उनले ध्यानाकर्षण गराए । संघका उपाध्यक्ष विनोदकुमार सेठियाले अहिले मुलुकको आर्थिक गतिविधि साबिकको तुलनामा आधा मात्रैमा सीमित रहेको भन्दै आर्थिक गतिविधि बढाउन पहल गर्नुपर्नेमा जोड दिए ।

संघका महासचिव मदन मित्तलले नयाँ पुस्ताले पारदर्शी ढंगले व्यापार, व्यवसाय गर्ने वातावरण खोजेको भन्दै त्यस्तो वातावरण निर्माणतर्फ मन्त्रालय लाग्नुपर्ने बताए । भ्याटमा बहुदरको अवधारणा लागू गर्नुपर्नेमा जोड दिँदै उनले भन्सार मूल्यांकनका समस्या पनि समाधान गर्न आग्रह गरे । कार्यसमिति सदस्य आकाश गोल्छाले सवारी साधनमा बैंकहरुले प्रवाह गर्ने कर्जा ५० प्रतिशतबाट बढाएर ७०–८० प्रतिशत पुर्याउन सके आर्थिक गतिविधि र राजस्व दुवै बढ्ने बताए । प्रतिनिधिमण्डलमा संघका अध्यक्ष सुनिलकुमार वंशल, उपाध्यक्ष विनोद सेठिया, महासचिव मदन मित्तल, सचिव अनिलकुमार अग्रवाल र कार्यसमिति सदस्यहरु आकाश गोल्छा, सुशील गुप्ता र प्रभात सर्राफ सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया