Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्वाचनबाट बहुमत ल्याउन ओलीको चुनौती

निर्वाचनबाट बहुमत ल्याउन ओलीको चुनौती


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले को नेता र दल लोकप्रिय भन्ने निर्वाचनबाट तय हुने दाबी गरेका छन् । गत निर्वाचनमा नेकपाले ल्याएको बहुमतमा केपी ओलीको योगदान छैन भनेर पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले भनिरहेको बेला प्रधानमन्त्री ओलीले कसको लोकप्रियताको कारण बहुमत आएको रहेछ, त्यसको पुष्टि गर्न चुनौती दिएका हुन् ।

‘आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिनेछ’, देशवासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसबीचका सबै तीता कुरा बिर्सेर एकताबद्ध भई निर्वाचनमा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

प्रधानमन्त्री हुन हतार गरेका सत्तारुढ दलभित्रका नेतालाई लोकप्रियताको परीक्षण र प्रतिपक्षी दल सबैलाई आआफ्ना कार्यसूची जनतामा लाने अवसर मिल्ने प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘जनादेशप्राप्त सरकारले आफ्नो काम गर्न पाउँदैन भने यसकोे न्यायको फैसला गर्ने थलो निर्वाचन नै हो र राज्य सञ्चालनको अन्तिम निर्णय जनताले गर्ने हो । जस्केलाबाट सरकारमा छिर्ने अलोकतान्त्रिक तरिका ठीक होइन । राजनीतिक स्थिरताका लागि निर्णायक तत्व आमनिर्वाचन हो । त्यसकारण म प्रतिनिधिसभा विघटन गरी ताजा जनादेश गराउने स्थितिमा पुगेको हुँ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रियसभा, प्रदेश सरकार र स्थानीय तह कायम रहेको तथा राज्यका सबै अङ्गले आआफ्नो कर्तव्य निर्वाह गरिरहेकाले अहिले मुलुक जनप्रतिनिधिविहीन अवस्थामा नरहेको जनाउँदै लोकतन्त्रको रक्षाका लागि एकताबद्ध भई निर्वाचनमा जुट्न युवा पुस्तालाई पनि आह्वान गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताप्रति सङ्के्त गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘सरकारविरुद्ध यसरी घेराबन्दी र दाउपेच गर्नुपर्ने अवस्था किन आयो ? सरकारले भारतसँग सीमा समस्या समाधानका लागि वार्ताको तयारी गरेको र चीनसँग भएका व्यापार र यातायातसम्बन्धी सम्झौता कार्यान्वयनको काम आरम्भ गरेकामा सहयोग गर्नुपर्ने होइन र ?’

प्रधानमन्त्रीले विषम स्थितिका बीच नेपालले विकासका काममा प्रगति हासिल गरेको जनाउँदै शान्तिसुरक्षा, सुशासन र अन्य क्षेत्रमा प्राप्त सकारात्मक काममा सहयोग हुनाको साटो सधैंभरि सत्ता र पदीय भागबण्डा हुनु र सरकारविरुद्ध सत्तापक्षका नेता प्रतिपक्षीभन्दा बढी आक्रामक हुनुले ताजा जनादेशमा जानुपरेको स्पष्ट पारे । नेकपाका अध्यक्ष ओलीले सरकारविरुद्ध भएका चलखेलका काम तथा संसद्लाई बन्दी बनाउने प्रयास कुनै पनि अर्थमा लोकतान्त्रिक हुन नसक्ने बताए । यही पुस ५ गते प्रतिनिधिसभा विघटन भई आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाका लागि नयाँ निर्वाचन मिति तोकिएको छ ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका केही नेताहरूको सत्तास्वार्थका कारण उत्पन्न भएको समेत दाबी गरेका छन् । नेकपाका अध्यक्ष ओलीले विपक्षी नेतालाई पनि उछिनेर आफ्नो पार्टीभित्रका केही नेताहरू पद र प्रतिष्ठामा मात्र केन्द्रित रहेको पनि जिकिर गरे ।

प्रमुख दलहरूको आज केन्द्रीय कमिटी बैठक : प्रतिनिधिसभा विघटन भएपछि आज मंगलबार सबै राजनीतिक दलले आआफ्नो केन्द्रीय कमिटी बैठक बोलाएका छन् । नेपाली कांग्रेसले सोमबार बोलाएको तीन दलको बैठकमा प्रतिनिधिसभा विघटनको विरोध गर्दै आआफ्नो दलको केन्द्रीय समितिमा छलफल गर्ने निर्णय भएको थियो ।

सोमबारको बैठकमा कांग्रेस, मधेशवादी दल र नेकपाको प्रचण्ड–माधव नेपाल समूहका नेताहरू सहभागी थिए । दलहरूको छलफलपछि प्रतिनिधिसभा विघटनविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा संयुक्त निर्णय लिने दलहरूले बताएका छन् । विरोधमा रहेका दलहरूले मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विघटनको बारेमा छलफल गर्न नेकपाको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया